चार सिनेमाको रिलिज स्वत: स्थगित



रंगखबर, काठमाडौँ – बुधबार ‘लक्का जवान’ युनिटले आफ्नो फिल्म चैत २१ मा रिलिज नगर्ने घोषणा गर्यो । विश्वमा महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’को त्रासबाट बच्न निर्माण पक्षले सिनेमा रिलिज स्थगित गरेको हो ।

यसअघि कोरोनाकै कारण फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ रिलिज तयारीमा रहेको ‘नीरफूल’ले प्रदर्शन स्थगित गरिसकेका थिए ।

यसपछि सबैको नजर चैत २८ मा धकेलियो थियो । यो मितिमा ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ रिलिज हुँदै थिए । तर, कोरोना त्रासका कारण रिलिजमा अन्यौलता छाएको थियो ।पर्ख र हेरको स्थितिमा रहेका दुवै सिनेमा अब चैत २८ मा रिलिज हुने छैनन् ।

नेपाल सरकारले बुधबार देशभरका सम्पूर्ण हल बैशाख १८ सम्म बन्द गर्न निर्देशन दिएपछि यी दुई सिनेमाको रिलिज स्वत: स्थगित भएको छ । अब यी दुवै सिनेमा आगामी वर्ष रिलिज हुन् सक्छन ।

यस्तै बैशाख १२ मा रिलिज हुने भनिएका ‘लप्पन छप्पन २’ र ‘हिजो आजका कुरा’को पनि रिलिज बिथोलिएको छ । अब यी दुई फिल्म पनि यस मितिमा रिलिज हुने छैनन् ।

हलमा कोरोनाको उच्च जोखिम हुने देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो । अहिलेसम्म कोरोनाका कारण विश्वभर ८ हजार बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्