डेढ महिनामा बलिउडको ‘तान्हाजी’ बाहेक सबै फ्लप



रंगखबर, काठमाडौँ – अंग्रेजी पात्रो २०२० को सुरुवाती डेढ महिनाको समय बितिसकेको छ । यस बीचमा बलिउडका थुप्रै आशा गरिएका फिल्म रिलिज भए । जसमध्ये एक मात्र फिल्म सफल भएको छ ।

वर्षको सुरुवातमा दुई प्रतिक्षित फिल्म ‘तान्हाजी: द अनसुङ्ग वारियर’ र ‘छपाक’ रिलिज भए । अजय देवगणको ‘तान्हाजी’ले अहिलेसम्म उत्कृष्ट व्यापार गरिरहेको छ ।

अजयको १०० औँ फिल्मले २ सय ७२ करोडको व्यापार गरिसकेको छ । सँगै रिलिज भएको दीपिका पादुकोण स्टारर ‘छपाक’ले भने बक्सअफिसमा घुडा टेक्यो । ‘तान्हाजी’ वर्षकै पहिलो हिट फिल्म बन्दा ‘छपाक’ पहिलो फ्लप सावित भयो ।

‘तान्हाजी’को सफलता पश्चात बलिउड बक्सअफिस धर्माराएको छ । त्यसयता रिलिज सबै फिल्म फ्लप भएका छन् ।

कंगना रानाउतको ‘पंगा’, बरुण धवन/श्रद्धा कपूरको ‘स्ट्रिट डान्सर’, सैफअलि खानको ‘जवानी जानेमान’ र साराअलि खान/कार्तिक आर्यनको ‘लभ आजकल’लाई दर्शकले नकारिदिए ।

यी मध्ये ‘पंगा’, ‘स्ट्रिट डान्सर’ र ‘जवानी जानेमान’लाई समिक्षकले राम्रो रेटिङ दिएका थिए । बक्सअफिसमा समिक्षाले काम गरेन ।

यस्तै आदित्य रोय कपूर, दिशा पटानी र अनिल कपूर स्टारर ‘मलंग’ले पनि बक्सअफिसमा संघर्ष गरिरहेको छ । ५० करोड बजेटमा निर्मित फिल्मले ४९ करोड मात्र कमाइ गरेको छ । यो फिल्मले निर्माताको लगानी उठाउनु बाहेक मनग्य आम्दानी गर्ने सभावना न्यून छ ।

आगामी शुक्रबार आयुषमान खुरानाको ‘शुभ मंगल ज्यादा साबधान’ र विक्की कौसलको ‘भुत’ रिलिज हुँदैछन् । हेरौँ, यी फिल्मले कस्तो व्यापार गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्