म त एक्लै तीनजना मान्छे हुँ : तृष्णा गुरुङ



 तृष्णा गुरुङका गीत युवा पुस्तामाझ चर्चित हुँदै गएकी छन् । उनको ‘हस्की’ स्वर स्रोताका लागि प्रिय बन्दै गइरहेको छ । केही दिनअघि मात्रै लन्डनको रोयल अल्बर्ट हलमा नेपालका चर्चित गायकहरूसँगै उनले पनि प्रस्तुति दिइन् । उनको गीत ‘खनी हो यामु ए कान्छा’ रिलिज भएको छोटो समयमै युट्युबमा सात लाखभन्दा बढी पटक हेरिएको छ । तृष्णासँग धनबहादुर खड्काअनिल यादवको अन्तरंग कुराकानीः
_DSC2230
संसारका संगीतसाधकले बेलायतको रोयल अल्बर्ट हलमा पर्फर्म गर्ने सपना बोकेका हुन्छन् । तपाईंको त सानै उमेरमा एउटा सपना पूरा भयो है ?
म त असाध्यै लक्की भएँ । संगीतमा लागेको आठ वर्ष भए पनि मेरा गीत चर्चित हुन थालेको एक वर्षमात्रै भएको थियो । त्यो हलमा पुगेर गाउन पाएँ । त्यो दिनको मैले त कल्पना गर्न भ्याएकै थिइनँ ।

आयोजकले तपाईंलाई किन छाने छन् ?
त्यो त मलाई थाहा छैन । सायद यूकेमा मेरा फ्यान फलोइङ बढी भएर हो कि ? सुजिल कर्माचार्य दाइले केही महिना पहिले ‘एउटा ग्रान्ड प्रोग्राम हुन्छ, फिमेलमा तिमीलाई छानेका छौँ’ भन्नुभएको थियो । चार महिनाअघि फेरि भन्नुभयो– ‘तयार छौ नि ?’ मैले आत्मविश्वासका साथ ‘तयार छु’ भनेँ । सोधेँ– ‘काठमाडौँको कुन ठाउँमा हुन्छ कार्यक्रम ?’ उहाँले ‘काँ काठमान्डू हुनु ? लन्डनको रोयल अल्बर्ट हलमा हुने कार्यक्रम हो’ भनेपछि पो चकित परेँ । चार महिनादेखि अलि बढी रिहर्सल गरेँ ।

त्यहाँ प्रस्तुति दिन छिर्दा कस्तो महसुस गरियो ?
संगीत साधकको मन्दिर हो त्यो । त्यो मन्दिरभित्र पस्दा म नर्भस भइसकेकी थिएँ । मेरो पर्फर्मेन्स दोस्रो नम्बरमा थियो । मैले सम्बोधन कसरी गर्ने भन्ने तयारी गरेकी थिएँ । युवादेखि वृद्धसम्मलाई सम्बोधन गर्ने जुन स्टाइल बनाएकी थिएँ, त्यसले मलाई थप नर्भस हुन मात्रै जोगाएन, धेरैले त्यो सम्बोधनको तरिकासमेत मन पराए छन् ।

कति रहेछन् त यूकेमा तपाईंका फ्यान ?
धेरै थिए । तर, सेक्युरिटी कडा भएकाले भेटघाट गर्न पाइएन । केही भने हामी निस्किने पछाडिको ढोकामा आएका थिए । उनीहरूसँग कुराकानी गरेँ ।

तपाईंको आवाज र हुलिया बिलकुल फरक पाए होलान् ?
म त एक्लै तीनजना मान्छे हो । हेर्दा एउटा, बोल्दा अर्काे र गाउँदा अर्कै हुन्छु । गाउँदा आवाज अलि ‘बोल्ड’ सुनिने भएकाले अलि मोटी र अलि पाकी गायिकाको कल्पना गरेका हुँदा रहेछन् ।

