‘धूम ४’को लागि रणवीरको नाम अगाडी, टाइगरको सम्भावना कति ?



बलिउड बक्सअफिसको ब्लकबस्टर सिरिजको चौथों सृंखला ‘धूम ४’ लामो समयदेखि कास्टिङका कारण चर्चामा छ । यसको तेस्रो फ्रेञ्चाइज रिलिज भएको ७ वर्ष बित्दापनि चौथों सृंखला छायांकनमा जान सकिरहेको छैन ।

सुरुवातमा अभिनेता शाहरुख खान फोर्थ फ्रेञ्चाइजमा हुने खबर थियो । तर, शाहरुखको खस्किदो करिअर र ओरालो लागेको स्टारडमका कारण फिल्मको काम अगाडी बढ्न सकेन । यस बीचमा थुप्रै अभिनेता फिल्ममा रहने भन्ने अफवाह फैलिए ।

अब भने छिट्टै नै एशराज फिल्म्सले ‘धूम ४’ निर्माण गर्ने भएको छ । फिल्मको लिडमा अभिनेता रणवीर सिंह रहने प्रवल सम्भावना रहेको बताइएको छ । ठुलो बजेटमा निर्माण हुने यस फिल्मको लागि यशराजले हलमा दर्शकको भिड लगाउन सक्ने युवा कलाकारको खोजी गरिरहेको छ । र, सर्वाधिक क्रेज भएका नयाँ पुस्ताका कलाकारमा रणवीर अग्रपंतिमा आउँछन् ।

त्यसैले लिडमा रणवीरलाई लिने मनस्थितिमा यशराज रहेको बताइन्छ । रणवीरका पछिल्ला फिल्म ‘पद्मावत’, ‘बाजिराव मस्तानी’, ‘सिम्बा’ र ‘गली व्वाय’ बक्सअफिसमा अत्याधिक सफल भएका थिए । ‘धूम ४’को अन्य कलाकारको रुपमा अभिनेता रनबिर कपूरको नाम पनि अगाडी आएको छ ।

यस्तै अभिनेता टाइगर श्रोफको नाम पनि लाइनमा छ । यशराजको पछिल्लो रिलिज ‘वार’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरेको थियो । जसमा टाइगरले आफुलाई प्रमाणित गरेका थिए ।

‘धूम’को पहिलो फ्रेञ्चाइजमा जोन अब्राहम र अभिषेक बच्चन मुख्य कलाकार थिए । यस्तै दोस्रोमा अभिषेकसहित ऋतिक रोशन लिडमा थिए । भने तेस्रोमा आमिर खान र अभिषेक बच्चनले मुख्य भूमिका निर्वाह गरेका थिए । २०१३ मा रिलिज भएको ‘धूम ३’ले बक्सअफिस सबै रेकर्ड ब्रेक गर्दै भारतबाट मात्रै २ सय ८० करोड भारु कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्