अनलाइनमा २१ औँ ‘चलचित्र पत्रकारिता दिवस’



आज जेठ ७ गते, चलचित्र पत्रकारिता दिवस । सिनेमासँग जोडिएर देशैभर पत्रकारिता गर्नेहरुका लागि यो दिन विशेष मानिन्छ ।

वि.स. २०५६ सालमा व्यवसायिक चलचित्र पत्रकारितालाई अझ फराकिलो बनाउनका निमित्त ‘चलचित्र पत्रकार संघ’ स्थापना गरिएको थियो । त्यसयता संघको आकार र बिस्तार फराकिलो बनेको छ ।

देशभर छरिएका शाखा र केन्द्रिय कार्यसमितिले स्थापना दिवसको दिन बिभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । तर, यस २१ औँ स्थापना दिवस भने घरभित्रैबाट शुभकामना आदान-प्रदान गरि मनाउनु परेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोगबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका बीच केन्द्रिय कार्यसमितिले देशभरका पत्रकारलाई समेटेर अनलाइन भिडियो कल मार्फत चलचित्र पत्रकारिता दिवस मनाउदै छ ।

यसपटक विधिवत रुपमा कुनै कार्यक्रम हुनेछैन । केन्द्रिय कार्यसमितिले वितरण गर्दै आएको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम पनि स्थगित गरिएको छ । भने, मोफसलका केहि शाखाले सम्मान तथा पुरस्कार घोषणा गरिसकेका छन् ।

चितवन र मकवानपुर शाखाद्वारा सम्मान तथा पुरस्कार घोषणा

चितवन शाखाले राजधानीमा कार्यरत विजय आवाज सुवेदी, चितवनमा सक्रिय पत्रकार किशोर खनाल र सुशील पन्तलाई सम्मान गर्ने घोषणा गरेको हो । संघले वरिष्ठ कलाकार ॠद्दीचरण श्रेष्ठलाई पनि सम्मान गर्नेछ ।

यस्तै मकवानपुर शाखाले गोरखापत्र दैनिकमा कार्यरत राममणी दाहाललाई ‘पत्रकारिता पुरस्कार-२०७७’, चलचित्र पत्रकार संघ नेपालका पुर्व अध्यक्ष बिदुर गिरीलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०७७’ र कलाकार तथा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई ‘चलचित्र कलाकर्मी सम्मान -२०७७’बाट सम्मान गर्ने घोषणा गरेको छ ।

कोरोना महामारी सामान्य भएपछी सम्मान कार्यक्रम आयोजना गरिने चितवन शाखाका अध्यक्ष रवि अधिकारी र मकवानपुर शाखाका अध्यक्ष मणीराज गौतमले जानकारी दिएका छन् ।

दाङमा रक्तदान हुँदै

यस्तै शिव पुनको अध्यक्षतामा दाङ शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रसको सहकार्यमा संघले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

‘लकडाउनका कारण दाङमा रगत अभाव भएपछी, अघिल्ल्ला वर्षमा झैँ सम्मान तथा पुरस्कार कार्यक्रम स्थगित गर्दै यसपटक रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष पुनले बताए ।

अहिले जूम एपद्वारा चलचित्र पत्रकारहरु बीच शुभकामना आदान-प्रदान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्