‘माछा माछा’को गीतमा म्याडम सृष्टिको आइटम, साता अगाडी सर्यो फिल्म



रंगखबर, काठमाडौँ – मंसीर २७ मा रिलिज हुने भनिएको फिल्म ‘माछा माछा’ले नयाँ रिलिज डेटसहितको गीत सार्वजनिक गरेको छ । ‘म्याडम म्याडम’ बोलको गीतमा मंसीर २० रिलिज डेट चढाइएको छ ।

अब फिल्म पुर्वनिर्धारित मिति भन्दा एक साता अगाडी नै रिलिज हुनेछ । अनुपम शर्माको संगीत र स्वरमा तयार गीतमा अभिनेत्री सृष्टि श्रेष्ठले आइटम पस्केकी छन् । उनलाई अभिनेता सौगात मल्लले साथ दिएका छन् ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सुनिल गुरुङको निर्देशन छ । उनि फिल्मको लेखक पनि हुन् । प्रमुख तीन पात्रमा सौगातसँगै विजय बराल र अनोज पाण्डे छन् ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले लगानी गरेको फिल्ममा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।

मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको फिल्ममा ओमचन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।

प्रतिक्रिया दिनुहोस्