भूकम्प डायरी : वैशाख १२ देखि १५ सम्म

हाम्रो पीडा सुन्ने र राहत दिने निहुँमा कोही पनि हामीलाई गिज्याउन नआए हुन्छ । कसैले खान दिने होइन, लाउन दिने होइन । सबलाई बाँधेर पिट्नुपर्ने !’, उनले बोलेका यी शब्द अझै कानमा गुन्जिरहन्छ । राज्यको गैरजिम्मेवारीमाथिको आक्रोश थियो त्यो । जुन सुन्ने म भएँँ, मन अमिलियो ।

Anil Yadav-अनिल यादव
२०७२, वैशाख १२ गते, शनिवार
यो दिन हरेक नेपालीको मस्तिष्कमा नमिठो स्मृति भएर बसेको छ । यो समय मेरो लागि पनि चाहेर मस्तिष्कबाट ‘डिलिट’ गर्न नमिल्ने बन्यो । यो दिनसँग जोडिएका घटनाहरू भाइरसग्रस्त यस्तो फोल्डर बनेर बसेका छन्, जुन मैले मस्तिष्कको ‘हार्डडिस्क’ बाट कहिल्यै मेटाउन सक्ने छैन । त्यो दिन जोरपाटीस्थित नयाँबस्तीको आफ्नै कोठामा थिएँ । गोकर्णमा एक कार्यक्रममा जाने तयारी गर्दै थिएँ । झापाबाट श्रीमतीको फोन आयो । उनको हालखबर सोध्नै नपाई मेरो बेहाल भयो । बसिरहेको खाट एक्कासि हल्लियो । अर्धचेतमा कराएँँ, ‘भूकम्प आयो ।’ उता लाइनमा रहेकी श्रीमतीले कराएको सुनिछन्  । तर, म भने फोन त्यत्तिकै फ्याँकेर भाग्न खोजेँ । सकिनँ । कुर्सीको खुट्टा समातेर बसेँ । लाग्यो, ‘अब त पक्कै मरिन्छ, यही नै श्रीमतीसँग अन्तिमपल्ट कुरा गर्नु रैछ !’ अनिष्ट भएन । बाँचे म । बाहिर निस्किएँ, सारा मान्छेको हालत उस्तै थियो । हरेक मान्छे बेसहारा र चिन्ताग्रस्त थिए । मृत्युलाई पहिलोपल्ट यति नजिकबाट अनुभूति गरेँ । संसारमा मृत्युभन्दा भयानक केही नहुने रहेछ ।
siwir 2वैशाख १३ गते, आइतवार
ऐतिहासिक स्थल धरहरा भत्किएको समाचार निकै चाँडो फैलियो । देशभर धेरैको ज्यान गएको खबर पनि उत्तिकै फैलिरहेको थियो । यसले मेरो मन छियाछिया भयो । अघिल्लो दिन सुन्धारामै रहेको कार्यालयबाट फर्किंदा सग्लो देखेको त्यो ऐतिहासिक धरोहर ढलेको खबरलाई विश्वास गर्नै सकिनँ । भूकम्पका धक्का आइरहेका थिए तर पनि मनमा भत्किएको धरहरा नियाल्ने नमज्जाको उत्सुकता थियो ।
जताततै घर चर्किएका र भत्किएका देखिन्थे । सबै बाहिर थिए । यी दृश्यले मनमा त्रास थप बढ्दै थियो ।  घरबाट ममी र श्रीमती, मलेसियाबाट बुबाको फोन तारन्तार आइरहेका थिए । ‘जोगिएर बस्नू है’– सबैको यही सुझाव थियो । म धरहरा नियालेर फर्किएँ ।
धरहराका ती दृश्यले अहिले पनि भावुक बनाइरहन्छन् । धरहरामा एउटी आमाले आफ्नो अन्तिम सास रहुन्जेलसम्म पनि काखको बच्चालाई च्याप्न छोडेकी थिइनन् । उनी आफैँ च्यापिएकी थिइन्, तर बच्चा च्याप्न नछोड्ने ती आमाको ममताले कसको मन नछोला ? सँगै जिउने-मर्ने कसम खाएर भर्खरै जोडी बाँधिएको एकजोडी अँगालोमैँ बाँधिएर यो धर्ती छोडेको दृश्यले कसलाई नदुखाउला र ?

वैशाख १४ गते, सोमवार
भूकम्प आएको पाँचौँ दिनसम्म मैले सयजना भन्दा बढी पीडितलाई भेटेँ । काठमाडौँको टुँडिखेल, सैनिक मुख्यालय, सिंहदरबारदेखि जोरपाटीका खेतबारीसम्म ओत लागेर बसेका धेरैका कुरा सुनेँ । उनीहरूको कुरा सुन्दा लाग्थ्यो, ‘यो देशमा सरकार छैन । छ भने पनि सुतिरहेको छ ।’ टुँडिखेलमा सयौँ मानिस त्रिपाल टाँगेर दिनरात कटाइरहेका थिए । सोमवार म त्यहीँ पुगेँ । नुवाकोटका कान्छा राई बाहिर इँटाको चुल्हो बनाएर कुकरमा दाल बनाइरहेका थिए । उनी बसेको पालमा २० जना बस्दा रहेछन् । त्यो पनि जोडजाड गरेर बनाएका रहेछन् । भन्दै थिए, ‘जग्गा–जमिन सबै भुइँचालोले लगेछ । उठीबास भएका छौँ । सरकारले राहतको नाममा एउटा त्रिपालसम्म दिनसकेन ।’ त्यत्तिकैमा सोही स्थानबाट सिन्धुपाल्चोककी रुबी तामाङले आक्रोश पोखिन्, ‘हाम्रो घर ध्वस्त भयो । खान पा’को छैन । तपाईंहरू न्युज त लेख्नुहुन्छ तर खै कसले सुनेको छ र ? एउटा त्रिपालसम्म पाएका छैनौँ ।’ उनको कुराले मन चस्स घोच्यो ।
siwir 2वैशाख १५ गते, मंगलवार
आर्मी मुख्यालयमा ओत लागेर बसेकी वसन्तपुरकी सरस्वती महर्जनले गाली गरेको त कहिल्यै बिर्सन सक्दिनँ । हुन त उनले मलाई गाली गरिनन्, तर मलाई जस्तै लाग्यो । ‘हाम्रो पीडा सुन्ने र राहत दिने निहुँमा कोही पनि हामीलाई गिज्याउन नआए हुन्छ । कसैले खान दिने होइन, लाउन दिने होइन । सबलाई बाँधेर पिट्नुपर्ने !’, उनले बोलेका यी शब्द अझै कानमा गुन्जिरहन्छ । राज्यको गैरजिम्मेवारीमाथिको आक्रोश थियो त्यो ।  जुन सुन्ने म भएँँ, मन अमिलियो । उनको कुरा सही हो, तर के गर्नु ? हाम्रो पेशा नै पीडा खोतल्ने भएपछि ।

महाभूकम्पले कसलाई पिरोलेको छैन । दोलखाका ज्योति जीसीका दुवै घर भत्किएछन् । उनले यति समाचार पाए । चार दिनसम्म परिवारको हालत थाहा पाएका छैनन् ।  घर जानलाई गाडी नपाएको र परिवारको हालत थाहा नपाएको भन्दा ठूलो पीर अरू के हुन सक्छ ?
(साभार : शुक्रवार साप्ताहिक)