नेपाल आइडल २ कन्ट्रोवर्सि: मन मुटाव र माफी मागा-माग



रंगखबर, काठमाडौँ- सिङगिङ रियालिटी सो नेपाल आइडलको दोस्रो संस्करणको नतिजा रवि ओडको पोल्टामा पुग्यो । रियालिटी सो कब्जा गर्दै आएको पोखराका प्रतिस्पर्धी विक्रम बराललाई पछि पार्दै ओड विजेता बने ।

उनी विजेता बन्दा सुदूरपश्चिमवासी खुसी हुने नै भए । आलोचकहरु पनि उत्तिकै देखिए । पहिलो सिजन जातीय रुपमा विवादमा तानिएको थियो भने दोस्रो आइडल क्षेत्रीय रुपमा विवादमा तानियो ।
ओड विजेता बनेसँगै उनले २२ लाख रुपैयाँ र होन्डाको डब्ल्यु आर भी कार जिते । उनलाई आयोजकले एउटा एल्बम र विश्व भ्रमणको अवसर दिने वाचा गरेका छन् ।

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर रवि ओडले नेपाल आइडलमा प्रवेश पाएका थिए ।

सानैदेखि देउडा गाउँदै हुर्केका उनी हजुरबुबाको सिको गर्दै गायन क्षेत्रमा प्रवेश गरेका थिए । बाल्यकालमै आमा गुमाएका ओडले औपचारिक संगीतको शिक्षा लिएका छैनन् । सुदूरपश्चिमेली ठाडो भाकामा उनको दख्खल छ ।

फाइनलमा विक्रम बराल फस्र्ट रनरअप बने । उनले २० लाखको चेक प्राप्त गरे । सेकेन्ड रनरअप सुमित पाठकले १२ लाखको चेक पाए । अस्मिता अधिकारी थर्ड रनर अप भइन् र होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन् ।

साउन २४ देखि नेपाल आइडलको दोस्रो सिजनको सुरुवात भएको हो । निर्णायकहरु न्युह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा अनि सञ्चालक द्वय रीमा विश्वकर्मा र आसिफ शाह थिए ।

मैदानभरि कुर्सी फालाफाल
अघिल्लो सिजनको फाइनल कतारमा गर्दा लाइभसमेत गर्न नसकेर बिजोग देखाएको आयोजकले दोस्रो सिजनको फाइनल भने ललितपुरमा रहेको पुल्चोक इन्जिनियरिङ कलेजको चौरमा गरेको थियो ।
तर आइडल फाइनल हेर्न जम्मा भएको स्थानमा गतिलो सुरक्षा प्रबन्ध गर्न नसक्दा विजेताको घोषणासँगै असन्तुष्ट बनेकाहरुले मैदानमा कुर्सी फालाफाल गरेका थिए । चर्को आक्रोश देखाउनेमा विक्रम बरालका समर्थक बढी थिए ।

कुर्सी फालाफाल भए पनि त्यहाँ आक्रोशित दर्शकलाई नियन्त्रणमा लिने कोही थिएनन् । अन्य दर्शकहरु ज्यान जोगाउन यताउता भाग्न बाध्य भए ।

कार्यक्रमलाई रोचक बनाउन मञ्चमा सहभागीहरुले प्रस्तुति दिइरहँदा कार्यक्रम सञ्चालकले ब्याक स्टेजमा गरेका कुराकानी समेत प्रसारण भएका थिए । उनीहरुले माइक अन नै राखेर कहिले कुर्सी मागिरहेको सुनिथ्यो ।

रविसँग आस्थाको दुश्मनी
नेपाल आइडलको नतिजाले धेरैलाई चित्त बुझाउन सकेको छैन । यसरी चित्त बुझाउन नसकेको एउटा मन हो, आस्था राउतको । दुई सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’मा आस्थाको झुकाव आइडलपट्टी देखिएको थियो । भ्वाइससँगको असन्तुष्टी छरपष्ट सामाजिक सञ्जाल फेसबुकमा छरेर एक समयमा उनले मिडियाको ध्यान तानेकी थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमा भ्वाइसप्रति असन्तुष्टी पोखिएको केही हप्तामै आइडलको मञ्चमा पहिलो गेष्ट जज बनेर उनी पुगेकी थिइन् ।

नेपाल आइडलको भक्त बनेर सोसल मिडियामा छाइरहेकी उनी रवि ओडले उपाधि जित्नेबित्तिकै असन्तुष्ट देखिइन् । उनले ‘कहिले स्टेजमा लिरिक्स बिर्सनेहरु बडो भाग्यमानी हुन्छन् जस्तो छ, इतिहास दोहोरियो लेखेकी छन् भने कहिले फिलिङ पोजेटिभ भन्दै लामो स्ट्याटस नेगेटिभ कुराले भरेकी छन् ।
उनको स्ट्याटस पढ्दा उनलाई रवि विजेता बनेको चित्त बुझेको छैन तर मुटुमाथि ढुंगा राखेर पनि हाँस्नुपरेको अवस्था सिर्जना भएको देखिन्छ ।

