प्रदीपको मास्टर माइन्डमा लुकेको स्टारडम भिडन्त



रंगखबर, काठमाडौँ – भदौ २२ को रिलिज डेट अहिले अत्याधिक चर्चामा छ ।  कारण: अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माको स्टारडम भिडन्त ।

‘प्रेमगीत’ लोकप्रिय जोडी गत वर्ष छुट्टा-छुटै फिल्ममा देखा परे । छुट्टिएका कारण नै दुवैका फिल्मले हाइप बटुले । दर्शक पनि विभाजित भए । गत वर्ष छुट्टा-छुट्टै डेटमा फिल्म रिलिज गर्दा पनि यी दुई मध्ये कसको फिल्म बढी चल्ने, कसको स्टारडम कति भन्ने कुराले व्यापक चर्चा पाएको  थियो । फलस्वरुप: दुई पक्षिय समाचारले बक्स अफिसमा सुखद नजिता पस्कियो ।

यो वर्ष एकै डेटमा प्रदीपको ‘रोजी’ र पूजाको ‘रामकहानी’ भिड्ने भएपछि भदौ २२ सम्मका लागि अन्य फिल्म छायाँमा परेका छन् । अहिले फिल्म उद्द्योगमा ‘रामकहानी’ र ‘रोजी’ बीच आउने समाचार दर्शक, प्रशंसकको पहिलो रोजाइमा छन् ।

‘रामकहानी’ले तोकेको मितिमा प्रदीपको ‘रोजी’ भिडाउनुलाई कत्तिले प्रदीपको मास्टर माइन्ड पनि भनेका थिए । अन्तत: प्रदीपले यो कुराबारे मुख खेले । यसै बिषयमा बोल्दै उनले एकै डेटमा पूजा र आफ्नो फिल्म रिलिज हुँदा पब्लिसिटीमा फाइदा पुग्ने बताए । यसबाट के बुझ्न सकिन्छ भने प्रदीप गत वर्षको विवादित हाइपलाई यसपटक पनि क्यास गर्न चाहन्छन । के यहिँ हो प्रदीपको मास्टर माइन्ड ? भित्री कुरा जे-सुकै होस्, प्रदीपको यो कुरामा सत्यता भने छ । तर, स्टारडमको लडाई रहिरहने छ ।

प्रदीपलाई थाहा नै होला, अहिलेकी सर्वाधिक रुचाएकी अभिनेत्रीको शिर्ष स्थान पूजा छिन । अब प्रदीपको स्टारडमको त कुरै नगरौँ । किनकी प्रदीपले ह्याट्रिकको सफलता चाखेर आफ्नो स्टारडमको स्वरुप देखाइसकेका छन् ।

प्रदीपले ‘रामकहानी’सँगको भिडन्तले दुवै पक्षलाई फाइदा हुने सकारात्मक कुरा गरे पनि यसका नकारात्मक असरहरु पनि छन् । पहिलो त ‘प्रेमगीत’ जोडीका प्रशंसकलाई यो भिडन्तले मर्का पारेको छ । दोस्रो दर्शक विभाजन निश्चित छ ।

यसले बक्स अफिसका सुरुवाती दिनलाई दुई पक्षिय फाइदा पुगेपनि बाँकी दिनहरुमा स्वयम् फिल्म नै बक्स अफिसको रेसमा दौडनु पर्नेहुन्छ । र, त्यहाँनेर यी दुईको स्टारडम मापन हुनेछ ।

अब यी दुईको बक्स अफिस भिडन्तमा कसले बाजी मार्ने हो । त्यसको नतिजा भदौ अन्त्यसम्म निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्