उत्कृष्ट सेल्फी खिच्दा निशुल्क अभिनय प्रशिक्षणको मौका



रंगखबर, काठमाडौँ – राष्ट्रिय अवार्ड विजेता अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘सेल्फी किङ’ माघ २४ देखि अलनेपाल रिलिज हुँदैछ । विपिनको लूक्सलाई लिएर चर्चामा रहेको फिल्मले प्रचारका बिभिन्न फण्डा अपनाइरहेको छ ।

त्यसै अनुरुप निर्माण पक्षले ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ । यस कन्टेस्टमा सहभागिता जनाउन ह्युमर तथा कमेडी हाउभाउसहितको सेल्फी खिचेर हाम्रो कम्युनिटीमा (लिंक) पोस्ट गर्नुपर्नेछ । तस्विरमा चाहे अनुसारको मेकअप गर्न सकिने नियम छ ।

देशभरबाट जम्मा भएका सेल्फी मध्ये लाइक र कमेन्टको आधारमा निर्माण पक्षले उत्कृष्ट सहभागी छनोट गर्नेछ । माघ ५ देखि २० सम्म चल्ने कन्टेस्टको नतिजा माघ २१ मा हाम्रो पात्रोबाट प्रकाशित हुनेछ ।

विजेताको लागि कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिने निशुल्क अभिनय प्रशिक्षणको व्यवस्था गरिएको छ । भने, अन्य १० जनाले फिल्म प्रिमियरको पास पाउनेछन ।

विशाल सापकोटा निर्देशित फिल्मले एक हास्य कलाकारको तीन दिने यात्राको कथा पस्केको छ । एक कार्यक्रममा पुगेर फर्किदासम्म उक्त कलाकारले भोग्नुपर्ने उतारचढावमा फिल्मले फन्को मार्ने निर्दशक सापकोटाले बताएका छन् ।

फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्