वर्षा भन्छिन्, ‘मेरा लागि ‘कारखाना’ विशेष’



रंग खबर, काठमाडौं । महिलाले जीवनमा लिएको गलत निर्णयले उसको जीवनमा आइपर्ने उतारचढावलाई कथा बनाएर फिल्म ‘कारखाना’ निर्माण भएको छ ।
हालै राजधानीमा एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । ट्रेलरमा प्रेम, पीडा र एक्सनका दृश्य समेटिएका छन् ।  फिल्मका निर्देशक अमरदीप सापकोटाले फिल्ममा रोमान्टिक कथासँगै सामाजिक सन्देश पनि समेटिएको बताए । ‘फिल्मको केन्द्रमा नारी र उसले भोग्ने जीवन छ,’ फिल्मका लेखकसमेत रहेका सापकोटाले भने, ‘फिल्ममा प्रेम, पीडा र सामाजिक सन्देशलाई एउटै रङमा मिसाउने प्रयास गरेका छौँ ।’ निर्देशक सापकोटाले फिल्म सेरोगेसी अर्थात् भाडामा सन्तान जन्माउने विषयको वरिपरि रहेर निर्माण गरिएको जानकारी गराए । उनले आफूले मास्टर्सको थेसिस सेरोगेसीमै गरेकाले फिल्ममा यही विषय उठाएको बताए ।

फिल्ममा सुशील श्रेष्ठ, वर्षा शिवाकोटी नवीन लम्साल र मौसमी मल्ल केन्द्रीय भूमिकामा छन् । वर्षाले ‘कारखाना’ आफ्ना लागि अहिलेसम्मकै विशेष फिल्म रहेको बताइन् ।  ‘यो फिल्म अरूभन्दा बिलकुल फरक छ, यस्तो खाले फिल्म यसअघि बनेजस्तो लाग्दैन,’ वर्षाले भनिन्, ‘त्यसैले यो फिल्म मेरा लागि विशेष छ ।’

फिल्ममा जेविका कार्की, सौगात धिताल, विकास उप्रेती, सुपी थापा, रजक शाही, घनश्याम गिरी र सुजित केसीको पनि अभिनय छ । असार १६ मा रिलिज हुने फिल्ममा हर्कुलिस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, अमरदीप, दयाराम दाहाल र सुशील पोखरेलको पटकथा तथा संवाद, अनन्त घिमिरेको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्