पुजना प्रधानसँग अन्तरंग | भन्छिन्, ‘हिरोसँग टक्कर लिन रुचाउँछु’

समाज परिवर्तन भइसकेको थिएन । हुने क्रममा थियो । हलिउडतिर बिकिनी सुट नगर्ने हिरोइन हुँदैनन् । हामीकहाँ त्यही गर्नु किन गलत हुन्छ ? भनेर मैले त्यसो गरेँ ।

फिल्म ‘हिरो’बाट रेखा थापासँगै फिल्म क्षेत्रमा आएकी हिरोइन हुन्, पूजना प्रधान । तर, पहिलो फिल्मबाटै तर्किएर पाँच वर्ष फिल्म लाइन छाडिन् । फेरि उनी फिल्म क्षेत्रमै आइन् । बिकिनीमा फोटो सुट गर्ने पहिलो नेपाली अभिनेत्रीका रूपमा उनको दोस्रो चरणको उपस्थिति गरम बन्यो । लामो समय फिल्ममा ‘हट’ दृश्य दिएर चर्चा कमाएकी उनी बीचमा अध्यात्मतर्फ मोडिइन् । यतिबेला भने उनी असहाय बालबालिकाकी संरक्षक बनेकी छिन् र फिल्म निर्माणतर्फ पनि लागेकी छिन् । उनले निर्माण र अभिनय गरेको नयाँ फिल्म ‘चकलेट’ मंसिर १८ गतेबाट प्रदर्शन हुँदै छ । उनीसँग डिबी खड्काअनिल यादवले गरेको अन्तरंग कुराकानी :
poojana pradhan
तपाईं त एकैपल्ट ‘वाइल्ड’बाट ‘माइल्ड’ हुनुभयो ?
होइन । म उस्तै छु जस्तो लाग्छ । आफूलाई ‘भर्सटायल’ कलाकारका रूपमा उभ्याउन चाहन्छु । स्क्रिप्टको आवश्यकताअनुसार भूमिका निर्वाह गर्न रुचाउँछु । स्क्रिप्ट चित्त बुझ्यो भने जस्तोसुकै भूमिका निर्वाह गर्न हिचकिचाउँदिनँ । किनकि, म कलाकार हुँ ।

‘ग्ल्यामरस’ हिरोइनको छवि छ । नयाँ फिल्म त सडक बालबालिकाको कथामा बनाइएछ ?
हो । ‘चकलेट’मा सडक बालबालिकाको पीडा छ, अवस्था छ । सडक बालबालिकाको भविष्यमाथि चिन्ता गरिएको छ । एउटा सडक बालकको जीवनलाई लिएर मैले फिल्म लेखेकी हुँ । धेरैले मलाई ग्ल्यामरस हिरोइनका रूपमा चिन्छन् । मैले फिल्म लेख्ने र निर्माण गर्ने कुरा बाहिर आएपछि ‘ग्ल्यामरस हिरोइनले लेखेको फिल्म उस्तै त होला नि’ भनेको पनि सुनियो । तर, ठीक विपरीत पाए । ग्ल्यामरस दृश्य त के शब्द पनि प्रयोग गरिएको छैन यसमा ।

‘चकलेट’मा तपाईंको भूमिका चाहिँ के छ ?
म फिल्मभित्र सडकमै हुर्केकी युवतीको भूमिकामा छु । सडक बालबालिकालाई हेरचाह गर्ने पात्रको रूपमा उभिएकी छु । एउटा हिरोइनलाई दर्शकले सधैँ राम्री देख्न चाहन्छन् । तर, म नराम्री केटीको भूमिकामा छु । मैले क्यारेक्टरलाई न्याय गर्न खोजेकी छु । यो भूमिका निर्वाह गर्नका लागि मैले आठ हप्ता कुनै किसिमको मेकअप गरिनँ । कपाल लट्टा पर्ने गरी छाडेँ ।

