‘सडक २’ ट्रेलर रिलिज, ९० प्रतिशत डिसलाइकसहित बहिस्कारको ट्रेण्ड जारी



रंगखबर, काठमाडौँ – महेश भट्टको नयाँ फिल्म ‘सडक २’को ट्रेलर रिलिज भएको छ । २० वर्षपछि भट्टले निर्देशनमा कमब्याक गरेका हुन् । फिल्ममा संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर र पूजा भट्टको मुख्य भूमिका छ ।

महेशकै १९९१ को हिट फिल्म ‘सडक’सँग सम्वन्धित ‘सडक २’ले संजय दत्तको क्यारेक्टरलाई आत्मसाथ गरेको छ । कथामा पूजा भट्टको निधन पश्चात संजय उनकै यादमा डुबिरहेका छन् । उनले सबै कामकाज बन्द गरेर बसेका छन् । त्यसपछि कथामा आलियाको इन्ट्री हुन्छ । आलिया फेक गरुहरुको भण्डाफोर गर्न कैलाश जान चाहन्छिन । पूजाले आलियाको कैलाश यात्राको बुकिङ गराएकाले संजय जान तयार हुन्छन । त्यसपछि कथाले नयाँ मोड लिन्छ ।

बाटोमा आलियाका प्रेमी आदित्य रोय कपूर पनि यात्रामा जोडिन्छन । केहि साधु अलियाको ज्यान लिन पछाडी लाग्छन । त्यसपछि संजय आफ्नो कर्तव्य पुरा गर्न आलियाको निम्ति फाइट गर्छन । ट्रेलरमा देखिने कथा यति नै हो ।

ट्रेलर रिलिजपछि दर्शकले यो कथालाई कमजोर भनेका छन् । उसै त केहि दर्शकहरु स्टारकिडको फिल्म बहिस्कार गर्ने भनेर लागि परेका छन् ।

ट्रेलरमा ९० प्रतिशत डिसलाइक

महेश भट्ट, अलिया भट्टलगायतका कलाकारहरु सुशान्त सिंह राजपुतको आत्महत्याको कारण बताउदै दर्शकले ‘सडक २’लाइ बहिस्कार गरिरहेका छन् । ट्रेलरले ४ लाख ६९ हजार भ्युज बटुल्दा ३ लाख ९७ हजार डिसलाइक पाएको छ । यो ९० प्रतिशत भन्दा पनि बढी हो ।

सामान्यतया जस्तो सुकै फिल्मको ट्रेलरमा पनि ९० प्रतिशत बढी लाइक आउछन । तर, ‘सडक २’को हकमा उल्टो भैदिएको छ । ‘नेपोटिज्म’ मुद्धा चर्किदा ‘सडक २’ त्यसको प्रत्यक्ष मारमा परेको छ ।

कमेन्ट बक्समा पनि ट्रेलरको कथाबस्तुलाई लिएर गरिएको प्रतिक्रया भेट्नै मुस्किल पर्छ । त्यहाँ डिसलाइक गर्ने, हेर्ने अनि गन्ने प्रतिक्रिया मात्र पोस्ट भएका छन् ।

२८ अगस्तमा डिज्नी प्लस हटस्टारमा रिलिज हुन् लागेको ‘सडक २’ले दर्शको कस्तो साथ पाउछ ? त्यो त रिलिजपछि नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्