‘भेजिटेरियन’ दिपाश्री निरौलाको त्यो ‘नन–भेज’ दसैँ

मावलमा मलाई टीका लगाएर ५ रुपैयाँ दिनुहुन्थ्यो । पैसा थोरै भयो भनेर म रिसले फालिदिन्थेँ । म त एकदम जिद्दी स्वाभावकी थिएँ । भनेको कुरा चाहियो भनेपछि चाहियो चाहियो !

हास्यअभिनेत्री दिपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘६क्का पञ्जा–२’ असोज–११ गतेबाट देशव्यापी प्रर्दशनमा आउँदैछ। कमेडी जान्रामा बनेको यो फिल्म दसैँको अवसर पारेर रिलिजमा आएको हो। आफ्नो फिल्म दसँैमा रिलिज हुँदै गर्दा दिपाले आफ्नो बाल्यकालको दसैँलाई यसरी सम्झिइन्:

दसैँ आउँदा मलाई साह्रै खुसी लाग्थ्यो । घरमा बुबालाई खसी किन्न जाऊँ भनेर ढिपी गर्थें किनभने त्यो बेला खसी काट्ने भनेकै दसँैमा भन्ने हुन्थ्यो । अरु बेला खासै काटिदैनथ्यो । त्यो बेलाको दसैमा मासुभात खाने सोख हुन्थ्यो । अहिले पो भेजिटेरियन भएँ र मतलब लाग्दैन ! भेजिटेरियन भएको अहिले २० वर्ष भयो । हत्या हिंसा गर्नुहुँदैन भन्ने मानसिकताले छोडेको हुँ । त्योभन्दा पहिला त खसी काट्ने भने’सी हुरुक्कै हुन्थेँ म । दसैँ आउँदा म किन खुसी हुन्थेँ भने नयाँ लुगा लगाउन पाइन्छ । नयाँ लुगा किन्न आमालाई बुबालाई करकर गरिरहन्थेँ । लुगा किनेर ल्याएको दिनदेखि हाम्रो घरमा जो जो आउँथ्यो, उसलाई दराजबाट लुगा निकालेर देखाइहाल्थेँ । कहिले टीकाको दिन आउला र लगाएर अरुलाई देखाउँजस्तो हुन्थ्यो । आमालाई बाटोमा हिँड्दा जुन कुरा राम्रो लाग्थ्यो, त्यो किन्न लगाइहाल्थेँ । बजारमा ब्याग राम्रो लागे ब्याग किन्दिनू भन्थेँ, लुगा राम्रो लागे लुगा किन्दिनू भन्थेँ । आमाबुबालाई यो किन्दिनू, त्यो किन्दिनू भनेर हैरान पार्थें ।

एउटा दसैँमा मलाई र बैनीलाई एउटै खाले लुगा किनिदिनुभएको थियो । दिदीबैनी त्यही उस्तै लुगा लगाएर मावल चक्रघटी गएका थियौँ । मेरो मामाघर सुनसरीको राजाबास चक्रघटी हो । मावल गएको बेला नजिकै पिङ हालेको रहेछ । म त्यो पिङ खेल्न बेलुकातिर गएका थियौँ । पिङ खेल्दाखेल्दै लडेर हिलोमा पछारिएँ । हिलोमा पछारिएपछि मेरो लुगा हिलैहिलो भयो । अनि लुगा हिलो भएपछि राति सुतेको बेला मैले बैनीको लुगा लुकाएँ । उस्तै भएको लुगा भएर होला बैनी र मेरो झगडा परेको याद खुब आउँछ ।

मावलमा मलाई टीका लगाएर ५ रुपैयाँ दिनुहुन्थ्यो । पैसा थोरै भयो भनेर म रिसले फालिदिन्थेँ । आमा र मामा लागेर मलाई फकाउनुहुन्थ्यो । म त फकिदैफकिन्न थेँ । मामाहरुले साइँली भान्जी रिसाइन भनेर थपेर दिनुहुन्थ्यो । म त एकदम जिद्दी स्वाभावकी थिएँ । भनेको कुरा चाहियो भनेपछि चाहियो चाहियो !

दसैँ आएको भनेकै पैसा कमाउनका लागि भन्ने लाथ्यो । अरु बेला पैसा पाइँदैनथ्यो दसैँका बेला मात्र पैसा खेलाउन पाइन्थ्यो । दसैँमा टीका लगाएर पाएको पैसा जम्मा गरेर राख्थेँ र फिल्म हेर्न जान्थेँ , लुगा किन्न जान्थेँ । लुगा किन्न पैसाले पुगेन भने आमालाई मागेर भए पनि लुगा किनेरै छाड्थेँ । घरमा बुबाआमाले टीका लगाइदिँदा धेरै दक्षिणा दिनुहुँदैनथ्यो । छोरी फुर्मासी छे भनेर ५/१० रुपैयाँ मात्रै दिनुहुन्थ्यो ।
दसैँ भनेको ठूला मान्छेको हातबाट आशीर्वाद लिन पाइन्छ भन्ने नै लाग्दैनथ्यो । यो त अलि पछि बाबुआमा, आफन्तको महत्व बुझ्दै गएपछि महसुस हुन थाल्यो । हुन त आफन्त र बूढाबूढीको अरु बेला पनि आशीर्वाद पाइन्छ तर दसँैको आशीष भनेको दसैँकै हो ।
प्रस्तुति : भोला अधिकारी (शुक्रबार साप्ताहिकबाट साभार)