नेपालीहरूले हिरोइनलाई सारीचोलीमै मन पराउने समयमा तपाईंले बिकिनीमा फोटोसुट गरेर तहल्का मच्चाउनुभयो है !
‘साइबर संसार’ले फोटोसुट गर्ने भनेपछि मलाई केही नयाँ गराँै भन्ने लाग्यो । मलाई विदेशको जस्तो सागरको किनारमा बिकिनीमा तस्बिर खिच्ने रहर थियो । नेपालमा त सागर छैन, त्यसैले कुरिनटार रोजियो । सायद नेपालका हिरोइनमा पहिलोपल्ट मैले त्यसरी फोटोसुट गर्ने आँट गरेकी थिएँ । आफ्नै कन्सेप्ट भएर खुल्न समस्या भएन । मैले त्यसलाई ‘आर्ट’का रूपमा लिएकी थिएँ । म सधैँ केही फरक गर्न चाहन्छु । अब मैले त्यस्तै गर्नु नयाँ भएन । यसपल्ट मैले ‘चकलेट’मा सडककी युवतीको भूमिकामा गरेको अभिनयले पनि अवश्य चर्चा पाउनेछ । म सधैँ हिरोसँग टक्कर लिन रुचाउँछु ।

तर, जतिबेला तपाईंले ‘बिकिनी सुट’ गर्नुभयो । त्यतिबेला समाज त्यति उदार थिएन । कस्ता–कस्ता आलोचना खेप्नुप¥यो ?
समाज परिवर्तन भइसकेको थिएन । हुने क्रममा थियो । हलिउडतिर बिकिनी सुट नगर्ने हिरोइन हुँदैनन् । हामीकहाँ त्यही गर्नु किन गलत हुन्छ ? भनेर मैले त्यसो गरेँ । ग्ल्यामर नबुझ्नेहरूले त्यतिबेला मलाई गाली पनि गरे । ‘छाडा’, ‘लाज पचेकी’, ‘लुगा नपाकी’ आदि शब्द प्रयोग गरेर इमेल लेख्थे कतिले । धेरैले मलाई ‘त्यस्तै खालको केटी’ ठानेर म्यासेज गरे ।
तर, विदेशमा बस्ने नेपालीले प्रशंसा पनि गरे । पोर्चुगलमा अध्ययन गर्ने एकजना विद्यार्थीले त मलाई लामै इमेल लेखे, ‘तपाईंले ठीक गर्नुभयो । मलाई यहाँ कलेजका साथीहरूले नेपालमा त धोतीचोलो लाको मात्र मोडल हुन्छन् भन्दै जिस्काउँथे । मैले नेपाली फिल्म हेर्न सँगै लैजाँदा यस्तो प्रतिक्रिया दिएका थिए । तपाईंको तस्बिर अनलाइनमा भेटेपछि मैले प्रिन्ट गरेर केटाहरूलाई हामीकहाँ यस्ता हिरोइन छन् भनेर देखाइदिएँ ।’

नकरात्मक प्रतिक्रियाले तपाईंलाई निरुत्साहित बनाएन ?
म आफ्नो कामप्रति पूरै ‘कन्फिडेन्ट’ थिएँ र छु । मलाई यस्तो प्रतिक्रिया आउँछ भनेर पहिल्यै थाहा थियो । त्यसैले खासै निरुत्साहित भइएन । मलाई त ती कमेन्टले बलियो बनाए ।

फिल्म ‘रक्षा’मा तपाईंले दिएको बेडसिन अलि भद्दा नै देखियो !
हो । मैले त ‘क्यारेक्टर’ निर्वाह गरेकी थिएँ । तर, आलोचना पनि भयो । फिल्ममा खास त्यस्तो थिएन । सुटिङ गर्दाको भिडियो लिक गरेर अलि नराम्रो भयो । त्यो राम्रो नियतले सार्वजनिक गरिएको थिएन । तर, मलाई त्यस्तो दृश्य दिएँ भनेर पछुतो चाहिँ छैन । मैले आफैँले बनाएको मेरो छविसँग पनि कुनै पछुतो छैन । एउटा कलाकारले फिल्मका लागि चाहिएको कुरा दिन सक्नुपर्छ । जबर्जस्ती भने गरिनु हुन्न । यदि कथा मन प¥यो र हट दृश्य सान्दर्भिक देखियो भने फेरि पनि म त्यस्तो भूमिका गर्न सक्छु ।

