अभागी रजत: ‘जसको सफलतामा रणवीर सिंह बाधक बने’



सन् २०१० को जुलाईमा रिलिज भएको फिल्म ‘उडान’ले उतिबेला चर्चाको शिखर चुमेको थियो । अन्तर्राष्ट्रिय महोत्सव र स्वदेशी अवार्ड समारोहमा अवार्डको चाङ लगाएको उक्त फिल्मबाट उदाएका थिए, अभिनेता रजत बरमेचा ।

फिल्मसँगै उनको डेब्यु अभिनयको चौतर्फी तारिफ भयो । उतिबेला सबैले भन्ने गर्थ्य, ‘यो वर्षको डेब्यु अवार्ड रजतलाई नै जान्छ ।’ जनवरीदेखि जुलाईसम्म डेब्यु गरेका अभिनेताहरु मध्ये रजत अब्बल मानिएका थिए । जुलाईदेखि नोभेम्बरसम्म पनि उनिभन्दा अब्बल कलाकारको डेब्यु भएन । आगामी वर्षका अवार्डमा उनले उडान भर्नेमा दुई मत थिएन ।

तर, डिसेम्बर १० मा रिलिज भएको फिल्म ‘ब्याण्ड बाजा बारात’बाट अभिनेता रणवीर सिंहले ड्रिम डेब्यु गरे । त्यसपछि तुहियो रजतको सपना । रजतलाई लिएर सबैले भन्ने बोली, ‘यो वर्षको डेब्यु अवार्ड त ….. लाई जान्छ ।’ रणवीरको पोल्टामा पर्यो । नभन्दै २०१० का डेब्यु अभिनेताको सबै अवार्ड रणवीरले कुम्ल्याए ।

रजतको आँखाको अगाडी रणवीरले सम्पूर्ण सपना खोसिदिए । १० वर्ष बितेपछि रजतले रणवीरको सफलताले आफुलाई जलन हुने बताएका छन् ।

रणवीर अहिले बलिउडका तुरुपका एक्का मानिन्छन । ठुला फिल्म, बक्सअफिस सफलता, उम्दा अभिनय र जोश रणवीरका परिचय हुन् । उता रजतको सफलता शुन्य जस्तै छ । केहि सिरिज र कम बजेटका फिल्म बाहेक उनको हातमा खासै काम छैन ।

एक अन्तर्वार्तामा उनले २०१३ देखि १५ सम्मको समयमा रणवीरको सफलता देखेर आफुलाई जलन हुने गरेको खुलाएका छन् ‘जुलाईदेखि नोभेम्बरसम्म सबै मेरै तारिफमा थिए । तर, रणवीरको डेब्युले मेरो सपना तुहाइदियो । त्यो वर्षका सबै अवार्ड रणवीरले पाए । एउटा मात्र अवार्ड रणवीर र मलाई सँगै दिइएको थियो । म रणवीरले अवार्ड पाएकोमा दुखि थिएन । मैले चाहि किन अवार्ड पाउन सकिन भन्ने कुराले मलाई सताउथ्यो । यदि त्यो वर्षका सम्पूर्ण अवार्ड मैले पाएको भए, रणवीरका जस्तै ठुला फिल्म पाउँथ्ये होला ।’

‘त्यो बेला साचिकै मेरो डेब्युले एक किसिमको उडान लिएको थियो । सबैले भन्थ्ये, ‘कति राम्रो एक्टर । सुन्दर आँखा, सुन्दर अनुहार र २१ वर्षको उमेर मै यस्तो उम्दा अभिनय । जताततै मेरै तारिफ थियो । यस्तो डेब्युका वावजुत मलाई राम्रो फिल्मको अफर नै आएन ।’

उनि अगाडी भन्छन, ‘कुनै पार्टी र साथिसँगको बसाईमा मेरै अगाडी रणवीरको तारिफ हुँदा मलाई एकदमै जलन हुन्थ्यो । मन मनै जलेपनी म बाहिर देखाउदैनथ्ये । यहाँसम्मकी मेरो अभिनयको प्रशंसा गर्दै महानायक अभिताभ बच्चनले भ्लग लेख्थ्ये । तर, पनि म कामविहिन भएँ ।’

‘पछि समय बदलिदै जाँदा म यात्रामा निस्किए । यात्राका क्रममा धेरै नयाँ ठाउँ र नयाँ मान्छेसँग घुलमिल भयो । त्यसपछि म भित्रबाट त्यस्ता नकारात्मक कुराहरु हट्दै गए । अहिले रणवीरको सफलतामा कुनै गुनासो छैन ।’

रजत अहिले रणवीरको सफलतालाई उसको भाग्यसँग तुलना गर्दैनन् । ‘मलाई पछि गएर थाहा भयो । रणवीर लकले होइन मेहनतले चलेका रहेछन । उनको कामप्रतिको लगाव, इनर्जी र मेहनतको प्रशंसक हुँ । मैले उनका फिल्म खासै छुटाउदिन ।’

प्रतिक्रिया दिनुहोस्