‘फस्ट गलफ्रेन्डको यादले कहिलेकाहीँ टिङ्ग हान्छ’

बाँच्नका लागि मैले हार्डवेयर पसलमा काम गरेँ । मेरो तौलभन्दा बढी तौलको भारी पनि उचालेँ । कालीमाटीको तरकारी बजारमा पत्रिका ओछ्याएर सुतेको पनि छु । वीर हस्पिटल अगाडि पनि सुतेको छु । कसैको अफिसमा गएर झाडु लगाएका दिन पनि छन् ।

नेपाली रंगमञ्चको परिचित नाम हो– अंकित खड्का । ‘जार’, ‘माथा पञ्चर’, ‘वैतर्णी क्याफे’, ‘यूमा’ लगायत नाटकमा अभिनय गरेर दर्शकको प्रशंसा बटुलेका उनी पछिल्लो समय फिल्मतर्फ अग्रसर छन् । ‘घामपानी’ उनको पहिलो फिल्म हो । दोस्रो फिल्म ‘हुर्रे’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । ‘डमरुको डण्डिबियो’ र ‘चंगा’ प्रदर्शनको तयारीमा छन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

कतिको व्यस्त हो अचेल ?
खासै छैन । अलिअलि हो ।

नाटकबाट सुरु भएको तपाईंको यात्रा अहिले फिल्मतिर दौडिदै छ । कस्तो लागिरहेछ ? 
रंगमञ्च होस् या फिल्म सबैतिरको यात्रा उति नै गाह्रो र कष्टकर नै हुन्छ । जति सहज हुन्छ भन्ने लागेको हुन्छ, त्यति हुँदैन ।

गाह्रो कसरी हुन्छ त ?
कुनै कुरा पाउनलाई खुला आँखाले जसरी सपना देख्छौँ, त्यो पुरा गर्न साँच्चिकै गाह्रो हुन्छ । चाहे त्यो आर्थिक हिसाबले होस् या काम, सम्बन्ध हरेक हिसाबले गाह्रो हुन्छ ।

अहिले पनि संघर्षकै चरणमै हुनुहुन्छ तर यही चरणसम्म आइपुग्न पनि ठूलै मिहिनेत गर्नुपरेको जस्तो कुरा गर्नुभयो नि, हो ?
यो क्षेत्रमा आउन प्रयास गरेको ०६१/०६२ सालदेखि हो । त्यतिबेला मलाई रंगमञ्च÷नाटक भन्ने केही पनि थाहा थिएन । गाउँ (सिन्धुपाल्चोक)मा कक्षा ८ मा पढिरहेका बेला ‘अब त अति भो’ भन्ने सिरियलका लागि अडिसन खुल्यो भन्ने सुनेँ । एक्टिङ सिकाउने अनि सिरियलमा अवसर दिने भन्ने थाहा पाएपछि आमासँग २ सय ५० रुपैयाँ मागेर काठमाडौं आएँ । मैले जति सजिलो सोचेको थिएँ, त्यति थिएन । आफन्तहरु भएकाले काठमाडौंमा आएर बस्न त समस्या भएन । तैपनि म धनी परिवारमा पर्दिन थिएँ । काठमाडौंमा दिदी हुनुहुन्थ्यो । त्यतिबेला मैले उहाँको झुम्का बन्धकी राखेर एक्टिङ सिकेको थिएँ । तीन महिनाको कोर्सको पाँच हजार तिर्नुपर्ने थियो । झुम्काको पाँच हजार पनि आएन । २५ सय मात्र तिरेको थिएँ । १५ दिनपछि फेरि आधा पैसा मागियो । मसँग तिर्ने अवस्था भएन । क्लास त्यत्तिमै छाड्नुप¥यो ।

सिरियलमा चान्स पाइन्छ भनेर त आउनुभयो तर पाउनुभयो ?
पाइएन नि ! किन पाइएन त्यो पनि थाहा छैन । सायद मैले एक्टिङ कोर्स पूरा गरिनँ, त्यसैले पाइनँ होला ।

पहिलोपल्ट नाटक र फिल्म खेल्ने अवसर कसरी मिल्यो त ?