हिरोइन बन्ने रहर कहिले पलाएको हो ?
म सानैदेखि नाच्न जान्दथेँ । तर, हिरोइन बन्छु भन्ने चाँहि सोच्दै नसोचेको कुरा थियो । म त्यस्तै १२ वर्षकी हुँदा मेरी आमा बिरामी हुनुभयो । त्यसपछि परिवारको जिम्मेवारी पनि मेरै थाप्लोमा आयो । १२ वर्षकै उमेरदेखि मैले ठमेलको ‘टप टेन फेमिली रेस्टुरेन्ट’मा डान्स गर्न थालँे । त्यही क्रममा मलाई छवि ओझा र श्याम खेतानले भेट्नुभयो । मेरो नृत्य हेरेर नै उहाँहरूले ‘हिरो’भन्ने फिल्ममा अवसर दिनुभएको थियो । त्यतिबेला म जम्मा १४ वर्षकी थिएँ । त्यो फिल्म चलेन । मलाई पनि कसैले ‘नोटिस’ गरेनन् । म सानै भएकाले म पनि निराश भइसकेकी थिएँ । के कुराले हर्ट ग¥यो थाहा छैन, तर फिल्म लाइन मेरा लागि होइन भन्ने महसुस गरेँ । त्यसपछि पाँच वर्ष फिल्म लाइनमा झुक्किएर पनि आइनँ । कसैले खोजेनन् पनि । एउटा मोडलिङ कम्पिटिसनमा भाग लिएँ, जितेँ । त्यसपछि फेशन शोतिर व्यस्त भएँ । यही समयमा तुलसी घिमिरे निर्देशित ‘दर्शन जिन्दगीको’ सिरियलमा पनि काम गरँे । त्यसपछि फेरि फिल्म लाइनतिर फर्किएँ ।
pujana finalत्यति सानो उमेरमा कसरी रेस्टुरेन्टमा नाच्न पुग्नुभयो ?
मलाई कसैले जबर्जस्ती त्यहाँ लगेको थिएन । आफैँले घरको जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आएको भएर काम खोज्ने क्रममा एकजना दाइमार्फत त्यहाँ पुगेकी थिएँ । सुरुमा त मेरो उमेर भन्नासाथ रेस्टुरेन्टका मालिकले मलाई ‘रिजेक्ट’ गरेका थिए । यति सानो बालिकालाई काममा राख्दा पुलिसले समात्छ भनेर उनले मानेका थिएनन् । पछि मैले रोई–कराई गरेपछि कसैले सोध्यो भने १८ वर्षकी भएँ भनेर ढाँट्ने शर्तमा काममा राखियो । मेकअप र ड्रेसअप पनि ठूली देखिने खालको गरिदिनुहुन्थ्यो । म अग्ली थिएँ, त्यही भएर मलाई कसैले सानी पनि देख्दैनथ्यो ।

आफूले सानैदेखि संघर्ष गर्नुपरेको भएर सडक बालबालिकाको कथामा फिल्म बनाउनुभएको हो ?
म सधैँ मैले बच्चामा भोगेको दुःख अरूले भोग्न नपरोस् भन्ने चाहन्छु । माग्नेले हात थाप्यो भने धेरथोर दिन मन लाग्छ । सडक बालबालिकाको अवस्थाले सधैँ मलाई छुन्थ्यो । त्यही भएर सोही विषयमा फिल्म बनाएँ । फिल्मबाट उठेको पैसाले ५० जना अनाथ बालबालिका, जसको सहारा पनि हामी भएका छौँ, उनीहरूका लागि बस्ने आवास, पढ्ने स्कुल बनाउन ‘चकलेट’ फिल्म बनाएकी हुँ । म विगत छ वर्षदेखि समाजसेवामा छु । मैले अहिलेसम्म जे कमाएँ, च्यारिटी गरेरै सकाएँ ।

