आफ्नो पार्टी जिताउन विल्सन र सन्दीपको भिडन्त !



रंगखबर, काठमाडौँ – गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका निमित्त निर्मित फिल्म ‘सेन्टी भाइरस’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीतले राजनीतिक कार्यकर्ताको वेदना प्रस्तुत गर्छ ।

फिल्मका मुख्य कलाकार कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, सन्दीप क्षेत्री र एलिश राई फिचर्ड गीतले आफ्नो पार्टीलाई जिताउन कार्यकर्ताले खेल्ने भूमिका र नेताहरुले देखाउने व्यवहारलाई प्रस्तुत गरेको छ ।

हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत रहेको गीतमा प्रमोद खरेल र विद्या मन्जूले आवाज दिएका छन् । दीपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा एलिश राईको कोरियोग्राफी छ ।

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग रकम जुटाउन धुर्मुस-सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गरेका हुन् । जसको मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।

डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोले निर्माण गरेको फिल्म महाशिवरात्रीको अवसरमा फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्