हाइप पाउँदा पनि चलेन दीपिका स्टारर ‘छपाक’



रंगखबर, काठमाडौँ – फिल्म ‘ओम शान्ति ओम’बाट बलिउड डेब्यु गरेकी अभिनेत्री दीपिका पादुकोण २०११ सम्म उतारचढाव पूर्ण थियो । तर, २०१२ पछाडी उनले पछाडी फर्केर हेर्नु परेन । बक्सअफिसमा लगालग फिल्म सफल भए ।

२०१२ यता उनले अभिनय गरेका ११ फिल्म मध्ये एउटा मात्र बक्सअफिसमा कमजोर देखियो । रनवीर कपूरसँग ‘तमाशा’ले लगानी मात्र रिकभर गर्दा दीपिका अभिनित अन्य १० फिल्म बक्सअफिस सफल भए ।

करिब ९ वर्ष असफल फिल्मबाट टाढै रहेकी दीपिकालाई २०२० को सुरुवातमै झट्का लागेको छ । उनि अभिनित ‘छपाक’ बक्सअफिसमा कमजोर बन्दै जाँदा अगाडी असफलता देखिएको छ ।

दोस्रो विकेन्डसम्म ‘छपाक’ले ३० करोड माथिको व्यापार गरेको छ । फिल्मको बजेट ४५ करोड हो । तर, दैनिक कलेक्सन करोड भन्दा तल झर्दा ‘छपाक’ले घरेलु बक्सअफिसबाट लगानी उठाउन सजिलो छैन ।

दीपिका अभिनित फिल्म मध्ये यो ९ वर्ष बीचको कमजोर व्यापार हो । यसअघि २०१४ मा रिलिज ‘फान्डिङ फ्यानी’ले लाइफटाइम ३५ करोड कमाएको थियो । तर, सानो बजेटमा निर्मित सिनेमा हिट सावित भयो ।

उच्च हाइपका बीच पनि ‘छपाक’को व्यापार राम्रो नहुँदा दीपिकाको स्टारडम माथि नै प्रश्न चिन्ह खडा भएको छ । उनलाई हिट फिल्म दिन तीन खान या संजयलीला भन्साली नै चाहिने त होइन ?

प्रतिक्रिया दिनुहोस्