बलिउड नगरीमा छायांकनको अनुमति, पालना गर्नुपर्नेछ यस्तो गाइडलाइन



भारतमा कोरोना नियन्त्रण हुने नामै छैन । लगातार बढ्दो ग्राफले प्रतिदिन ८ हजारको अंक छोइसकेको छ । यस्तोमा सरकारले लकडाउन ५:० घोषणा गरिसकेको छ ।

केन्द्रिय सरकारले लकडाउन यथावत राखेपनि राज्य सरकारले आफ्नो क्षेत्रमा कोरोनाको प्रभाव हेरेर लकडाउन खुकुलो गर्न थालेका छन् । यस्तैमा भारतमा सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा फिल्म र टेलीसिरियल छायांकनको लागि अनुमति दिने भएको छ ।

तर, छायांकन गर्न चाहनेले भने सरकारको गाइडलाइन पालना गर्नुपर्नेछ ।

यस्तो छ सरकारको गाइडलाइन

६५ वर्ष उमेर बढीका व्यक्ति, गर्भवती महिला, कलाकारका स्टाफ र साथीहरु सुटिङ सेटमा आउन पाउने छैनन्

हरेक छायांकन सेटमा नर्स र एम्बुलेन्स जरुरी हुनेछ, कुनै व्यक्तिमा पोजेटिभ देखिएमा तुरुन्त उपचार गर्नुपर्नेछ

सेटमा हात मिलाउन, किस र अँगालो मारेर सम्बोधन गर्न, दोस्रो व्यक्तिको मेकअप प्रयोग गर्न पाइने छैन ।

सेटमा प्रयोग हुने सामानहरु कम प्रयोग गर्नुपर्नेछ र फोहोर कपडा दैनिक धुनुपर्नेछ ।

टेन्टमा ५ व्यक्तिभन्दा बढी बस्न पाइनेछैन, फिल्म र सिरियलमा ठुला सिक्वेन्स र विवाह दृश्य खिच्न पाइने छैन ।

सेटमा ३३ प्रतिशत स्टाफ मात्र प्रयोग गर्नुपर्नेछ, स्टाफले सेटमा प्रवेश गर्नु भन्दा पहिले साबुन-पानीले हात धुनुपर्नेछ ।

यात्रामा लगाएको पहिरण परिवर्तन गरेर सेटमा इन्ट्री गर्नुपर्नेछ, सेटमा नयाँ जुत्ता-चप्पल प्रयोग गर्नुपर्नेछ ।

कास्टिङ, लुक टेस्ट र कुराकानीमा इन्टरनेटको सहायता लिनुपर्नेछ, यी कामको लागि भेट्न निषेध गरिएको छ ।

कलाकारले आफ्नो घरदेखि नै तयारी गर्नुपर्नेछ, उसले मेकअप र हेयरको लागि एक जना मात्र स्टाफ प्रयोग गर्न पाउनेछन् ।

कलाकारले आफ्नो घरबाटै चाहिने खाना ल्याउनु पर्नेछ, परिचय पत्र र प्रहरीसँग अनुमति अनिवार्य गरिएको छ ।

कलाकारले आफ्ना दैनिकी प्रयोगका सामानमा सेनीटाइज गर्नुपर्नेछ, स्क्रिप्ट कम भन्दा कम व्यक्तिले मात्र छुन पाउनेछन् ।

मेकअप आर्टिस्टले ‘पिपिई’ अनिवार्य लगाउनु पर्नेछ, छायांकनमा डिस्पोजल किटको प्रयोग गर्नुपर्नेछ, जो प्रयोगपछि फाल्न सकियोस ।

यी सबै गाइडलाइन पालना गर्दा सम्पूर्णले सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्