नाचघरमा प्रितीको बेली डान्स, महादेवको जादु



रंग खबर, काठमाडौं ।

‘कोही भन्छन् काली मलाई
कोही भन्छन् गोरी
जे खाए नि जे लाए नि
नेपालकी छोरी…’

गायिका प्रिती आले मगरले ‘बेली डान्स’बोलको आफ्नो यो हिट गीत गाउँदा शनिवार राती काठमाडौं, लाजिम्पाटस्थित नाचघर रेष्टुरेन्टको माहोल एक्कासी तात्यो । दर्शकदिर्घाबाट बसेर प्रस्तुति हेरिरहेका दर्शक समेत उठेर नाच्न थाले । त्यसपछि उनले ‘चौतारीमा वरपिपल’बोलको लोक पप गीत गाइन् ।
प्रितीले गीतमात्रै गाइनन्, गीतसँगै आफू पनि नाचिन् । त्यसो त उनी मोडल पनि हुन्, आफ्नो भिडियोमा मोडलिङ पनि गरेकी छिन् ।

आफ्नो एघारौं वार्षिकोत्सवको अवसरमा नाचघरले आयोजना गरेको विशेष कार्यक्रममा प्रितीसँगै आधा दर्जनजति कलाकार उपस्थित थिए । कमेडियन, जादुगर र डान्सरका रुपमा परिचित कलाकार महादेव त्रिपाठीले जादुसँगै कमेडी र नृत्यको प्याकेज प्रस्तुत गरेर दर्शकलाई लोभ्याए । गायक कृष्ण रेउलेले ‘बेसारे कान्छे’, ‘आज गाउँमा’ बोलका गीत गाए । मोडलद्धय गीता राई र रीमाथापा मगरले नाचेर दर्शकलाई मनोरञ्जन दिलाए । मोडल रश्मी तामाङ समेत कार्यक्रममा सहभागी थिइन् ।
दिनहुँ सांस्कृतिक नृत्यहरु समेत देखाइने भएकाले नाचघर रेष्टुरेन्ट राजधानीको चल्तीको रेष्टुरेन्टमा पर्छ । ‘हामी तामाङ सेलो, झाक्री, देउडा, झ्याउरे लगायत नृत्यहरु प्रस्तुत गछौं,’ नाचघरका संचालका सुनिल छेवाङ तामाङले भने । कार्यक्रममा ११ वर्षको एनिभर्सरी केक समेत काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्