रहेनन् वाजिद खान, टुट्यो साजिद-वाजिदको जोडी



बलिउडका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ । वाजिद मिर्गौला सम्बन्धि रोगबाट ग्रसित थिए ।

स्वास्थ्यमा खरावी देखिएपछि उनलाई मुम्बई, चेम्बुरको एक अस्पतालमा भर्ना गरिएको थियो । केहि महिना अगाडी मात्रै वाजिदको मिर्गौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अगाडी नै उनका कोरोना संक्रमण पनि देखिएको थियो ।

पछिल्ला दिनमा उनमा रोग प्रतिरक्षा प्रणाली निक्कै कमजोर भएको थियो । त्यसैले मृत्युको कारण कोरोना अनुमान गरिएको छ । पहिलेदेखि नै रोगसँग लडिरहेका बिरामीलाई कोरोनाले अझ थला पार्ने गरेको छ ।

वाजिदको निधनपछि अहिले बलिउड शोकमा डुबेको छ । संगीतको दुनियाँमा दुई भाइ साजिद-वाजिद लोकप्रिय जोडी थियो । उनको निधनसँगै साजिद अब एक्लो परेका छन् ।

वाजिदले सन् १९९८ मा रिलिज भएको फिल्म ‘प्यार किया तो डरना क्या’बाट सांगीतिक यात्रा सुरु गरेका थिए ।  उनले भाइ साजिदसँग मिलेर संगीत तयार गर्ने गर्थ्ये ।

उनका ‘सोनी दे नखरे’, ‘ताजदार-ए-हरम’, ‘तेरे बिना लगता नही’, ‘जलवा’, ‘हमका पिनी हे’, ‘धडंग धडंग’, ‘तु भी मूड मे’, ‘माशाअल्लाह’ जस्ता गीत चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्