ढलेको धरहरामा चार घण्टा

लाश झिकिरहेका थियौँ । त्यसमध्ये केहीलाई मात्र जीवित फेला पार्न सकियो । एउटा लासै जस्तो लाग्थ्यो । इँटामुनिबाट सलल तान्यौँ । बाहिर निकाल्दा उसले ‘अनएक्सपेक्टेडली’ हात हल्लायो । स्ट्रेचरमा राख्दा जुरुक्क टाउको उठाएर अभिवादन गर्यो । हामीले ताली बजाएर खुसी मनायौँ ।

–अम्मर जिसी
शनिवार मध्याह्न सुन्धारास्थित कार्यकक्षमा दाइ विनोदविक्रम केसीसँग गफ मारिरहेका बेला ७ दशमलव ६ रेक्टर स्केलको झट्का लाग्यो । सुरुमा त रिंगटा लागेको अनुभूत भयो । तर, दाइले ‘भुइँचालो’ भनेर जुरुक्क उठेपछि म पनि अत्तालिएँ । पिङ खेलाएजस्तो घुमाउन लागेपछि हामीले कम्युटर टेबुलमुनि टाउको लुकायौँ । कस्तो–कस्तो, डरलाग्दो आवाजसहित घुमाइरह्यो ।

जसोतसो बाहिर निस्कियौँ ।सबै रोइकराइ मात्र गरिरहेका छन् । कोही बेहोस छन् । कोही चोट लागेर रगताम्मे छन् । कोही अँगालो मारेर घ्वाँघ्वाँ रोइरहेका छन् । वरिपरि पहाडजस्ता भव्य भवन ठडिएकाले सुरक्षित रहन अलि पर सडकमै पुग्नुपर्ने थियो । हामी कुद्यौँ । बाटैमा रहेको सीटीसी मल नाचिरहेको जस्तो लाग्दै छ । इँटा खसिरहेको देखिन्छ । सबै त्रस्त छन् ।
Dhaleko dharara maa‘दाइ धरहरा छैन,’ अहिलेसम्म थाम्न सकेको मन खलल्ल वर्षिन थाल्यो । धुलोको मुस्लो मात्र उडिरहेछ त्यो धरहरा भएतिरबाट । कस्तो, कहालीलाग्दोे दृश्य । अलि नजिक पुग्दा धुवाँकै मुस्लोबीच चिच्याहट सुनिन्छ । शनिवारको दिन धरहरा चढ्नेले लामै पालो कुर्नुपथ्र्यो । त्यत्रा मान्छे कहाँ गए होलान् ? धरहराका कर्मचारी सबै टाप कसिसकेका थिए । उद्धारकर्ताको आवश्यकता थियो । धेरै रमिते मात्र थिए । जसले कछुवा गतिमा भइरहेको उद्धार कार्यमा झन् समस्या निम्त्याइरहेको थियो । त्यहाँ जम्मा भएका सबै रमिते भित्र गएर उद्धारमा जुट्थे भने धेरैलाई मृत्युको मुखबाट खोस्न सकिन्थ्यो । म पत्रकार होइन भनेर भित्र पसेँ । कारण, त्यहाँका असिनपसिन उद्धारकर्ता तन्नेरीहरू फेसबुक तथा अन्य मिडियाका ‘पत्रकार’देखि आक्रोशित थिए । सबै उद्धारमा जुटून् भन्ने अपेक्षा थियो उनीहरूको । त्यत्रा मान्छेको भीडमा मनकारी र सहयोगी मान्छे औँलामै गन्न सकिन्थ्यो ।