मैले नाटक खेल्न थालेको ४ वर्षमात्र भयो । एकजना आर्जेस भन्ने साथी हुनुहुन्छ । उहाँले धेरै पहिल्यैदेखि थिएटर आइज भनेर बोलाउनुहुन्थ्यो । म मतलब गर्दिन थिएँ । मण्डला थिएटरसम्म साथीका कारण आइपुगेँ । त्यसपछि सिक्न मन लाग्यो । सुनिल (पोखरेल) सरसँग कक्षा ज्वाइन गरेँ । मलाई खासमा आफ्नै भ्वाइसमा प्रोब्लम लागेको थियो । मेरो साउन्ड धोत्रो छ, यसलाई कसरी मिलाउने भन्ने चिन्ता लाग्थ्यो । मलाई थाहा थिएन, मेरोजस्तो साउन्डलाई यहाँ ‘हस्की’ भन्छ । खासमा आवाज सुधार्नका लागि मैले थिएटर ज्वाइन गरेको थिएँ ।  थिएटर जोइन गर्नुअघि म एकदमै घमण्डी थिएँ । १५ दिनको अपूरो एक्टिङ क्लास लिँदै आफूलाई खतरा एक्टर ठानिसकेको थिएँ । मान्छेहरुले ‘मैले यसो गरेँ, उसो गरेँ’ भन्दै सफलताको कहानी सुनाउँछन्, म चाहिँ के सुनाउने होला भन्ने लाग्थ्यो । जब म थिएटरमा आएँ, जे मैले सोचिराको रैछु त्यो एकदमै गलत रहेछ भन्ने बुझेँ । मलाई एकदमै लाज लाग्यो । मैले गरेका कामका कुरा गर्न पनि लाज लाग्यो । मेरो भ्रम त्यतिबेला तोडियो ।

अनि पहिलोपल्ट नाटक कसरी खेलियो त ?
तीन महिनाको कोर्स सकिएपछि स्टुडेन्ड प्रोडक्सनबाट ‘जार’ नामको नाटक बन्ने भयो । सुरुमा सुनिल सरले मलाई कुनै रोल दिनुभएन । ‘तेरा लागि कुनै सानो रोल निकालौँला’ भन्ने कुरा मात्रै भयो । एक हप्तापछि उहाँलाई अचानक के भयो कुन्नी– कास्टिङमा फेरि फेरबदल गर्ने कुरा गर्नुभयो । त्यतिबेला मेरो कपाल लामो थियो । मलाई सोध्नुभयो, ‘तैँले कपाल काट्न सक्छस् ?’ मैले ‘सक्छु, किन नसक्नु ?’ भनेपछि उहाँले रुद्रमान भन्ने नाटकको प्रमुख पात्रको अफर गर्नुभयो । म त खुसीले गद्गद् । मलाई ‘घामपानी’ फिल्ममा काम गर्ने अवसर ‘यूमा’ नाटकले दिलाएको हो । त्यो नाटकमा मैले लभरब्वाइको रोल गरेको थिएँ । रामबाबु गुरुङ र दीपेन्द्र लामाले मलाई नोटिस्ड गर्नुभएको रहेछ । त्यही क्यारेक्टर हेरेर राम दाइले मलाई अफर गर्नुभयो ।

एक्टर बन्ने तपाईंको रुचि सानैदेखिको हो ?
थिएन । एक समयमा एफएम धेरै सुन्थेँ, आरजे बन्छु भन्ने लाग्थ्यो । त्यही भएर गीत सुन्न थालेँ । त्यतिबेला यश कुमारको ‘मैले छोएको पानी चल्दैन’ गीत खुब हिट भाथ्यो । त्यो गीत सुन्नुअघि म आरजे बन्ने कन्फर्म थियो । त्यो गीत सुनेपछि मेरो लक्ष्य परिवर्तन भइदियो । अब म सिंगर बन्छु भन्ने भयो । गाउने प्राक्टिस थालेँ । आमाले ‘तेरो यहाँ सुर मिलेन’ भन्दै कमेन्ट गर्नुहुन्थ्यो । गाउँमा जताततै टिभी थिएन । एकजनाको घरमा थियो । एकदिन सिडीमा ‘अर्जुन’ भन्ने फिल्म हेरेको याद छ । त्यो फिल्ममा राजेश हमाल दाइले लेदरको ज्याकेट र जुत्ता लगाएर भुइमा टेक्दाखेरी सरर हावा चलेको दृश्य देख्दा मेरो दिमागमा त्यतिबेलै क्लिक भएको थियो– अब म हिरो बन्छु ।

