सन्तोषले घोषणा गरे मल्टीस्टारर ‘हुतुतु’, यस्तो छ लाइनअप



रंगखबर, काठमाडौँ – ‘प्रेमगीत’ सिरिज निर्माता सन्तोष सेनले एउटा ठुलो नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । कमेडी जनरामा बन्ने ‘हुतुतु’मा फिल्म क्षेत्रका थुप्रै चर्चित कलाकारहरुलाई समेटेर उनले नयाँ नयाँ प्रोजेक्ट घोषणा गरेका हुन् ।

आसुसेन फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्यदेखि लिएर राजाराम पौडेल, माओत्से गुरुङ, नाजिर हुसेन, प्रदीप खड्का, गौरव पहारी, सलोन बस्नेत, पल शाहसम्मले अभिनय गर्नेछन् ।

निर्देशनमा सन्तोषले दोस्रो पटक छेतेन गुरुङसँग सहकार्य गरेका छन् । दुवैले ‘हुतुतु’ निर्देशन गर्नेछन् । सन्तोष र छेतेन निर्देशित ‘प्रेमगीत ३’ प्रदर्शनको लागि तयार छ ।

‘कोरोनाले ठप्प बनाएको फिल्म क्षेत्र बिस्तारै चलायमान बनाउने चुनौती हामीमा छ । त्यसैले दिग्गज कलाकार हरिवंशदेखि लिएर राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत जस्ता बहुचर्चित कलाकारहरुसँग एउटा दुनियाँको प्रतिनिधित्व गर्दैछौँ । हाम्रो सिर्जना विशुद्ध हास्यकथा शैलीमा वाचन हुनेछ । यसको लागि हाम्रो टिमले २०० प्रतिशत प्रयास गर्नेछ ।’ कलाकार, निर्माता तथा निर्देशक सेनले भने ।

‘प्रेमगीत ३’ अगावै छायांकनमा जाने फिल्मको लागि मुख्य अभिनेत्री र अन्य कलाकारको खोजी भैरहेको र छनोटपछि जानकारी दिने सेनले बताए ।

प्रतिक्रिया दिनुहोस्