महिला सशक्तिकरणको आवाज, सनीले ल्याइन ‘खुल्ला आकाश’



फिल्म ‘प्रेमपिण्ड’ फेम्ड अभिनेत्री सनी रौनियारले नयाँ गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरेकी छन् । आइतबार ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा सनीले महिला सशक्तिकरणको आवाज बोल्ने गीत सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा सनी आफै फिचर्ड छिन् । गीतले महिलाको पक्षमा बोल्छ । वाउ म्यागेजिन, जोन्टा क्लब, कौशल अधिकारी र विकाश रौनियारले खिचेका फोटोहरुले गीतको भिडियो सिङ्गारिएको छ।

झन्डै २४ वर्ष पछाडी आफ्नै आवाजमा गीत लिएर आएकी सनी भन्छिन ‘समाजमा अझै पनि व्याप्त पुरुषप्रधान मानसिकता बीच महिलाको दृष्टिकोण र विचारहरु बाहिर ल्याउने पर्ने आवश्यकता महसुस गरेँ । यस गीत मार्फत महिलाको भित्री भावना उजागर गर्ने सक्दो प्रयास गरेकी छु ।’

सनीले अगाडी थपिन ‘मेरो गीत मेरो मनको नजिक छ, किनकि यसले महिला सशक्तिकरण र सामाजिक समानताको संदेश दिन्छ । यो गीत नेपाली समाजका सबै महिलालाई समर्पित गर्छु, जसले आफु भित्र अथाह सम्भावना छन् र आफ्नो सिमा खुल्ला आकाश हो भन्ने विश्वास राख्छन ।’

सनीले २४ वर्ष अगाडी ‘सनी’ नामक गीती एल्बम दर्शकलाई पस्किएकी थिइन् ।

वरिष्ठ संगीतकार राजु सिंहले संगीत भरेको गीतमा विजय शिवाकोटीको शब्द रचना छ । भुषण दाहालले निर्देशन गरेको भिडियोमा जीवन रिजालको छायांकन र भरत रेग्मीको सम्पादन छ ।

‘प्रेमपिण्ड’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी प्रभावशाली सनीले ‘सडक’, ‘सीता’, र ‘देव सन्जोग’ जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्