अनलक्की सुमित
धेरैले जित्ने आशा गरेका सुमित पाठक अनलक्की देखिए । उनको जित्ने सम्भावना हुँदाहुँदै पनि एक जिल्लाको २ प्रतिस्पर्धी र प्रतिस्पर्धीमध्येकी एक अस्मिता अधिकारीसँगकोे लफडाले नकारात्मक छवि बन्यो ।
अघिल्लो सिजनको नेपाल आइडलमा तीनजना प्रतिस्पर्धी फाइनलमा पुगेका थिए तर यो वर्ष चारैजनालाई फाइनलमा पठाइयो । अस्मिता समेत फाइनलमा पुगेपछि झापाको भोट बाँडिनु स्वाभाविकै थियो । बाँडियो ।
भोटिङको नतिजामा अस्मिता सबैभन्दा पुछारमा रहिन् । पाठक सेकेन्ड रनरअप बने ।

ओडमाथि ट्रोलै ट्रोल
रवि ओड आइडल विजेता त बने तर उनीमाथि सामाजिक प्रयोगकर्ताको ट्रोलको भेल थामिनसक्नु उर्लिएको छ । उनीमाथि कसैले लिरिक्स बिर्सने विजेता भनेका छन् त कसैले भोटले मात्रै उपाधि जितेको आरोप लगाइरहेका छन् ।

उनको जितपछि असन्तुष्टी देखाउनेहरु उत्तिकै छन् तर प्रशंसा गर्नेको संख्या पनि कम छैन । उनको पक्षधरले बधाई दिँदा सुदूरपश्चिमको नाक राखेको भन्दै कमेन्ट गर्दा उनको छवि नकारात्मक बन्दै गएको पनि देखिन्छ । उनका प्रशंसकले ‘नेपाल आइडल हो कि सुदूरपश्चिम आइडल’ भन्दै उनलाई क्षेत्रको घेरामा राख्नेहरुको चर्को आलोचना गरिरहेका छन् ।

सन्दीपको तँ तँ र म म
आदर गर्नेलाई तपाईं भन्नु, समकक्षी या आफूभन्दा कान्छोलाई माया गरेर तँ भन्नु सामान्य हो । तर अनौपचारिक सम्बोधन हुन् यी । औपचारिक सम्बोधनमा प्रायः सानो होस् या समकक्षी तपाईं सम्बोधन नै सुहाउँछ । त्यसमा पनि लाखौंले हेरिरहेको कार्यक्रममा । आइडलको सिजन २ मा सहभागी सन्दीप क्षेत्री नराम्ररी चुके । स्ट्याण्डअप कमेडी प्रस्तुत गर्न स्टेजमा चढेका उनले न्युह बज्राचार्य बाहेक दुवै जजलाई नसुहाउँदो सम्बोधन गरे तँ ।

कार्यक्रम प्रस्तोतामध्ये आसिफ साहलाई दाइ भनेर उडाए पनि रिमालाई पनि उही नपच्ने शैलीमा तँ भनेर सम्बोधन गरेर अरुलाई उडाउन आएका उनी आफैँ खिल्लीको पात्र बने ।
तँ सम्बोधनको प्रारम्भ आसिफले गरेका थिए । सन्दीपले उनलाई ब्याकस्टेजबाट अगाडि बोलाएर ‘हिले माछो जस्तो’ भन्दै जिस्काए । ‘ब्लाउजको कपडाको कोट सिलाएको’ भन्दै लैंगिक जोक गरे । आसिफले ‘सरी भन’ भनेपछि क्षेत्रीले भने, सरी दाइ’

उनले फेरि रिमालाई बोलाए । ‘लुक सिखइज गर्जिअस’ भन्दै स्टेज अगाडि ल्याएर भने हात उठाउँ’ हरियो पोशाकमा रहेकी रिमाले हात उठाएपछि उनले भने, ‘यस्तो लाग्छ रूख उभिएको छ । यसले सावित गरीसकि यो कांग्रेस हो भनेर ।’

कार्यक्रमको बीचबीचमा म्युजिक बजाउनेलाई पनि उनले तँ तँ र म म गरेर सम्बोधन गरिरहेका थिए ।

पालो जजको –
उनले न्युह बज्राचार्यलाई सर भनेर सम्बोधन गरे । कालीप्रसाद रिजाल र इन्दिरा जोशीलाई तँ नै भने ।
‘काली खन्ती लिएर बसेको हुन्छ,’ इन्दिराबारे उनको प्रतिक्रिया थियो, ‘यस्तो लाग्छ यो डाक्टर हो । तेरो किड्नी कहिले छुन्छ ।’

उनीहरुबीचको व्यक्तिगत सम्बन्ध साथीको होला तर सार्वजनिक कार्यक्रममा कसको कोसँगको सम्बोधन कस्तो छ त्यसको के मतलब । यसैमा चुके सन्दीप ।
‘निर जैले रिसाउने’ बोलको गीतमा कालीप्रसादलाई जिस्काउँदै सन्दीपले भने, ‘भगवान् कसम तेरो त्यो गीन दाँत माझ्ने बेला सुहाउँछ ।’

कार्यक्रममा दर्शकले वान्स मोर भनेपछि उनले दर्शकलाई पनि उही शैलीमा सम्बोधन गर्दै भने, ‘यसले वान्स मोर भनेर मेरो करिअर बिगार्ने भो ।’सन्दीपलाई रमाइलै लाग्यो होला तँ तँ र म म गर्दा । तर कार्यक्रम हेर्नेलाई पटक्कै पचेन उनको शैली ।
साभार: शुक्रबार, नागरिकन्युज डट कम 

प्रतिक्रिया दिनुहोस्