मिस्टर भर्जिनले हामी भन्दा ठुला र हामी भन्दा सानाका कुराहरूलाई समेटिएको : निर्देशक बस्नेत



रंगखबर, काठमाडौँ- नेपाली समाज यौनको विषयमा खुलेर बोल्न चहादैन । यौनको कुरा गर्दा मुख छोप्नेको सङख्या धेरै छ । अझ नेपाली चलचित्र इतिहासलाई हेर्ने हो भने यौन मनोविज्ञानको विषयमा निर्माण भएको चलचित्र निकै कम छ । भोलि शुक्रवारबाट नेपाली सिनेमा घरमा यौन मनोविज्ञानको विषयलाई उठाइएको चलचित्र ‘मिस्टर भर्जिन’ रिलिज हुदैँछ ।

केही समय अघि काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै मिस्टर भर्जिनको घोषणा गरिएको थियो । घोषणाको समय नै चलचित्रले नामको कारणले विभिन्न नकारात्मक टीकाटिप्पणी पाएको थियो । तर प्रदर्शनको मितिसम्म आइपुग्दा चलचित्रको प्रमोसन सामाग्री (ट्रेलर, गीतहरू)हरूले पाएको प्रतिक्रियाले निर्माण पक्ष ढुक्क रहेको निर्देशक बिशारद बस्नेत बताउँछन् ।

बिहीबार राजधानीमा आयोजित मिस्टर भर्जिनको पत्रकार सम्मेलनमा बिशारद भन्छन् ‘ यो साता (भदौ १ गते) चार नेपाली, दुई बलिउड र एक हलिउड गरी सात चलचित्र प्रदर्शन हुदैँछ । नेपाली चलचित्र मध्ये हाम्रो सिनेमाले सर्वाधिक सो पाएको छ । यस कारण पनि हाम्रो टिमलाई हौसला मिलेको छ ।’ चलचित्रको कथाको बारेमा बोल्दै उनी भन्छन् ‘मिस्टर भर्जिनले तिन वयस्क युवकको कथा बोल्छ । यौन मनोविज्ञानमा आधारित यो चलचित्रका तीन पात्र हाम्रा समाजको पात्र हो । समाजका कथासँगै हाम्रो युवा अवस्थाको कुरा, हामी भन्दा ठुला र हामी भन्दा सानाका कुराहरूलाई समेटिएको छ ।

जुन कुरालाई हाम्रो जीवनमा पनि रिलेट गर्छ । मानिसले बिताएको हरेक पलहरू, जब उसको उमेर पुग्छ र उमेरको हिसाबले हरेक कुरामा परिवर्तनमा आउँछ । उसले यौनको बिषयालई कसरी सोच्छ ? आफ्नो यौन चाहनालाई परिपूर्ति गर्नेलाई ती समाजका तीन पात्रले कस्तो प्रकारको अवरोधहरूको सामना गर्नु पर्छ ? चलचित्रले यही कुरालाई बोल्छ । ’

त्यस्तै चलचित्रको बारेमा बोल्दै कलाकार कमलमणि नेपाल भन्छन् ‘ हाम्रो नेपाली समाजमा अझै पनि यौनको विषयमा बोल्न अकमकाउछौ । एउटा उमेर पुगेको छोरोलाई आफ्नो परिवारसँग खुलेर मलाई बिहे गरिदेउ भन्न सक्दैन । सोही कारण उनले आफ्नो मनमा यौनको कुष्ठाहरु सङ्कलन गरेर राखिरहेको हुन्छ । हेर्दा सानो लाग्छ तर यी कुराले कसैको जीवनमा ठुलो प्रभाव पारिरहेको हुन् । यस्तै कुराको बहस गर्नको लागी मिस्टर भर्जिन एक राम्रो माध्यम बन्न सक्छ । ’ चलचित्रको कथावस्तु र टिमको कारण मिस्टर भर्जिनमा जोडिएकी नायिका मरिष्का पोखरेललाई पत्रकारले चलचित्र खेल्दा कहिले पश्चात्ताप भयो भन्ने प्रश्नमा उनी जवाफ दिन्छिन् ‘ रिलिज नजिक आउँदा उत्साहित भइरहेको छु ।

मेरो डेव्यु चलचित्र जस्तै लागिरहेको छ । मलाई चलचित्रको नामले कहिले पनि फरक पारेन । छायाङ्कनको सुरुवाती दिनबाट आजसम्म आउँदा पश्चात्ताप भन्दा बढी खुसी लागेको छ । ’ यो चलचित्रमा प्यासी मोहनको भूमिकामा कलाकार रविन्द्र झा प्रस्तुत भएका छन् । चलचित्र गरिरहन्दा दुखसँगै रमाइलो अनुभव भएको रविन्द्र सुनाउन्दा । त्यस्तै नायक गौरव पहारी चलचित्रलाई लिएर निकै आशावादी रहेको बताउँछन् ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ भोली भाद्र १ गतेबाट प्रर्दशनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्