गलत प्रवृतिको सबैले विरोध गर्नुपर्छ – समिक्षक गोकर्ण गौतम



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माको शारीरिक बनोटप्रति लक्षित गर्दै ‘दारा भएको अनुहार’ भनेपछि ‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी चौतर्फी आलोचित बनेका छन् । उनको प्रस्तुति र बोल्ने शैलीको विरुद्दमा फिल्मकर्मीदेखि पत्रकारसम्म उत्रिएका छन् ।

उनको प्रस्तुतिको आलोचना गर्दै समिक्षक गोकर्ण गौतम लेख्छन, ‘पत्रकारिता न दम्भ हो, न कसैको अपमान । ‘महानायिका बनाईदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई…’
यो वाक्यांसले लज्जाबोध भएको छ, एउटा पत्रकारका रुपमा । ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमका प्रस्तोताले एक अभिनेत्रीलाई निशाना साँधेर बोलेका अन्य शब्दहरु पनि उत्तिकै आपत्तिजनक छन् । प्रस्तुती शैलीमा दम्भ र अपमान अनुभुत हुन्छ । मिडियाले तथ्यगत आलोचना गर्न पाउँछ, तर यो अब्यावसायिक गाली हो, ‘Body Shaming’ हो । स्त्रीद्वेषी मानसिकता हो । ‘

केहि समय अगाडी सुवेदीकै कार्यक्रममा अभिनेत्री पूजा शर्माले नेपालमा कति प्रदेश र जिल्ला छन् ? भन्ने प्रश्नको उत्तर दिन नजान्दा उनि चौतर्फी ट्रोल र आलोचकको शिकार बनेकी थिइन् । त्यसपश्चात उनले केहि मिडियामा उक्त अन्तर्वार्ता सम्पादन गर्न आग्रह गर्दा पनि प्रशारण गरिदिएको दुखेसो पोखेकी थिइन् ।

यस बीचमा प्रस्तोता सुवेदीले आफुलाई पुन: अन्तर्वार्ता दिन बोलाएको तर पहिलाको घटनाले गर्दा आफु उपस्थित हुन् नसकेको पनि बताइन । अन्तर्वार्ता दिन नमानेपछि सुवेदीले व्यक्तिगत दुस्मनी राख्दै राष्ट्रिय टेलिभिजनबाट उनको मान-मर्दन हुने गरि प्रस्तुति दिएका हुन् ।

पूजाको स्टाटस:-

उनले कार्यक्रमको सुरुवातमा भनेका छन्, ‘अन्तर्वार्ता दिने पनि आफै, बोल्ने पनि आफै, नआउने पनि आफैलाई । हामीले चाइ लिएको अन्तर्वार्ता काट्दिनु पर्ने, सम्पादन गर्दिनुपर्ने । त्यो पनि मिलाई मिलाई । महानायिका बनाइदिनु पर्ने, त्यो पनि दारा निस्किएको अनुहारलाई ।’

समिक्षक गौतम यस्तो प्रवृतिको पत्रकार, कलाकर्मी र हरेक नागरिकले विरोध गर्नुपर्ने धारणा व्यक्त गर्छन, ‘मिडियाले कसैको उपकार गर्न होइन, न्युजभ्यालु भएपछि अन्तरवार्ता लिने हो । अन्तरवार्ता दिने/नदिने व्यक्तिको अधिकार हो । दिएन भन्दैमा तथानाम भन्न पाइन्न । सिनेकर्मी र सिने–पत्रकारिताले समाजमा अपेक्षाकृत प्रतिष्ठा आर्जन नगर्नुमा यस्तै–यस्तै व्यवहारहरुले पनि भूमिका खेलेको हुन्छ । नियतवश नगरिएको पनि हुनसक्छ तर यस्तो प्रवृत्तिको पत्रकार, कलाकर्मी र हरेक सचेत नागरिकले विरोध गर्नुपर्छ । महिला कलाकारहरुले अझ प्रतिवाद गर्नुपर्छ । विडम्बना, यहाँ खुच्चिङ भनेर रमाउने परपीडकहरुको बाहुल्य छ। भुल गर्नेले क्षमायाचना गरे नजीर राम्रै बस्छ । छुच्चो हुन वा जान्ने टोपल्न हैन, अन्तरमनले भनेको कुरा सभ्य भाषामा व्यक्त गरेको मात्र हो । नभुलुम, कसैले कसैलाई बनाउन वा सकाउन सक्दैन । सबै मान्छेहरु आफ्नै कर्मले आउँछन्, आफ्नै कर्मले सकिन्छन् ।’

गौतमको यो स्टाटस अभिनेता आसिफ शाह, निर्देशक प्रदीप भट्टराईलगायत थुप्रै पत्रकारहरुले शेयर गरेका छन् ।

यस्तै अभिनेत्री ऋचा शर्मा, निशा अधिकारी, कलाकार रविन्द्र सिंह बानियाँ, निर्माता अर्जुन कुमार, निर्देशक सुदर्शन थापा, संगीतकार अर्जुन पोखरेललगायतका फिल्मकर्मीले आलेचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्