शब्द पनि आफैँ लेख्नुहुन्छ है !
आफूलाई सम्झना हुने समयभन्दा अघि नै मेरो स्टाइल थियो भन्नुहुन्छ ममीले । म त अगाडि झाडु देख्यो भने पनि झाडुलाई नै जोडर, कागतीको बोट देख्दा कागती नै जोडेर गीत गुनगुनाउँथेँ रे ! कक्षा १० मा आइपुगेपछि मैले आफ्नै शब्द र कम्पोजमा गीत गाउन थालेकी हुँ ।

आफ्नो चर्चित गीत ‘खनी हो यामु ए कान्छा’ कसरी सिर्जना गर्नुभयो ?
यसमा भएका विविधता नै धेरैलाई मन प¥यो जस्तो लाग्छ । ‘खनी हो यामु’ गुरुङ भाषामा हो । यसको अर्थ ‘कता जान लागेको’ भन्ने हुन्छ । भाषा मात्रै होइन, संगीतमा लोक–रक मिसाइएको छ । यो पूरै मेरो सिर्जना भन्न मिल्दैन । दाइ पनि संगीतप्रेमी हुनुहुन्थ्यो । उहाँ गिटार राम्रो बजाउनुहुन्छ । उहाँ ‘खनी हो यामु ए कान्छी’ भनेर गाइरहनुहुन्थ्यो । पछि मैले थप शब्द जोडजाड पारेर यसलाई पूर्ण गीत बनाएँ । कान्छीको ठाउँमा कान्छा शब्द राखेँ ।

अर्काे गीत पनि छ नि तपाईंको ‘म तिमीलाई पट्याउँछु’ टाइपको !
यो गीत स्कुल पढ्दै लेख्या हो । त्यतिबेलै गीत रेकर्ड गरेर बजारमा ल्याउन पाएको भए बबाल हुन्थ्यो । अहिले पनि धेरैले मन पराइरा’छन् । कति केटाले मात्रै पट्याउने, जिस्काउने र लाइन मार्ने ? हामीले पनि गर्दिऊँ न जस्तो लाग्थ्यो । त्यसपछि मैले यस्ता शब्द बुनेँ ।

लाइन मार्ने र पट्याउने व्यवहारमा कत्तिको उतारियो ?
अलि सोझो खालको केटा भेट्यो भने ग्रुप बनाएर जिस्काइन्थ्यो पनि । तर, म त्यस्तो बोल्न सक्ने, जिस्क्याउन सक्ने खालको चाहिँ छैन । जम्मा दुई तीनजना केटा साथी मात्रै छन् मेरा । कहिलेकाहीँ सोझो भनेर जिस्क्याउँदा आफूभन्दा खतरा भइदिएर उल्टो फसिएको समेत छ ।

केटा साथी कम भए पनि फ्यानहरू त धेरै होलान् नि ?
धेरै छन् । तीमध्ये सबैभन्दा कान्छो तीन वर्षको उमेरको एउटा फ्यान भेटेको छु । उहाँले मेरो ‘खनी हो यामु’ गीत तोतेबोलीमा गाउनुभएको छ । युट्युबमै देखेकी थिएँ । क्रेजी फ्यान पनि थुप्रै छन् । ‘म तिमीलाई असाध्यै माया गर्छु’ भन्छन् ।

क्रेजी फ्यानलाई कसरी ह्यान्डल गर्नुहुन्छ ?
धेरैलाई त सम्झाएरै पठाउँछु । तर, कतियपय अवस्थामा उनीहरू मान्दै मान्दैनन् । त्यसपछि सम्पर्कबाट कट्अफ गर्नुको विकल्प हुँदैन ।

तपाईंको लक्ष्य को जस्तो बन्ने भन्ने छ ?
मेरो त लक्ष्य केही थिएन । यस्तो चर्चित हुन्छु भनेर त झन् मैले गीतै गाइनँ । ‘यो पुस्ताकी एउटा केटीले आफ्ना भाका र भाषा मिसाएर योङस्टरलाई मन पर्ने गीत गाएकी छे’ भन्ने होस् जस्तो लाग्थ्यो । अब मेरो लक्ष्य भनेको पनि फरक तरिकाबाट गीत गाइरहने भन्ने मात्रै हो ।