धुलोले चिन्न नसक्ने भइसकेका उद्धारकर्ता पानी प्यासले प्याकप्याक थिए । सुरुमा म उनीहरूको घाँटी भिजाउने सोचमा रहेँ । पारिपट्टी होटलमा पानीका बोतल छरपस्ट थिए । चारवटा बोतल काखी च्यापेर आएँ । उद्धार गरिएका घाइते भेटिए बीचमा । पानी, पानी भनेको सुनेँ मैले । पानी पियाउन खोजेँ । केहीले गाली गरे, ‘यस्तो बेला पानी खुवाउने ?’ टाउकोमा छरिदेऊ भन्यो कसैले । त्यसै गरेँ । बचेको पानी भित्र लगेर केहीलाई पियाउन पाएँ । उनीहरू लामो सास फेर्दै पानी घुट्क्याउन थाले । त्यसैक्रममा पानीका केही पेटी कसैले ल्यायो । ‘स्ट्रेचर, स्ट्रेचर’ भन्दै कराइरहेका थिए उद्धारकर्ता । कहाँबाट ल्याउनु स्ट्रेचर ? प्रहरीको भ्यान आयो । त्यसकै पछाडिको लामो सिट उठाएँ मैले । एक प्रहरी कराउँदै थिए । वास्ता गरिएन ।
dharara 2अब हातैले खनीखोस्री पनि गर्नुपर्ने भयो । सामग्रीविहीन थियौँ हामी । दुईचारजना प्रहरी दुईचारवटा पिक, साबेलका भरमा थिए । त्यसैबेला आर्मीको एउटा जत्था आउँछ । खाली हात । उनीहरू पनि हामीजस्तै हातैले खनीखोस्री गर्न कस्सिन्छन् । लाश झिकिरहेका थियौँ । त्यसमध्ये केहीलाई मात्र जीवित फेला पार्न सकियो । एउटा लासै जस्तो लाग्थ्यो । इँटामुनिबाट सलल तान्यौँ । बाहिर निकाल्दा उसले ‘अनएक्सपेक्टेडली’ हात हल्लायो । स्ट्रेचरमा राख्दा जुरुक्क टाउको उठाएर अभिवादन गर्यो । हामीले ताली बजाएर खुसी मनायौँ ।

पछाडि पट्टि धेरै मान्छे पुरिएका रहेछन् । उनीहरूको खोजतलासमा लागियो । एकजना टाउको हल्लाइरहेका भेटिए । उनको सबै अंग च्यापिएका थिए । गुहार भनेका होलान्, टाउको मात्र हल्लाउन सकेका । धेरै प्रयत्न गरियो उनलाई बचाउने । केही बेरमै उनको हेर्दाहेर्दै प्राण गयो । यो दृश्यले मलाई एकदम घोच्यो । काम गर्ने जाँगर मरेर गयो । धुलाम्मे कपडामा लतपतिएको रगतले पनि मन खिन्न बनाएको होला । धेरै लाश झिकिए । अब त जीवित भेट्न सकिने आश लगभग सकिएको थियो । बाहिरको खन्ने काम सकेर एउटा डोजर तीन बजेतिर वाल भत्काएर भित्र पस्यो । डोरीले तान्ने, धकेल्ने, पन्छ्याउने, खोतल्ने हाम्रो कामभन्दा डोजरले चाँडो भयो । अहिलेसम्म नदुखेको शरीर दुखेजस्तो ‘फिल’ भयो । हातमा ठेला उठे । अनि मन भारी भयो । त्यसपछि म बाहिरिएँ । हातमुख धुन भनेर कार्यालय छिरेको के थिएँ, नागरिककर्मी दाइहरूले मेरो हालत देखेर ‘कतै परेछ’ क्यारे सोच्नुभयो । उद्धार गरेर फर्केको सुनेपछि केही लेख्न भन्नुभयो । मन नहुँदानहुँदै केही लेखेर कोठातिर हानिएँ । अस्थिर मन लिएर ।

