नेपाली फिल्मका खम्बा, निर्देशक तुलसी घिमिरे लागे ६९ वर्ष



वरिष्ठ निर्देशक तुलसी घिमिरे नेपाली फिल्म क्षेत्रका एक दरिलो खम्बा हुन् । २००८ असार ७ गते दार्जिलिङको कालिम्पोङमा जन्मिएका घिमिरे आजबाट ६९ वर्षमा लागेका छन् । थुप्रै सुपरहिट फिल्म र कलाकारलाई जन्म दिएका तुलसीलाई थुप्रै फिल्मकर्मीले आफ्नो गुरु मान्छन ।

सन् १९८१ मा सिनेमा ‘बाँसुरी’बाट निर्देशकीय यात्रा सुरु गरेका तुलसीको पछिल्लो निर्देशित फिल्म ‘दर्पण छायाँ २’ हो । उनले निर्देशनगरेका अन्य फिल्म ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘अन्याय’, ‘कोशेली’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘देउता’, ‘दक्षिणा’, ‘मितज्यु’, ‘रहर’, ‘बलिदान’, ‘दर्पण छायाँ’, ‘साइत’, ‘लहना’, ‘दुई किनारा’, ‘स्वर्गकी परी’, ‘माया त माया हो’, ‘देश’, ‘मृगतृष्णा’, ‘दृष्टिकोण’ हुन् । यी मध्ये अधिकाँस फिल्म लोकप्रिय र सफल छन् ।

यस्तै उनले उदित नारायण झा, निरुता सिंह, तृप्ति नाडकर, उत्तम प्रधान, श्रवन घिमिरे, केशव भट्टराई, बि.एस राणा, भुपेन चन्द, सुमन सिंह, साहारा कार्की, श्रद्धा प्रशाई, फिरोज तिमिल्सिना जस्ता कलाकारलाई नेपाली फिल्ममा भित्र्याएका थिए ।

नेपाली कला क्षेत्रमा अभिनय, सम्पादन, लेखन, छायांकन, गीतकार, द्वन्द्ध निर्देशनका विधामा पनि तुलसीले काम गरिसकेका छन् । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्वपूर्ण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्