तपाईंलाई कसका गीत बढी मन पर्छन् ?
नेपथ्यका । सानैदखि दाइहरू नेपथ्यका गीत सुन्नुहुन्थ्यो । मलाई पनि लोकगीतमा नयाँ म्युजिक सुन्दा साह्रै मीठो लाग्थ्यो र अहिले पनि लाग्छ ।

संगीतको औपचारिक कक्षा लिनुभएको छ ?
आफ्नै प्रयासले यहाँसम्म पुगेँ । अब सिक्नु पनि पर्छ भनेर अस्ति एक महिना बेसिक कोर्सको क्लास लिएँ । त्यसपछि हार्माेनियम पनि सिकेँ । अहिले रियाज हार्माेनियममै गर्छु ।

गिटार कसरी सिक्नुभयो ?
दाइहरू बजाउँदा हेरिरहन्थेँ, कहाँ औँला राख्छन्, कुन चलाउँछन् भनेर । उहाँहरूले छाडेर हिँडेपछि बजाउने कोसिस गर्थें । दाइले सिकाउन भने खोज्नुभएन । पछि कान्छो दाइले रिसाई–रिसाई अलिअलि सिकाउनुभयो । यसो गर्दागर्दै १० कक्षामा आइपुग्दा गिटारको कर्डमा कम्पोजिसन गर्ने भइसकेकी थिएँ ।

ब्यान्डहरूसँग मिलेर पबतिर पनि गाउनुहुन्छ कि ?
म ब्यान्डसँग कहिल्यै आबद्ध भइनँ । पबमा गाएकी छैन ।

एल्बम त एउटा मात्रै हो नि ?
मैले आठ वर्षअघि एउटा गीत फिचर गरेकी थिएँ । त्यसपछि सात वटा गीत समेटेर एल्बम निकालेँ । बीचमै ‘खनी हो यामु’ निकालेँ । यो अरू गीतभन्दा अघि आयो । अरू पनि गरिरहेकी छु ।

बीचमा लामो समय ग्याप गर्नुभयो । चर्चाको स्वाद चाखिसकेपछि छटपटी भएन ?
भयो नि । मैले ट्राई गरिरहेँ । मसँग कहाँ गएर गीत रेकर्ड गर्ने, के गर्ने भन्ने त्यति आइडिया थिएन । त्यस्तै कसरी मिडियामा आउने र आफ्ना गीत सुनाउने भन्ने पनि थाहा भएन । स्टुडियोतिर जान्थेँ, कम्पोजरलाई भेट्थेँ । पढ्नु पनि थियो । ब्याचलर्स लेभलसम्मको पढाइ पूरा गरेँ ।

पहिले चाहिँ कसरी गीत रेकर्ड गराउनुभएको थियो ?
मलाई एकजना साथीले स्टुडियो लिएर जानुभयो । उहाँले एउटा गीतमा मोडलिङ गर्न लाग्नुभएको रहेछ । त्यहीँ ११ः३० बसनसँग भेट भयो । उहाँ त्यतिबेला स्याडोज ब्यान्डमा काम गर्नहुन्थ्यो । उहाँलाई मेरो भोकल मन प¥यो । उहाँले सँगै गरौँ भन्नुभयो । सँगै ग¥यौँ । त्यो सन् २००७ तिर हो । त्यो गीत युवामा चर्चित भयो । मैले फ्यान पनि बटुलेँ, कन्सर्ट पनि गरेँ । त्यसपछि के भन्नेमा भने अल्झिएँ ।

लामै समय अल्झिनुभएछ !
गीत रेकर्ड गर्थें, घर आएपछि चित्त बुझ्दैनथ्यो । स्टुडियोलाई खर्च दिएर गीत छाडेर हिँड्थेँ । चारवटा गीत यस्तै गरियो होला । म अलि लज्जालु नै थिएँ । त्यसैले पनि अलि बढी अल्झिएँ ।

हामीलाई त तपाईं लज्जालु जस्तो लागेन त ?
अहिले त बोल्न सिक्दै छु । मान्छेसँग कसरी कुराकानी गर्ने र कसरी व्यावहारिक हुने भन्ने कुरा जान्न खोज्दै छु । त्यसैले पहिलेभन्दा कम लज्जालु छु होला ।
साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्