पूजाको हिरोलाई हेर्नसँगै सुन्न पाइने



रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने आगामी फिल्म ‘सम्हालिन्छ कहिले मन’मा भारतीय मूलका तिब्बतियन गायक सोनम तोप्देनले अभिनयमा डेब्यु गर्दैछन् ।

फिल्ममा सोनमले पूजासँग रोमान्स  गर्नेछन । केहि दिन अगाडी मात्र सोनम आधिकारिक रुपमा फिल्ममा अनुबन्धित भएका थिए । अब फिल्मको बारेमा नयाँ खबर बाहिरिएको छ । प्राप्त जानकारी अनुसार फिल्ममा सोनमको पार्श्वगायन पनि रहनेछ ।

निर्देशक सुदर्शन थापाले गीत रेकर्डीङका केहि तस्विर सार्वजनिक गर्दै ‘एउटा राम्रो प्रतिभा र असल व्यक्ति गायक र नायकमा हुनुपर्ने गुण भएका सोनम’ क्याप्सनमा लेख्दै फिल्म क्षेत्रमा स्वागत गरेका छन् ।

लभस्टोरी जनराको फिल्ममा समावेश ‘मेरो मन मुटु भरि’ गीतमा सोनमको आवाज सुन्न सकिनेछ । गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । भने, शब्द सृजना डा. कृष्णहरि बरालको रहेको छ । सोनमलाई स्वरमा साथ गायिका दीपा लामाले दिएकी छन् ।

छिट्टै नै फ्लोरमा जाने फिल्ममा अर्जुन पोखरेलसँगै सुगम पोखरेल, ताराप्रकाश लिम्बुको संगीत र महेश दवाडीको लेखन रहनेछ । अमित बस्नेतको लगानी रहने फिल्ममा अजितकुमार थापा र परि रानाको सह-लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्