पूजालाई चित्त बुझेन प्रकाशको माफी, भन्छिन ‘प्रस्तोताले जस्तो हल्का रुपमा लिदैनौँ’



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको बीचको विवाद केहि दिनदेखि न्युजको हेडलाइन बनिरहेको छ । राष्ट्रिय टेलिभिजनमा पूजाको शारीरिक बनावटको धज्जी उडाउदै ‘दारे हिरोइन’ भनेपछि सुवेदी चौतर्फी आलोचित बने ।

यस विषयमा उनले आफ्नो कार्यक्रम ‘रजतपट’बाट माफी पनि मागिसकेका छन् । उनको माफीपछि पूजाले पुन: प्रतिक्रिया दिएकी छन् । तर, उनकोको प्रतिक्रियामाले उनलाई प्रकाशको माफि चित्त नबुझेको प्रतित हुन्छ ।

उनि फेसबुकमा लेख्छिन ‘एपीवान टिभिको रजतपट कार्यक्रममा भएको कलाकारप्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ, एपीवानलगायत बिभिन्न महत्वपूर्ण ठाउँमा उजूरी दियौँ, लगत्तै हिजो बेलुका सम्वन्धित कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो । त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौ ! त्यस्तो गम्भिर बिषयमा उहाँले ‘दारे’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो , जबकि ‘दारे महानायिका’ शब्द चिप्लिएको होइन । २ दिनौँकी चाँदीनी फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ?, भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ, मैले एक-से-एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु, तँ आउदिन भन्ने तेरो के हैसियत के छ ? यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’ पूजा प्रश्न गर्छिन ।

पूजा अगाडी पनि लेख्छिन ‘एउटा शब्द ‘दारे महानायिका’ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो । तर उहाँले अन्तर्वार्तामा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ, ‘घरमा हामि सधै यस्तै बोल्थ्यौं , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे ! राष्ट्रीय टेलिभिजन च्यानलमा बोलेको त्यस्तो बिषयमा पनि यस्तो हलुका टिप्पणीसहित मागिएको माफिले हामिलाई अचम्भित तुल्यायो ! अत यो गम्भिर बिषयलाई कार्यक्रम प्रस्तोताले जुन ढंगले घमन्ड र दम्भसहित राष्ट्रीय टेलिभिजनमा प्रस्तुत गर्नु भएको छ, यो सम्पूर्ण कलाकारको अपमान हो । भबिष्यमा यस्ता घटनाहरू पुन: दोहोरिन सक्छ अत: हामिले न्यायको लागि चलचित्रसँग सम्वन्धित सरोकारवाला संघ गुहारेका छौँ । साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजनमा पनि गएको छौँ । यो बिषयलाई निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर, भबिष्यमासमेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशा सहित लागि रहनेछौँ । यो साथ र सहयोगको लागि सम्पूर्ण चलचित्रकर्मी, न्यायप्रेमी पत्रकार साथिहरू, शुभचिन्तक मित्रहरू सबैलाइ धन्यवाद !’

आफुलाई पटक-पटक राष्ट्रिय टेलिभिजनबाट ह्यारेसमेन्ट गरेको भन्दै पूजाले आइतबार बिभिन्न संघसंस्थामा उजुरी दिएकी थिइन् । उनको उजुरीपछि प्रस्तोता सुवेदीले ३ मिनेट ५० सेकेण्ड लामो भिडियो मार्फत माफि मागेका थिए ।

‘कार्यक्रममा लक्षित गरिएका मेरा भावनाहरु व्यक्ति विशेष थिएनन् । प्रतीकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । हो मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्न खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । त्यसक्रममा जुन ‘दारा’ भन्ने शब्द मेरो मुखबाट फुत्किएको छ । त्यो वास्तवमा फुत्किनु हुदैनथ्यो । गल्ति भयो । भविश्यमा शब्द चयन गर्दा अवश्य पनि ध्यान पुर्याउने छु ।’

‘राष्ट्रिय टेलिभिजनमा उक्त शब्द किमार्थ उच्चारण गर्न हुदैनथ्यो । फेरि पनि भन्छु, एक पटक होइन सय पटक भन्छु । सय पटकले पनि यहाँहरुलाई चित्त बुझ्दैन भने हजार पटक भन्छु । त्यतिले पनि पुग्दैन भने लाख पटक भन्छु । गल्ति भएकै हो । म चुकेको हो । मैले माफी माग्नै पर्छ । अगाडी यहाँहरु मर्जी ।’ उनले क्षमायाचना शिर्षकमा अपलोड गरेको भिडियोमा भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्