को हिँडोस् प्रमोसनमा ?



–अनिल यादव

priyanka karkiएक जमाना थियो, जतिबेला फिल्मका पोस्टर नै फिल्म प्रचार र प्रवद्र्धनका लागि पर्याप्त हुन्थे । फिल्म हप्तौँसम्म चल्थे पनि । तर, अहिले दर्शक बाठा भइसकेका छन् । उनीहरू शिक्षित र आलोचनात्मक छन् । मनोरञ्जनमा अर्थ खोज्ने भइसकेका छन् । त्यसैले फिल्मको प्रमोसन अब शहरका भित्तामा टाँसिने पोस्टरमा मात्र सीमिति छैन । यसका लागि कलाकार र निर्देशक दर्शकसामु देखिनुपर्छ । आफ्नो फिल्मबारे दर्शकलाई बुझाउन सक्नुपर्छ । यो विश्वव्यापी ‘ट्रेन्ड’ भइसकेको छ । तर, धेरैजसो नेपाली कलाकार आफू अभिनीत फिल्मको प्रमोसनमा देखिँदैनन् ।

गत वर्ष नायक जीवन लुइँटेलका चार फिल्म ‘सिसा’, ‘ठूली’, ‘स्टुपिड मन’ र ‘भुलभुलैया’ रिलिज भए । तर, यी चारैवटा फिल्मको प्रमोसनमा जीवनको भूमिका देखिएन । न त उनी फिल्मको पब्लिसिटीमा हिँडे, न त मिडियासँगको साक्षात्कारमा देखिए । ‘भुलभुलैया’ प्रदर्शन हुँदा उनी अमेरिकामा थिए ।

अभिनेत्री सुमिना घिमिरेका तीन फिल्म ‘रङ बैजनी’, ‘भीमदत्त’ र ‘माला’ प्रदर्शनमा आए । तर, यी फिल्मको प्रमोसनमा उनी देखिइनन् । मंसिरमा प्रदर्शन भएको फिल्म ‘रङ बैजनी’ ले आयोजना गरेको ‘प्रेस–मिट’मा निर्देशक शम्भु प्रधानलाई सोधिएको थियो, ‘किन हिँडेकी छैनन् सुमिना फिल्मको प्रमोसनमा ?’ त्यतिबेला उनले सुमिना सम्पर्कबाहिर रहेको प्रतिक्रिया दिएका थिए । सुमिनासँगै गरिमा पन्तको पनि ‘रङ बैजनी’ मा प्रमुख भूमिका थियो । ‘गरिमालाई राम्रो भूमिका दिएको भनेर सुमिना असन्तुष्ट थिइन्,’ फिल्म निर्माण युनिटका एक सदस्यले भने, ‘त्यही भएर उनले फिल्म प्रमोसन बहिष्कार गरेकी हुन् ।’ फागुनमा सुमिनाले बिहे गरिन् । त्यसपछि फिल्मनगरीबाटै टाढिएकी उनले अन्य दुई फिल्मको प्रमोसनलाई पनि बेवास्ता गरिन् । अन्ततः यी तीनटै फिल्म व्यावसायिक रूपमा असफल भए ।

जेठमा रिलिज भएको फिल्म ‘हँसिया’ को प्रदर्शनताका हिरोइन हेमा श्रेष्ठले पनि यस्तै गरेकी थिइन् । एकातिर फिल्मको प्रमोसन भइरहेको थियो, तर हेमाको उपस्थिति कहीँ कतै थिएन । यो फिल्मले पनि सफलताको स्वाद चाख्न पाएन ।

यी त केही उदाहरणमात्र हुन् । अधिकांश कलाकार फिल्मको प्रमोसन र पब्लिसिटीमा खुलेर लागेको देखिँदैन । फिल्मको मार्केटिङ र मिडियासँगको अन्तरक्रियामा उनीहरू असंलग्न हुने गर्छन् । एक वर्षअघि एक कार्यक्रममा अभिनेता दयाहाङ राईले भनेका थिए, ‘लाग्छ– निर्माता र कलाकारबीचको सम्झौता डबिङसम्मका लागि मात्र हुन्छ ।’ हुन पनि त्यस्तै भइरहेको छ । फिल्मको डबिङ सकिएपछि कलाकारहरू अर्को प्रोजेक्टतिर लागेका पाइन्छन् । एकातिर फिल्म रिलिज हुन गइरहेको हुन्छ, तर त्यही फिल्मको कलाकार अर्को फिल्मको छायांकनमा व्यस्त हुन्छ । अहिले प्रदर्शनरत फिल्म ‘हवल्दार सुन्तली’ का नायक सविन श्रेष्ठ पनि यस्तै एक उदाहरण हुन् । ‘हवल्दार सुन्तली’ को प्रदर्शन मिति नजिँकिदै गर्दा उनी भने फिल्म ‘भाग् सानी भाग्’ को छायांकनमा व्यस्त थिए ।

