फरक/रोचक : ‘कानै नछेडी मुन्द्रे हिट’

गाउँमा एसएलसी पास गरेकालाई धेरै पढेको मान्थे । ‘ए कान्छा तैँले पनि एसएलसी पास गरिस् है, तँ मान्छे बनिस्’ भन्थे ।

हास्यकलाकार जितु नेपाल नेपाली दर्शकमाझ ‘मुन्द्रे’ नामले परिचित छन् । टेलिसिरियल ‘जिरेखुर्सानी’को यो चरित्रबाट चर्चा कमाएका उनी यतिबेला फिल्ममा फरक–फरक भूमिकामा देखिन थालेका छन् । उनले फिल्म ‘६ एकान ६’ मा वकिलको भूमिका निर्वाह गरेका थिए । गत वर्ष रिलिज भएको फिल्म ‘वडा नम्बर ६’ मा उनले दलित पात्र ‘बिर्खे’ बनेर दर्शकको मन जिते । उनले अनिल यादवरामकुमार डिसीलाई आफ्नो अभिनय यात्राका केही रोचक अनुभव सुनाएका छन् :

महँगो उपहार मुन्द्रा
मेरो अभिनय यात्रामा मैले फ्यानबाट पाएको सबैभन्दा महँगो उपहार नै मुन्द्रा हो । केही वर्षअघि म कार्यक्रमका लागि अमेरिका पुगेको थिएँ । त्यहाँ एकजना भानु फुयाँल दाइ हुनुहुन्थ्यो । म बाहिर हिँड्दा मुन्द्रा लगाउँदिन थिएँ । उहाँलाई चित्त बुझेन छ । त्यही भएर ‘मुन्द्रे भएर मुन्द्रै नलगाएर हिँड्ने ? सुनको पाए त लागाउनुहुन्छ होला नि ?’ भन्दै आधा–आधा तोलाको मुन्द्रा दुवैतिरको कानमा लगाइदिनुभयो ।
jitu nepalकानै नछेडी मुन्द्रे हिट
जिरेखुर्सानीमा ‘मुन्द्रे’ बनेको पाँच वर्षसम्म पनि मैले कान छेडेको थिइनँ । कानमा च्यापेर मुन्द्रा लगाउँथेँ । सुटिङ सकिनेबित्तिकै खोलेर राख्थेँ । साह्रै दुख्थ्यो । पछि हङकङमा मलाई शोका लागि बोलाइयो । त्यहाँ ‘मुन्द्रे’ साह्रै हिट रहेछ । दर्शकहरूले ‘मुन्द्रे’ अलि रफ टाइपको होला भनेर सोचेका रै’छन् । त्यहाँ आयोजकले मेरा लागि ‘मुन्द्रा’ उपहार ठीक पारेका रहेछन् । मैले कान नै छेडेको छैन भन्ने थाहा पाएपछि एकजना फ्यान चकित भए । तत्कालै लगेर कान छेडिदिए ।

भावुक छु
दर्शकले मलाई पर्दामा देख्दा फटाहा चरित्रका रूपमा पाए । त्यसैले बाहिर भेट्दा पनि ‘ओए मुन्द्रे’ भन्दै धाप मार्छन् । अधिकांशले पर्दामा जे देखिन्छ बाहिर पनि त्यस्तै छ भन्ने सोच्दा रैछन् । तर, वास्तवमा म निकै भावुक छु, गम्भीर छु । अरूको पीडा देख्नै सक्दिनँ । आफन्त र नजिकका इष्टमित्र बितेर पशुपतिमा मलामी जाँदा म प्रायः रोएरै फर्केको हुन्छु । अरू मान्छे रोइरहेको देख्नै सक्दिनँ । विदेशबाट कफिनमा लाश आएको देख्दा असाध्यै मन पिरोलिन्छ । हालसालै म यूएई बाट आइरा’थेँ । एयरपोर्टमा एकजनाले विदेशबाट कफिनमा आएको आफन्तको लाश बोकेर ल्याएको देखेँ । त्यो देखेर म त्यहीँ रोएँ । ‘मान्छेको यो कस्तो जिन्दगी होला ?’ मनमा कुरा खेलिरह्यो । असाध्यै पीडा भयो ।

घरको ‘कुक’
म घरको राम्रो कुक हुँ । खाना पकाउन असाध्यै जाँगर चल्छ । मैले पकाएको मासु परिवारले साह्रै मन पराउँछ । छोराछोरीले ‘मासु त बाबाले पकाए पर्फेक्ट हुन्छ’ भन्छन् ।

रुन ग्लिसरिन चाहिँदैन
अलि भावुक भएकाले पनि होला मलाई रिलमा रुन ग्लिसरिन चाहिँदैन । हाल छायांकन भइरहेको फिल्म ‘६क्का ५ञ्जा’मा दीपकराज गिरी र मबीच मनमुटाव भएको अवस्थामा एउटा कारुणिक दृश्य छ । त्यो दृश्यका लागि मैले रुनुपर्ने थियो । साथीहरूले रुनलाई ‘ग्लिसरिन हालौँ’ भने । मैले ‘चाहिँदैन’ भनेँ । ग्लिसरिनविनै मैले साँच्चीकै रोइदिएँ । त्यो दृश्य देखेर निर्देशक दीपाश्री निरौला स्वयं रुनुभयो । ‘वडा नम्बर ६’ मा पनि म रोएको सिन थियो, जसलाई दर्शकले औधी मन पराएका थिए ।