साँझ कोठामा छिर्न पाइएन । सबै जना बाहिरै थिए । म मात्र के जिद्दीजस्तो भित्र पस्नु ! फेरि दिनभरको धुलो र रगत कटकटिएको कपडा, गन्हाएको शरीर लिएर कसरी बस्न सक्नु ? हतारमा बाथरुम छिरेँ । साँझमा बिहानको बासी खान खाइवरी फेरि झरियो करेसाबारीतिर । सुत्ने ठाउँ नभएर रातको दुई बजेसम्म मुढामै कटाएँ । दिनभरिको तनावले शिथिल शरीर झन् कस्तो–कस्तो भयो ? सम्झनै मन छैन । पानी पर्न थालेपछि भित्र पसे सबै जना । केही घण्टा सुतियो । फेरि पाँच बजेतिर ठूलै झट्काले टेन्सन गराइहाल्यो । फेरि विस्थापित !
दिनभरि साइकलमा घुम्ने निर्णय साथ अफिसतिर लागेँ । सबैतिर धराप थापेजस्तो । घरहरू चर्केका । भत्केका । वीर अस्पतालमा लाशैलाशमात्र । दिउँसै अन्धकार भयो मलाई । आकाशमा सूर्य झलमल्ल छ । तर, लाशको थुप्रोले मलाई अँध्यारो महसुस गराइरहेछ ।
dharara०००
सबैतिर टेन्सन मात्रै छ । माछापोखरीमा सामना गर्नुपरेको एउटा दृश्यले मन कटक्क खायो । भित्रैदेखि लखतरान हुनेगरी थाकेँ । ध्वस्त भएको ठूलो घरमा खोजतलास चल्दै थियो । महिलाका सकुशल जस्ता लाग्ने खुट्टा मात्र बाहिर देखिए । खोतल्दै जाँदा आमाछोरा अँगालो मारेको अवस्थामा भेटिए । कस्तो रुन मन लाग्यो, विचरा आमाले अन्दाजी ३० वर्षको छोरो मुटुमा टाँसेरै बिदा भइन् । त्यही चोकमा अर्को दुःखद् अवस्था थियो । भित्रबाट गुहार मागेर फोन आइरहेको सुनियो । उद्धार सुरु भएकै थिएन । सडक छेउछाउमा यस्ता धेरै दृश्यले मनलाई वशमै रहन दिएनन् ।
माछापोखरी छेउमै सहकर्मी जीवन पुडासैनीको बसाइ थियो । उहाँलाई भेट्न गएँ । पालमुनि शरणार्थी हुनुहुन्थ्यो उहाँ र उहाँको परिवार । घर भत्केर ढल्न मात्र बाँकी थियो । कोठामा पस्ने अवस्थै थिएन । नुवाकोटस्थित घर भत्केको खबरले पनि उहाँहरूलाई बेचैन बनाइरहेको थियो । पहिलो कम्पन भएको करिब २५ घण्टापछि ठूलो झट्का दियो भूकम्पले । शिविरमा कोलाहल मच्चिन्छ । सबै रोइकराइ गरिरहेका थिए । अब के हुने ? झन् त्रास थपियो । एकछिन पछि साम्य भयो । साइकल चढेर बाटो लागेँ । शिविरहरू चहार्दा जहाँ पनि अभावै अभाव थियो । राजधानी राजधानी नभएर कुनै विकट गाउँको भोकमरी लागेको बस्तीजस्तो थियो । बाटैभरि धेरै दर्दनाक दृश्यसँग जम्काभेट भयो । गोंगबु, बाफल, कलंकी, टेकुलगायत क्षेत्रमा पनि ठूला दुर्घटना भएछन् । सबैतिर निराशा मात्र छ ।

‘विचरा म’
दिनभरिको तनावले थाकेको हुन्थेँ म । कहाँ खाने ? कहाँ सुत्ने ? टुंगो थिएन । कोठा अगाडि सानो खाली ठाउँ छ । जहाँ वरपरका धेरै जम्मा हुन्छन् । त्रिपालमा ओत लाग्न पाउने सम्भावना कम छ । सानो स्पेसमा चोक्किएको मलाई एउटी महिलाले करकर गरेर धपाउँछिन्, ‘हाम्रा छोराछोरी सुत्न परेन !’ चुपचाप म मुढामा विस्थापित भएँ । राती पानी पर्छ । पानी चुहिरहेकै ठाउँमा सुतेको हुन्छु म । के गर्न सक्छु र ? यसैबेला मेरा मामाको परिवार नै काठमाडौँ बाहिर । मेरा आफन्त भनेका सँगै फ्ल्याटमा बस्ने अंकल–आन्टीमात्र । कहिलेकाहीँ त नियास्रो पनि लाग्ने भन्या !
कोठामा टेन्सन हुन लागेपछि अफिसमै बस्ने सोचेँ । आर्मी अफिसर्स क्लबमा अस्थायी रूपमा स्थापित अफिसमा पनि समस्या नभएका त होइनन् । तर, केही कम थिए । अफिसको पहिलो रात त जाडोले थुरथुर गर्दै हात काखी च्यापेर सुतेँ । दिउँसोको गर्मीले ज्याकेट नलाएको मलाई रातको चिसोले के छोड्थ्यो ? बिहान उज्यालो भएपछि कसैले कम्बल ल्याएर छेउमा फ्यात्त फाल्छ । मर्ने बेला हरियो काँक्रो ! एकछिन खाइयो त्यही काँक्रो । यहाँबाट इमाडोलस्थित प्रेसमा विस्थापित हुँदा भने केही घण्टा सुत्न पाइयो आनन्दले । तर, कामको तनावले निन्द्रै परेन ।
जहाँ पनि तनावै बेहोर्नुपर्ने विचरा म ! घरमा चिन्तित भएका परिवारलाई यस्तो सुनाएपछि झन् टेन्सन हुने । त्यसैले ठीक छु मात्र भन्न सकेँ । चिसोले खोकी लागेकोबाट शंका त गरे होलान् । तर, गर्न के नै सकिन्छ र ? निरीह प्राणी भएपछि । कसैसँग लडेर, खोसेर जिउन सक्दिनँ म । विचरा मलाई भूकम्पले चाहिँ दया गरेकै हुनुपर्छ । केही गर्न सकेन । खुशी छु । सकुशल रहन पाएकोमा ।
साभार: शुक्रवार साप्ताहिक