विकास र भावनाको गीतमा प्रेमको आन्दोलन (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । मधेस आन्दोलन चर्किएको सन्दर्भमा पहाड र मधेसको सम्बन्धलाई ‘धोती र टोपी’सँग जोडेर हेरिँदैछ । कसैको पहिचान बनेको धोती र टोपीलाई घोचपेच गर्ने हतियारका रुपमा प्रयोग गरिँदा कतै हामी ‘धोती न टोपी’ त हुने होइनौँ भन्ने प्रश्न जनजनमा उब्जेको छ ।

यही बेला लोकदोहोरी गीत सार्वजनिक भएको छ, ‘धोती न टोपी’ । गीतको सन्दर्भ भने मधेस आन्दोलन नभएर प्रेमको आन्दोलन हो । भविष्य नसोची हतारोमा बिहे गरेर फुर्सदमा पछुताउने तन्नेरी प्रवृतिलाई व्यग्य गरिएको छ गीतमा । सोचेजस्तो नहुँदा धोती न टोपी भएको केटो र यता न उता भएकी केटीको कथा गीतले गाएको छ । केटो पछुताउँदै भन्छ, ‘प्रेम बिहे गरियो, उसकै भर परियो, अहिले धोती न टोपी भइयो हजुर ।’ केटीको रोदन के कम, ‘हिँड्छौँ तिमी आवारा पाराले, बिग्र्यो भन्छन् दुनिया साराले, प्रेम बिहे गरियो, उसकै भर परियो, अहिले यता न उताको भइयो हजुर ।’
bhawana gcसमाजमा मौलाएको प्रेम विवाह प्रचलनको विरोधमा लोकदोहोरी एल्बम ‘धोती न टोपी’ सार्वजनिक भएको हो । प्रेमका नाममा आँखा चिम्लेर विवाह गर्दा जिन्दगी बिताउन मुस्किल पर्ने सन्देशसहित बुटवलका विकासदर्पण जिसी र सुर्खेतकी भावना जिसीले एल्बम बजारमा ल्याएका हुन् ।

धेरैजसो जोडीले प्रेम विवाह नै अँगालिरहेको यो बेलामा प्रेम विवाहकै विरोध गर्न किन आवश्यक प¥यो ? ‘प्रेमका नाममा दायाँबायाँ नसोची अँगालोमा बेरिइहाल्ने तरिकाले धेरैलाई घरको न घाटको बनाएका घटना बढेका देखिन्छन्,’ गायिका भावना भन्छिन्, ‘त्यसैले हामीले भविष्य सोचेर मात्र प्रेम विवाह गर्न युवाहरूलाई सुझाएका हौँ । प्रेम विवाहको विरोधमात्र गरेका होइनौँ ।’ विवाहलाई ठट्टा नठान्न आग्रह गरिएको यो गीतमा विवाहलाई क्षणिक सम्झौताका रूपमा लिँदा भोग्नुपरेका कैयौँ समस्या चित्रण गरिएको छ ।
‘लभ म्यारिज भन्दै हचुवामा विहेवारी गर्दा जीवन जिउन मुस्किल हुने सन्देश युवाहरुमा दिनु आवश्यक ठान्यौँ,’ गायक विकासदर्पणले भने, ‘बिहे जस्तो कुरामा हेलचेक्राइँ गर्नुहुन्न भन्ने हाम्रो सन्देश हो ।’
dhoti na topiप्रेम विवाह विरुद्ध प्रश्न उठाउने आँट गर्नु चानचुने कुरा होइन । तेजेश रेग्मीको शब्द र लय रहेको एल्बम प्रमिसन म्युजिकले बजार व्यवस्थापन गरेको छ । कमेडी शैलीको एल्बमको म्युजिक भिडियोसमेत बनाइएको छ । स्मृति तिमल्सिना ‘गुरुआमा’को निर्देशन, करण चौसिरको छायांकन र दीपक विष्टको सम्पादनमा निर्मित भिडियोमा गायक विकास र आशा खड्काको अभिनय रहेको छ । म्युजिक बैंक नेपालले भिडियो निर्माण गरेको हो ।

भावनाले यसअघि निकालेको तीज गीत ‘जाऊँ हिँड माया’ले बजारमा राम्रै चर्चा बटुलेको थियो । विकासले पनि यसअघि केही लोकभाका पस्किसकेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्