सामाजिक उद्देश्य बोकेकै भरमा फिल्म त चल्दैन । मनोरञ्जन पनि चाहिन्छ । यो त लगानी झन् जोखिममा पार्नुभयो नि ?
मेरो फिल्म बनाउनलाई करिब ५० लाख खर्च भएको छ । यदि ५० लाखमा भवन बन्थ्यो भने म उहिले बनाइसक्थेँ  । मैले बनाउन लागेको विद्यालय र कम्पाउन्डसहितको त्यस्तो भवन निर्माण गर्न पाँच करोड लाग्छ । म कसैको ढोकामा पुगेर त्यसका लागि हात फैलाउन सक्दिनँ । त्यही भएर फिल्ममा लगानी गरेँ । मेरो उद्देश्य पूरा हुनलाई फिल्म हिट हुन जरुरी छ । नेपालमा सामान्य चल्यो भने पनि विदेशमा च्यारिटी गरेर भए पनि उठाउँछु । सामाजिक उद्देश्य बोकेकै भरमा फिल्म हेर्न आइदिनुस् भन्दिनँ । फिल्म सन्देशमूलक र मनोरञ्जनात्मक दुवै छ । हेर्नलायक फिल्म बनाएका छौँ ।

भवन चाहिँ कहाँ बनाउँदै हुनुहुन्छ ?
काठमाडौँमा सस्तो जग्गा खोजिरहेकी छु । अहिलेसम्म भेटेकी छैन ।

फिल्मको शतप्रतिशत लगानी नै भवन बनाउनलाई खर्चिने हो कि नाफामात्र ?
‘चकलेट’ फिल्ममा मसँगै अन्य दुईजना लगानीकर्ता पनि हुनुहुन्छ । उहाँहरूको भागमा पर्ने रकम दिएपछि बाँकी सबै रकम भवन निर्माणका लागि खर्चिन्छु ।

एकताका नामको पछाडि ‘स्त्री’ लेख्नुहुन्थ्यो । फेरि ‘प्रधान’ लेख्न थाल्नुभएछ !
हो । म अहिले पनि आश्रममा जाँदा ‘पूजना स्त्री’ नै लेख्छु । विदेश जानलाई दूतावासमा भिसा अप्लाई गर्दा वास्तविक नाम नै चाहिँदो रहेछ । एकजनाको तीनटा ‘सरनेम’ भनेर धेरै पल्ट बाझ्नुप¥यो । किनकि, आमा प्रधान र बाबा गुरुङ भएकाले मेरो नामा पूजना प्रधान गुरुङ छ । त्यसैले मैले फेरि प्रधान नै लेख्ने निर्णय गरेँ । म आज पनि पूजना स्त्री नै हुँ ।

तपाईं ‘रियल स्त्री’ चाहिँ कहिले बन्ने ?
बिहेको कुरा गर्नुभएको होला । यहाँ बिहे गरेका पनि धेरै दुःखी छन्, नगरेका पनि धेरै खुसी छन् । बिहे गर्नु नै पर्छ भन्ने छैन । तर, यसको अर्थ म बिहे गर्दिनँ भन्ने होइन । मलाई बुझ्ने केटो भेटेँ भने हुन सक्छ । त्यतिमात्र नभएर अब त म ५० जना बालबालिकाको ‘आमा’ हुँु । मलाई मात्र आँटेर हुँदैन । ती सबै बालबालिकालाई समेत स्विकार्ने केटो चाहिन्छ । त्यो त्यति सहज छैन ।
(साभार: शुक्रवार साप्ताहिक)