५० लागिन मनिषा, यसरी तय भयो नेपालदेखि बलिउडसम्मको यात्रा



नेपाली मूलकी बलिउड सुपरस्टार मनिषा कोइराला आजबाट ५० वर्षमा लागेकी छन् । २०२७ साल साउन ३२ गते काठमाडौँमा जन्मिएकी मनिषाले १७ वर्षकै उमेरमा नेपाली फिल्म ‘फेरी भेटौला’ पहिलो पटक अभिनय गरेकी थिइन् ।

आज भन्दा ३३ वर्ष अगाडी उक्त फिल्मको लागि मनिषाले ५० हजार पारिश्रमिक लिएको बताइन्छ । बनारसमा अध्ययन गरिरहेका बेला मनिषालाई आफ्नै मामा प्रेम उपाध्यायले ‘मेघावूल’को एक विज्ञापन खेलाएका थिए । उक्त विज्ञापनपछि मनिषालाई पहिलो फिल्मको अफर आएको थियो ।

‘फेरी भेटौला’पछि उनले २०४८ सालमा फिल्म ‘सौदागर’बाट बलिउड डेब्यु गरिन । उक्त फिल्ममा बलिउडका राज कुमार, दिलिप कुमार, ज्याक्की श्रोफ, गुलसन ग्रोवर, अमरिश पुरी, अनुपम खेर जस्ता कलाकारको अभिनय थियो ।

डेब्यु फिल्म बक्सअफिसमा सफल भएपनि मनिषाका त्यसपछिका फिल्म लगातार असफल भएका थिए । त्यस दौरान उनले विनोद चोपडाको फिल्म ‘१९४२: अ लभस्टोरी’मा अभिनय गर्ने मौका पाइन् । ‘१९४२’को सफलताले मनिषा पुन: बलिउडमा चम्कीइन ।

झन्डै ८५ को हारहारीमा फिल्म गरेकी मनिषाले बलिउडसँगै तेलुगु, मलायलम, बेंगाली, तामिल फिल्ममासमेत अभिनयको जादु पस्किसकेकी छन् ।  ‘बम्बे’, ‘दिल से’, ‘१९४२: अ लभस्टोरी’, ‘क्रिमिनल’, ‘अकेले हम अकेले तुम’, ‘अग्नीसाक्षी’, ‘गुप्त’, ‘मन’, सनम’, ‘लज्जा’, ‘सौदागर’, ‘सञ्जु’ उनका अत्याधिक लोकप्रिय फिल्म हुन् ।

यस्तै उनले २०६७ सालमा निर्देशक दीपेन्द्र के खनालको ‘धर्मा’बाट नेपाली फिल्ममा कमब्याक गरेकी थिइन् । उक्त फिल्ममा काम गरे वापत मनिषाले २५ लाख रुपियाँ पारिश्रमिक लिएको बताइन्छ । मनिषाले अभिनयमा मात्रै आफ्नो जीवनको सुनौलो तीन दशक समर्पित गरिन ।

क्यान्सरपछिको जीवन

मनिषालाई सन् २०१२ मा पाठेघरमा क्यान्सर देखिएको थियो । अमेरिकामा करिब २ वर्षको उपचारपछि उनले क्यान्सरसँगको लडाई जितेकी थिइन् । त्यसपछि उनले २०१७ मा फिल्म ‘डियर माया’बाट बलिउडमा कमब्याक गरिन । त्यस समयमा मनिषाले क्यान्सर हुँदा आफुले गरेका संघर्ष र जीत माथि आधारित रहेर ‘हिल्ड’ (निको) नामक किताब लेखेकी थिइन् ।

२०१८ मा सार्वजनिक उक्त किताबमा उनले क्यान्सरपछि आफुले भोगेका शारीरिक, मानसिक, भावनात्मक निराशा, अनिश्चितता र आफुले सिकेका पाठहरु समेटेकी थिइन् । उनले त्यतिबेला भनेकी थिइन् ‘बलिउडमा ‘ए’ लिस्टरदेखि त्यो निराशाको विन्दुसम्म आइपुग्दा मेरो पर्सनल र प्रोफेसनल जीवन धरापमा परेको महसुस गरेकी थिएँ ।’ बलिउडकर्मीहरुले क्यान्सरलाई कसरी जितिस भन्ने प्रश्नमा मेरो एउटै उत्तर हुन्थ्यो, ‘कडा परिश्रमको कुनै विकल्प छैन ।’

कमब्याक सिनेमा ‘डियर माया’पछि मनिषाले निर्देशक दिवाकर बनर्जीको ‘लस्ट स्टोरिज’, राजकुमार हिरानीको ‘सञ्जु’, संजय दत्तको अपोजिटमा ‘प्रस्थानम’, नेटफ्लिक्स फिल्म ‘मस्का’मा अभिनय गरिसकेकी छन् । उनको म्युजिकल रोमान्टिक फिल्म ‘९९ संग्स’ रिलिजको क्रममा छ ।

बलिउडमा चार ओटा फिल्म फेयर अवार्ड जितिसकेकी मनिषालाई तत्कालिन नेपाली राजाले ‘गोर्खा दक्षिणबाहु’ सम्मान दिएका थिए । सन् १९९९ बाट २०१५ सम्म युनाइटेड नेसन पपुलेसन फन्डको सद्भावना राजदुत रहेकी कोइराला महिला हिंशा, मानव बेचबिखन, क्यान्सर जागरुकता अभियन्ता पनि हुन्।

राजनीतिक पारिवारिक पृष्ठभुमि

मनिषा नेपालको राजनीतिक परिवारकी छोरी हुन् । उनका पिता प्रकाश कोइराला पुर्व-वातावरणमन्त्री थिए । मनिषाका हजुरबुवा विश्वेश्वर प्रसाद कोइराला पुर्व-प्रधानमन्त्री हुन् । उनका अन्य हजुरबुवाहरु मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला पनि नेपालका पुर्व-प्रधानमन्त्रीहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्