चलचित्र पत्रकार ७ विकेटले विजयी, गैरपत्रकार खेलाउदा विपक्षीको गुनासो



रंगखबर, काठमाडौँ – फागुन ९ गते रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’ र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा पत्रकारको टिमले विजय हाँसिल गरेको छ ।

चितवनमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा खेलिएको मैत्री खेलमा पत्रकारको टिमले ‘सेन्टी भाइरस’लाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा अलआउट हुँदै १३६ रन बनाएको थियो । तर, उत्कृष्ट सुरुवात गरेको पत्रकार टिमले १५.२ ओभरमै ३ विकेटको क्षतिमा विजय हाँसिल गर्यो ।

पत्रकार टिमलाई जित दिलाउन खगेन्द्र बुढाथोकीले ४ विकेट लिएर ६३ रनको महत्वपूर्ण पारी खेले । तर, उनि चलचित्र पत्रकार संघका सदस्य थिएनन् । उनिसँगै गैरपत्रकारको रुपमा खेलेका नारायण रेग्मीले पत्रकार टिमलाई जित दिलाउन राम्रो प्रदर्शन गरे ।

कुनै बेला ४२ रनमा ५ विकेट गुमाएको ‘सेन्टी भाइरस’ टिमको पारी सुनिल भण्डारी र एलिश राईले उकासेका थिए । अर्धसतकीय साझेदारीसँगै ‘सेन्टी भाइरस’ टिमले राम्रो योगफल तयार पारको थियो । सुनिलले सर्वाधिक २५ रनको योगदान दिंदा एलिशले २१ रन बनाए ।

‘सेन्टी भाइरस’ टिमको तर्फबाट कुमार कट्टेलले १२, सुलभ पहारीले ८, कुलदीप अधिकारीले ७, सुरेश कार्कीले ५, जगदिस अधिकारीले ३ र दयाहाङ राईले व्यक्तिगत १ रन बनाए । यस्तै मणिराम पोखरेल र अर्जुन घिमिरेले खाता नखोली आउट हुँदा विल्सनविक्रम राईले अविजित ५ रनको योगदान दिए ।

‘सेन्टी भाइरस’ टिमलाई १ सय ३६ मा अलआउट गर्ने क्रममा चलचित्र पत्रकारको तर्फबाट खगेन्द्र बुढाथोकीले सर्वाधिक ४ विकेट चट्काए । भने, कप्तान सन्दीप सापकोटासहित सुजन पण्डित र संगम धामीले समान २/२ विकेट लिए ।

विपक्षीलाई १३६ रनमा अलआउट गरेपनि पत्रकारको टिमले ४९ अतिरिक्त रन दिएका थिए ।

उत्कृष्ट सुरुवात गरेको चलचित्र पत्रकारले ९ ओभरमा विना विकेटको क्षतिमा ९६ रन जोडेको थियो । १७ बलमा २० रन बनाएका नारायण रेग्मीले अर्को ब्याट्सम्यानलाई ब्याटिङको पालो दिएका थिए ।

पहिलो विकेटको लागि १ सय १७ रनको साझेदारी हुँदा ‘सेन्टी भाइरस’ टिम हारको नाजिक पुगिसकेको थियो । त्यसपछि लगातार २ विकेट लिएपनि टिमले हार जोगाउन सकेन ।

यस्तै दिनेश सिटौलाले २० बलमा २६ रनको महत्वपूर्ण पारी खेले । उनले ५ चौका हिर्काए । आकाश खड्काले ६, कप्तान सन्दीप सापकोटाले अविजित ५ रन बनाउदा सन्तोष कुमार थापा १ रनमा अविजित रहे । बैकुण्ठराज पराजुली गोल्डेन डक भएका थिए ।

‘सेन्टी भाइरस’ टिमको लागि एलिश राईले २ विकेट लिए । यस टिमको कप्तानी सिताराम कट्टेल (धुर्मुस)ले गरेका थिए ।

गैरपत्रकारले जिताएको खेल

साधारणतया क्रिकेट नखेल्ने चलचित्र पत्रकार र ‘सेन्टी भाइरस’ टिमको मैत्रीपूर्ण खेल रोमाञ्चक हुने आशा गरिएको थियो । ‘सेन्टी भाइरस’ टिमले ४२ रनमा ५ विकेट गुमाउदा पत्रकार टिम हावी भएपनि छैटौँ विकेटको अर्धसतकीय साझेदारीले राम्रो योगफल तयार भयो ।

१३७ रनको टार्गेट पत्रकारले पच्छ्याउदा रोमाञ्चक हुने आशा थियो । तर, गैर चलचित्र पत्रकारको रुपमा ओपनिङमा आएका खगेन्द्र बुढाथोकी र नारायण रेग्मीले ‘सेन्टी भाइरस’ टिमलाई खेलमा फर्किने कुनै मौका दिएनन् ।

पहिलो ओभरमै १६ रन खाँदा ‘सेन्टी भाइरस’ टिम आत्तिएको थियो । ओपनिङ जोडीले ९ ओभरमै ९६ रनको साझेदारी गरेपछि ‘सेन्टी भाइरस’ टिमले खेलमा कमब्याक गर्ने मौका नै पाएन ।

विपक्षीले विकेट लिन नसकेपछि पत्रकार टिमका ओपनरले वाकओभर गरे । राम्रो लयमा रहेका दुवै ब्याट्सम्यानले टिमलाई १० विकेटको फराकिलो जित दिलाउने वाला थिए ।

नयाँ ब्याट्सम्यान आएपछि पहिलो विकेटको साझेदारीमा बाँकी २१ रन जोडियो । १ सय १७ रनमा पहिलो विकेट गुमाएको टिमले जितसम्म पुग्न बाँकी २ विकेट खेर फाल्यो ।

गैर पत्रकारलाई खेलाएपछि ‘सेन्टी भाइरस’ टिमका केहि सदस्यले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्