‘क-वर्ग’ हिरोइनको दौडमा कियारा



अभिनेत्री कियारा आडवाणीले सन् २०१४ मा फिल्म ‘फग्ली’बाट बलिउड डेब्यु गरेकी थिइन् । यो पाँच वर्षको बीचमा कियाराले आफ्नो पहिचान बनाइसकेकी छन् । अब उनि बलिउडको टप हिरोइनको सुचीको दौडमा छिन् ।

करिअरको कुरा गर्दा कियाराको लागि २०१९ विशेष रह्यो। यो वर्षको रिलिज भएको ‘कबिर सिंह’ले बक्सअफिसमा २७८ करोडको व्यापार गर्दा कियारालाई फाइदा पुग्यो । अब उनको नजर २७ डिसेम्बरमा रिलिज हुने फिल्म ‘गुड न्युज’मा टिकेको छ ।

ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया, मल्टीस्टारको कारणले ‘गुड न्युज’ले बक्सअफिसमा राम्रो अंक देखाउने अनुमान छ । यदि यो फिल्म हिट भयो भने कियाराको लागि यो साल उत्कृष्ट सावित हुनेछ ।

‘गुड न्युज’मा अक्षय कुमार, करीना कपूर जस्ता कलाकारसँग कियाराले स्क्रिन शेयर गरेकी छन् । अक्षयको करिअरले स्वर्णिम दौड लगाइरहेका बेला ‘गुड न्युज’को बक्सअफिस सकारात्मक देखिने आशा छ ।

बलिउडमा रेकर्ड तोड व्यापार गर्ने फिल्मको कलाकारलाई ‘क वर्ग’ दर्जा दिइने गरिन्छ । वर्षेनी यो सुचीमा समावेश हुन् कलाकारले तछाडमछाड गर्छन । अब कियारा पनि यहि रेसमा छन् ।

२०२० बाट ठुलो आशा

सम्भवत: कियाराको लागि आगामी वर्ष अझ विशेष हुनेछ । २०२० मा उनका चार फिल्म रिलिज हुँदैछन । जसमध्ये अक्षय कुमारसँगको ‘लक्ष्मीबम्ब’, कार्तिक आर्यनसँगको ‘भुलभुलैया २’ र सिद्दार्थ मलहोत्रासँगको ‘शेरशाह’ छन् ।

यस्तै केहि फिल्ममा अभिनय गरिसकेका आदित्य सिलसँग ‘इन्दुकी जवानी’मा कियाराले शिर्ष भूमिका निर्वाह गर्नेछिन् । यो फिल्म कियाराको स्टारडम परिक्षणको पहिलो किस्सा हुनेछ । किनकी, आदित्य बलिउडमा संघर्ष गरिरहेका अभिनेता हुन् ।

प्रतिक्रिया दिनुहोस्