लज्जालु म
निकै लज्जालु छु । अहिले पनि युवती फ्यान नजिकै आएर अँगालो मार्न खोज्दा अप्ठेरो लाग्छ । धेरैजसो फ्यानले सेल्फी लिन आग्रह गर्छन् । म सहजै स्वीकार गर्छु । सेल्फी लिने बहानामा कोही–कोही युवती एक्कासि अँगालो हाल्न आउँछन् । त्यतिबेला निकै लाज लाग्छ । ठाडै मलाई कसैले प्रेम प्रस्ताव गरेको छैन् । तर, फेसबुकमार्फत ‘आई लभ यू’ भनेर म्यासेज लेख्ने धेरै छन् । ‘तपाईंसँग हामी नजिकिन र गफ गर्न पनि नपाउनु ?’ भन्ने धेरै थिए । म ‘हुन्छ’ भन्दिन्थेँ । पछि जीवनसाथी नै बन्न खोजेपछि पन्छिन्थेँ ।
jituu

सिक्किमका प्रहरी फ्यान
सिक्किममा मेरो एकजना सुनज नामका अनौठा प्रहरी फ्यान हुनुहुन्छ । ‘लहना’ भन्ने फिल्मको सुटिङताकाको कुरा हो । सिक्किम पुग्दा उहाँले मलाई घरमा बोलाउनु भयो । घरमा जाँदा उहाँले आफ्नो फोटोसँगै मेरो पनि ठूलो फोटो बनाएर राख्नुभएको देखे । मेरो त्यत्रो फोटो मैले मेरै घरमा बनाएको छैन । त्यो देखेर म छक्क परेँ  । साह्रै खुशी लाग्यो ।

‘एसएलसी पास’ थेगो
‘जिरेखुर्सानी’मा मेरो ‘एसएलसी पास’ भन्ने थेगो हिट भयो । त्यो थेगोले गर्दा मलाई कतिपयले एसएलसीसम्म पनि पास गरेको छैन कि भन्थे ? कतिपयले पास भए पनि थर्ड डिभिजन होला भन्थे । वास्तवमा म एसएलसीमा सेकेन्ड डिभिजनमा पास भएको हुँ । र, प्राइभेटबाट आईए पास गरेको छु । मैले सिन्धुपाल्चोकको जाल्पा माध्यमिक विद्यालयबाट एसएसली दिएको हुँ । त्यो स्कुलबाट एसएलसीमा विद्यार्थी पासै हुँदैन थिए । पास हुनेको संख्या कहिले एक/दुई जना त कहिले त निल हुन्थ्यो । भाग्यवश, मेरो पालामा चार जना पास भयौँ । म पढाइमा पनि एकदम कमजोर । हाइट पनि कम थियो । गाउँमा कसैले पत्याउँदैन थिए । मेरो बुबालाई गाउँमा जेठा लाहुरे भन्थे । मैले एसएलसी पास गरेपछि गाउँमा सबै चकित भए । ‘जेठा लाहुरेको छोराले पनि एसएसली पास गर्यो है’ भन्थे । गाउँमा एसएलसी पास गरेकालाई धेरै पढेको मान्थे । ‘ए कान्छा तैँले पनि एसएलसी पास गरिस् है, तँ मान्छे बनिस्’ भन्थे । आफूलाई पनि एसएलसी पास गरेको मान्छे हुँ भनेर उधुम लाग्थ्यो । त्यही भएर मैले सिरियलमा ‘एसएसली पास’ थेगो नै राखेँ । पछि हिटै पो भयो ।

प्रचण्डले तारिफ गरे
सानो पर्दामा धेरै वर्षसम्म ‘मुन्द्रे’ बनेर एउटा फटाहाको भूमिका गरेको मैलै ठूलो पर्दामा एउटा पीडित, हेपिएको दलितको भूमिका गरेँ । फिल्म ‘वडा नम्बर ६’ मा मैले ‘बिर्खे’ बनेर दलितको भूमिका निर्वाह गरेँ । यसलाई धेरैले मन पनि पराइदिनुभयो । सधैँ हसाउने मान्छे, यो भूमिकाबाट धेरैलाई रुवाएँ । भूमिका निकै यादगर बन्यो । यही फल्म हेरेर कमरेड प्रचण्डले ‘वास्तविक रोल त तपाईंले पो गर्नुभएको रैछ, दलित उत्पीडितको पक्षमा एग्रेसिभ भूमिका गर्नुभएछ’ भन्दै धन्यवादसम्म दिए । त्यो तारिफ सम्झनलायक थियो ।
(साभार : शुक्रवार साप्ताहिक)