भनेपछि सानोमा राजेश हमाल बन्ने भोक थियो ?
हो त ! मलाई एकदमै मनपर्ने एक्टर हो उहाँ । फस्ट टाइम ‘पाले दाइ’ फिल्ममा मैले कोरस नाचेका बेला उहाँलाई सुटिङ स्पटमा देखेको थिएँ । पर उभिएर उहाँले थाहा नपाउनेगरी फोटो खिचेको थिएँ । त्यो फोटो मसँगै अझै घरमा होला ।

हिरो बन्छु भनेर यो क्षेत्रमा आएको मान्छे अहिले के बनियोजस्तो लाग्छ ?
अहिले मलाई हिरो बन्नै मन लाग्दैन । ममा हिरो बन्ने म्याटरियल छ जस्तो लाग्दैन । हिरो हुनलाई जुन परम्परागत मान्यता छ, त्यो मसँग छैन । त्यसैले म क्यारेक्टरमाथि काम गर्ने एक्टरमै रमाइरहेको छु । सायद म थिएटरमा काम नगरेको भए हिरोकै पछि भाग्थेँ र अहिले यहाँ हुदिनँ पनि थिएँ । मलाई लाग्दैन– मेरो यस्तो थोपडा र हुलिया हेरेर कसैले मलाई हिरो खेलाउला !

तपाईंको अध्ययनका बारेमा पनि बताइदिनु न ! 
एक्टर बन्ने लहलहैमा मैले पढाइ छोड्नुप¥यो । पढ्ने मन त थियो तर माहोल थिएन । अझ प्रस्टै भनौँ न, मसँग पैसा थिएन । म गरिब परिवारको सदस्य थिएँ । पढाइ छोड्ने मन थिएन । ८ पढ्दापढ्दै सिरियल खेल्ने सपना बोकेर काठमाडौं आएँ । फेरि गएर ८ पूरा गरे । पछि प्राइभेट एसएलसी ज्वाइन् गरेँ तर पूरा गर्न सकिनँ । त्यसको कारण फि नै थियो । तिर्न सकिनँ ।

आर्थिक हिसाबले कमजोर हुँदाहुँदै तपाईंको आँखा यही फिल्म क्षेत्रमा किन प¥यो ? यहाँको कमाइले जीवन र परिवार धान्न सम्भव होला भन्ने लागेको थियो ?
सजिलो त छैन तर गाह्रो पनि छैन । मान्छेलाई पैसा भनेको जति भए पनि पुग्दैन । कुनैबेला मेरो सपना एकपल्ट मात्रै भए पनि टिभीको स्क्रिनमा आफूलाई देख्नु थियो तर अहिले त्यतिले पुगेन । अहिले जति काम गरिराको छु, त्यतिले पनि पुगिराको छैन । आर्थिक अवस्थाको कुरा गर्दा म दुःखी पनि छैन, खुसी पनि छैन । खान लाउन पुगेको छ, जे होस् जिन्दगी चलेकै छ ।

अब फिल्मको क्यारेक्टरबारे कुरा गरौं । ‘घामपानी’मा असईको भूमिका निर्वाह गर्नुभएको थियो । क्यारेक्टर निर्वाह गर्नुअघि कसरी तयारी गर्नुहुन्छ ?
त्यतिबेला म अनामनगर, घट्टेकुलो बस्थेँ । त्यतातिर डियुटीमा प्रहरी खटिएका हुन्थे । म सिगरेट खाँदै उहाँहरुलाई नियाल्थँे । धेरै दिन साँझको बेला उहाँहरुको कुरा सुनेको छु, उहाँहरुलाई नियालेको छु । उहाँहरुको हाउभाउ, बोलिचालीमा ध्यान दिएको छु ।

