ठगी आरोपमा अनमोलको स्पष्टीकरण, ‘म बाहिर हुँदा चरित्रहत्या गर्नुभयो’



रंगखबर, काठमाडौँ – अभिनेता अनमोल केसीले आफुमाथि लागेको ५ लाख ठगी आरोपको खण्डन गरेका छन् । उनले आधिकारिक फेसबुक मार्फत बिना गल्ति ‘धुपौरे’ टिमले आफुलाई ठगी आरोप लगाएर चरित्रहत्या गरेको उल्लेख गरेका छन् ।

उनको स्पष्टीकरण जस्ताको तस्तै:-

‘म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र “ए मेरो हजुर ४” सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु । ‘

करीब ३-४ महिना पहिला “धुपौरे” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरो” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ?

तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।

अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।’

अनमोल अहिले ‘ए मेरो हजुर ४’ छायांकनको लागि पोखरामा छन् । उनले दोस्रो पटक अभिनेत्री सुहाना थापासँग जोडी बाँधेका छन् । सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्