मिलन सुर्खेतीको नयाँ गीत ‘पहिलो भेटमै’



रंगखबर, काठमाडौँ – वि.सं. २०६२ सालमा गायक डेनी डेनजोंग्पाको चर्चित गीत ‘मन छाडे मैच्याङलाई’ गीतको रिमेक भर्सनबाट चर्चा कमाएका गायक मिलन सुर्खेतीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

आफ्नै संगीतमा तयार गीत ‘पहिलो भेटमै’ मिलनले सार्वजनिक गरेका हुन् । गीतमा योगेन ढोलीको शब्द रचना छ ।

मुस्ताङमा छायांकन गरिएको गीतको भिडियोलाई नविन पुरीले निर्देशन गरेका छन् । भने, संजय लामाले खिचेका छन् । भिडियोमा जितेश प्रधान र टिकटक स्टार एलिशा पुन मगरले अभिनय गरेका छन् ।

बनिश शाहले सम्पादन गरेको गीतमा शिशिर खातीले कोरियोग्राफी भरेका छन् । भिडियोका निर्माता राजेश मास्के हुन् ।

२०५९ सालमा टेलीशृंखला ‘सायद त्यो दिन’मा पार्श्वगायन हुँदै संगीतको दुनियामा प्रवेश गरेका मिलनले २०६० सालमा पहिलो एल्बम ‘मेरो देश’ सार्वजनिक गरेका थिए । २०६२ मा ‘मन छाडे मैच्याङलाई’ गीत सार्वजनिक गरेपछि उनको चर्चा चुलियो । यो गीत उनले एल्बम ‘टार्गेट’मा समावेश गरेका थिए ।

२५ वटा गीतमा आवाज दिइसकेका मिलनले २०६५ मा आफ्नै अभिनयसहितको ‘हेर्दा राम्रो’ गीत बजारमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्