तपाईंको त्यो क्यारेक्टर केटी जिस्काउने, केटीलाई पछ्याउने टाइपको थियो । रियलमा त्यसरी केटी कति पछ्याइयो, कति जिस्काइयो ? 
मलाई एकदमै डरलाग्छ । ग्रुपमा हुँदा कहिलेकाहीँ जिस्काउँछु तर त्यस्तो असर पर्ने गरी पनि होइन । एक्लै हिँड्दाखेरी त केटीको अनुहारमा सिधा हेर्न पनि डर लाग्छ । साथीहरु भए भने थोरै आँट आउँछ ।

‘हुर्रे’ फिल्ममा तपाईंको क्यारेक्टर कस्तो छ ?
सस्पेन्स छ । फिल्म हेरेपछि नै थाहा पाउँदा मज्जा आउँछ जस्तो लाग्छ ।

दुइटै फिल्ममा लगातार केकी अधिकारीसँग काम गर्नुभयो । यसलाई  संयोग मात्र भन्ने कि….?
यो संयोगबाहेक अरु केही पनि होइन (हाँस्दै) । उहाँसँग धेरै घुलमिल पनि भएको छैन । खासमा मेरो नेचर नै धेरै घुलमिल हुने टाइपको छैन । घुलमिल हुन खोज्दा ‘फ्लर्ट’ गरेको सोच्छन् कि भन्ने डर लाग्छ ।

पहिलो फिल्ममा तपाईंको क्यारेक्टर कमेडी टाइपको थियो । ‘हुर्रे’को ट्रेलर हेर्दा त्यसले पनि कमेडीकै छनक दिन्छ । आफ्नो पहिचान कमेडी एक्टरकै रुपमा बनाउन खोजेको हो ?
त्यस्तो त होइन । मलाई आफूभन्दा फरक क्यारेक्टरमा अभिनय गर्न मन पर्छ । खासमा म सिरियस नेचरको मान्छे हुँ, त्यति कमेडी क्यारेक्टर गर्न सक्छु भन्ने  पनि लाग्दैन । तर आइपर्छ, गर्ने के ?

तपाईंको अनुभवमा यो रंगीन दुनियाँको चित्त दुख्ने पाटो के हो ?
यहाँ धेरै खुट्टा तान्ने मात्रै छन्, ठेल्ने थोरै भए । तर खोई कसले बुझेको– मैले कसैलाई ठेले भने मलाई पनि पछाडिबाट कसैले ठेल्छ-ठेल्छ । यो धु्रवसत्य कुरा हो । हामीमा एकदमै अहमता छ । मिलेर जानै चाँहदैनाँै । एकले अर्कालाई पछारेर अघि बढौँ भन्ने सोच बढी हावी छ ।

खुट्टा तान्ने प्रवृत्तिको शिकार कत्तिको हुनुभयो ?
आफू अघि बढ्न तान्ने मान्छे पनि चाहिएला तर अहिलेसम्म छैन । अहिले त म खासै पपुलर भएको छैन त्यसैले खुट्टा तान्न आवश्यक नभएको होला ।

नेपाली रंगमञ्च बेरोजगार उत्पादन गर्ने थलो भयो भन्ने गुनासो पनि  सुनिन्छ, सहमत हुनुहुन्छ ?
सही कुरा हो तर थिएटरले ‘जब’ दिन्छ भन्ने ठानेर एक्टिङ सिक्ने आउने कारण यस्तो भएको हो । यो बिल्कुलै गलत कुरा हो । तीन महिना एक्टिङ सिक्नेबित्तिकै खतरा एक्टर भइँदैन, न काम गर्ने अवसर पाइहालिन्छ । थिएटरको स्पेलिङ पनि थाहा नभइकन थिएटरको नाम लिएर फिल्ममा काम खोज्न जानेहरु पनि छन् यहाँ । यो गलत हो । जिन्दगीमा भोगाई एकदमै महŒवपूर्ण कुरा हो जस्तो लाग्छ । तपाईं जीवनमा जति धेरै भोग्नुहुन्छ, त्यति नै तपाईंलाई काम गर्न सहज हुन्छ । अझ एक्टरका लागि त भोगाई एकदमै महŒवपूर्ण हो ।

