९३ औँ संस्करणका लागि अस्करको नयाँ नियम



एकेडेमी अवार्ड (अस्कर)ले नयाँ नियम जारी गरेको छ । कोभिड – १९ महामारीका कारण दुई महिना पछाडी सरेको अवार्डले नेपाल अस्कर कमिटिलाई नयाँ नियमबारे जानकारी गराएको हो ।

विगतमा यो अवार्ड समारोह फेब्रुअरीमा आयोजना हुन्थ्यो । तर, कोरोनाका कारण ९३ औँ संस्करण आगामी वर्षको अप्रिल २५ का लागि तय भैसकेको छ । त्यसैले अघिल्ला वर्षहरुमा अक्टुबरमा फिल्म पठाइसक्नु पर्नेमा यसपटक डिसेम्बर २१ सम्म समय तोकिएको छ ।

महामारीका कारण रिलिज गर्ने समय सीमा तोकेर पनि रिलिज हुन् नसकेका फिल्मका लागि यो साल अस्कर लचिलो बनेको छ । अघिल्ला वर्षहरुमा कुनै पनि फिल्म रिलिज भएर हलमा हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त फिल्म हलबाट फिल्म रिलिज रोकिएको पत्र अस्कर कमिटीलाई बुझाउनु पर्नेछ ।

यस्तै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्