बक्सअफिसमा सोनाक्षी र कियराको टक्कर, को बन्लिन नम्बर १ ?



रंगखबर, काठमाडौँ – बलिउडले बक्सअफिस कमाइको आधारमा वर्षका नम्बर १ अभिनेता र अभिनेत्रीको सुची निकाल्छ । २०१९ को अन्त्य हुँदै गर्दा यो वर्षको नम्बर १ को बन्ला भन्ने विषयमा चर्चा सुरु भैसकेको छ ।

आज हामी नम्बर १ अभिनेत्रीको रेसको कुरा गर्नेछौँ । यो वर्ष अभिनेत्री सोनाक्षी सिन्हा र कियरा आडवाणी बीच कडा टक्कर हुने देखिएको छ । यी दुवै अभिनेत्रीका एक-एक फिल्म रिलिजको तयारीमा छन् । सोनाक्षीको ‘दबंग ३’ र कियराको ‘गुड न्युज’को बक्सअफिस व्यापारले दुई अभिनेत्रीको शिर्ष स्थान निधो गर्नेछ ।

सोनाक्षी सिन्हा

सोनाक्षीको यो वर्ष चार फिल्म रिलिज भैसकेका छन् । ‘कलंक’ (८१ करोड), ‘अर्जुन पटियाला’ (७ करोड), ‘खानदानी सफाखाना’ (६ करोड) र ‘मिसन मंगल’ (२०० करोड)को कलेक्सनसँगै सोनाक्षीको फिल्मले २ सय ९४ करोड कुल कमाइ गरेका छन् ।

अब बहुप्रतिक्षित ‘दबंग ३’ले सोनाक्षीको कुल कमाइमा उछाल ल्याउने देखिन्छ । सलमानका पछिल्ला कुनै पनि फिल्मले सय करोड भन्दा कमको व्यापार गरेका छैनन् । त्यसैले ‘दबंग ३’को व्यापार कम्तिमा सय करोड हुँदा सोनक्षीको कुल कमाइ ३ सय ९४ करोड पुग्नेछ ।

यो वर्ष ३ सय ९४ करोड कुनै पनि अभिनेत्रीको लागि सर्वाधिक हुनेछ । अहिलेसम्म नम्बर १ मा यमी गौतम छिन् । उनका ‘उरी: द सर्जिकल स्ट्राइक’ले २ सय ४४ करोड र ‘बाला’ले १ सय १७ करोड कमाएका छन् । दुई फिल्मको कुल व्यापार ३ सय ६१ करोड हुन् आउँछ । त्यसैले यमीलाई नम्बर १ वरियतामा टिक्न गाह्रो छ ।

कियरा आडवाणी

‘कबिर सिंह’बाट करिअरको उचाइ प्राप्त गरेकी कियरा पनि यो वर्षको नम्बर १ अभिनेत्री बन्न सक्छिन । उनको एक मात्र रिलिज ‘कबिर सिंह’ले बक्सअफिसमा २ सय ७८ करोड कमाइसकेको छ ।

अब वर्षको अन्तिममा रिलिज हुने फिल्म ‘गूड न्युज’ले कियरालाई नम्बर अभिनेत्री रुपमा उभ्याउन सक्छ । तर, उनको अगाडी सोनक्षी बलियो प्रतिद्वन्दी बनेर उभिएकी छन् । ‘गुड न्युज’ले पनि बक्सअफिसमा सय करोड माथिको व्यापार गर्ने अनुमान छ । अब सोनक्षीलाई उछिन्न कियराको ‘गुड न्युज’ राम्रै व्यापार गर्नुपर्नेछ ।

कृति सेनोन र वाणी कपूरको उत्कृष्ट वर्ष

बक्सअफिस कलेक्सनका आधारमा यो वर्ष कृति सेनोन र वाणी कपूरको लागि फलदायी रह्यो । वाणीको एउटै रिलिज फिल्म ‘वार’ले ३ सय १८ करोड कमायो । भने, कृतिका चार फिल्मको कमाइ ‘लुका छिपी’ (९४ करोड), ‘अर्जुन पटियाला’ (७ करोड), ‘हाउसफुल ४’ (२ सय ६ करोड), र ‘पानीपत’ (२६ करोड) छ । सबै फिल्मको कलेक्सन जोड्दा ३ सय ३३ करोड हुन् आउँछ ।

प्रतिक्रिया दिनुहोस्