त्यसो भए भन्दिनुस् न त, तपाईंका लागि ‘ह्वाट इज टु बि एन एक्टर’ ?
एकदमै गाह्रो कुरा हो । मलाई त अझै पनि आफू एक्टर भइसके जस्तो लाग्दैन । सितिमिति कोही पनि एक्टर हुन सक्दैन । अझै पनि म आफूलाई एक्टर भनेर परिचय दिने आँट गर्दिन । एकदमै डर लाग्छ । आखिर एक्टिङको अनुभव पनि मसँग त्यति धेरै छैन, जम्मा ४ वर्षको त हो ।

०६१ सालमा एक्टर बन्छु भनेर काठमाडौं छिरेको मान्छे जम्मा ४ वर्षमात्र भयो भन्नुहुन्छ । त्यसोभए विचमा ९ वर्षजति कता हराउनुभयो त ?
त्यो बीचको समय मेरो भौतारिने समय थियो ।

भनेपछि त्यो बीचको नौ वर्ष पनि तपाईं एक्टर बन्ने भोकमै भौतारिनुभयो । के–के गर्नुभयो त एक्टर बन्न ?
खासमा मलाई यो कुरा गर्नै मन थिएन तर निक्लिएरै छाड्यो । संघर्ष सबैको लाइफमा हुन्छ जस्तो लाग्छ । त्यतिबेला म दाजुभाइसँग छुट्टिएर एक्लै बसेको थिएँ । एक्लै केही गर्नुपर्छ भन्ने भाव मनमा थियो । बाँच्नका लागि मैले हार्डवेयर पसलमा काम गरेँ । मेरो तौलभन्दा बढी तौलको भारी पनि उचालेँ । कालीमाटीको तरकारी बजारमा पत्रिका ओछ्याएर सुतेको पनि छु । वीर हस्पिटल अगाडि पनि सुतेको छु । कसैको अफिसमा गएर झाडु लगाएका दिन पनि छन् । एक कप चियाका लागि अरुका मुख पनि ताकियो तर मलाई ती सबै दिनहरुदेखि आज एकरति पनि दुःख छैन । किनभने ती सबै भोगाइले आज मलाई एक्टिङ गर्न सहज बनाएको छ ।

फिल्म क्षेत्रमा अभिनय गरेबापत पाइने पारिश्रमिक चित्तबुझ्दो छ ?
ठीकै छ, चित्तदुखाई छैन किनभने मैले अहिलेसम्म आफ्नो रेट तोकेको छैन । निर्माताहरुले आफै सोचेर दिनुहुन्छ, त्यसमै काम चलाइरहेको छु । कुनै दिन ‘यति लिने गरेको छु है’ भन्ने दिन पनि आउँला । अहिले भने त्यसरी भन्ने गरेको छैन ।

तपाईं अहिले कहाँ बस्नुहुन्छ ?
अनामनगर (काठमाडौं) डेरामा ।

एक्लै ?
हो, एक्लै बस्छु ।

बिहे गर्नुभएको छ ?
छैन ।

तर्खरमा हो कि ?
अहिले त्यतातिर ध्यान छैन ।

गलफ्रेन्ड त होला नि ?
पहिला हुनुहुन्थ्यो, अहिले छैन ।

के भएर ब्रेकअप भयो ?
संघर्षको सुरुवाती समयमा हुनुहुन्थ्यो । उहाँको सपोर्ट पनि थियो । पछि त्यस्तै भयो । अहिले उहाँ विवाहित भइसक्नुभयो ।

फेरि गलफ्रेन्ड बनाउने मुडमा हुनुहुन्न ?
अहिले नै त डर लाग्छ । फस्ट भनेको फस्ट नै हुँदोरहेछ । यादले हानिरहन्छ कहिलेकाहीँ– टिङ्ग ।

भनेपछि बिर्सन अझै गाह्रो भइरहेको छ ?
भइहाल्छ नि (हाँस्दै) !