नेपालका कलाकारले आर्थिक अभावका कारण प्रमोसनमा समय दिननसक्ने अभिनेता आर्यन सिग्देलको बुझाइ छ । एक कार्यक्रममा उनले भनेका थिए, ‘नेपाली कलाकारहरू एउटा सिनेमा खेलेर त्यसैको प्रमोसनमा कुद्न सक्ने अवस्था छैन ।’ तर, निर्माता माधव वाग्ले कलाकारको सफलता फिल्मको सफलतासँग जोडिने गरेको बताउँछन् । ‘नेपाली कलाकार व्यक्तिगत स्वार्थलाई मात्रै ध्यान दिन्छन्,’ उनी भन्छन्, ‘फिल्म हिट र फ्लप हुनुसँग उनीहरूको कुनै सरोकार हुँदैन । उनीहरू पैसा कमाउनतिर मात्र लाग्छन् ।’
mission paisaनिर्माता वाग्लेको पछिल्लो रिलिज भएको फिल्म ‘मिसन पैसा–२’ हो । फिल्म रिलिजका क्रममा नायिकाद्वय निशा अधिकारी र हर्षिका श्रेष्ठ प्रमोसनमा निष्क्रिय देखिए । एक÷दुईवटा प्रेस–मिटमा सहभागी हुनु र फेसबुकमा केही तस्बिर हाल्नुबाहेक उनीहरूले पब्लिसिटीमा कुनै भूमिका निर्वाह गरेनन् । ‘अहिलेसम्म रिलिज भएका मेरा कुनै पनि फिल्ममा कलाकारको सहयोग भएन,’ निर्माता वाग्लेको चित्त दुखाइ छ, ‘मैले उनीहरूको साथ पाएको भए अहिले फिल्मको हिसाबकिताब नै अर्कै हुन्थ्यो ।’ ‘फस्ट लभ’, ‘लुट’, ‘छड्के’ र ‘मिसन पैसा–२’ उनी निर्मित फिल्म हुन् ।

‘पूर्वसम्झौता हुनुपर्छ’
निर्देशक दीपेन्द्र के खनाल नेपाली कलाकारमा व्यावसायिक सोचको अभाव रहेको बताउँछन् । ‘एउटा फिल्मको प्रमोसनमा हिँड्ने बेलामा उनीहरू अर्को फिल्मतिर लागिसकेका हुन्छन्,’ उनी भन्छन्, ‘यसलाई रोक्न निर्माताले कलाकारसंँग प्रमोसनका विषयमा पूर्वसम्झौता गर्नुपर्छ । फिल्मको प्रमोसनमा हिँड्दा सबैभन्दा पहिले कलाकारलाई नै फाइदा पुग्ने हो । फिल्म चल्नु भनेको कलाकार पनि चल्नु हो ।’ निर्देशक खनाल प्रमोसनमा हिँड्नु कलाकारको बुद्धिमानी भएको बताउँछन् । भन्छन्, ‘अहिले केही कलाकारले यो कुरा बुझेका छन् । जस्तो, प्रियंका कार्की, दयाहाङ राई प्रमोसनमा देखिन्छन् ।’
kabadiमिडियामा बोल्दैनन् कलाकार
नेपालीमा भनाइ नै छ– ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ तर, केही नेपाली कलाकार बोल्न पनि हिचकिचाउँछन् । तीमध्ये एक हुन्, सौगात मल्ल । न त उनी प्रमोसनमा हिँड्छन, न त मिडियासामु बोल्छन् नै । यो वर्ष नै उनका तीन फिल्म ‘उत्सव’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ प्रदर्शनमा आए तर व्यावसायिक रूपमा सफल भएनन् । उनी प्रमोसनमा नदेखिनु पनि एक कारण मानियो । तर, प्रमोसनमा नहिँडेकै कारण फिल्म चल्दैन भन्नु तर्कसंगत नहुने सौगातको भनाइ छ । ‘कलाकारले काममा ध्यान दिने हो,’ उनी भन्छन्, ‘फिल्म बनिसकेपछि त्यसलाई कसरी दर्शकमाझ पु¥याउने भन्ने कुरा त निर्माताको हातमा हुन्छ,’ उनी भन्छन्, ‘कलाकार दौडाएर मात्र फिल्म चल्दैन, कन्टेन्ट पनि राम्रो हुनुपर्छ ।’ सविन श्रेष्ठ पनि नबोल्ने अभिनेताकै रूपमा चिनिन्छन् ।

व्यापारमा असर
केही समयअघि बलिउडमा अक्षय कुमारले फिल्म ‘जोकर’ र ‘वान्स अपन ए टाइम इन मुम्बई अगेन’को ‘मार्केटिङ क्याम्पेन’ मा साथ दिएनन् । जसले ती फिल्मको व्यापार नराम्ररी प्रभावित भयो । त्यतिबेला यो बलिउडमा बहसको विषय समेत बन्यो ।
२०७१ सालमा कलाकार प्रमोसनमा नहिँडेका नेपाली फिल्म कुनै पनि चलेनन् भन्दा हुन्छ । कलाकार प्रमोसनमा नहिँड्दा फिल्मको व्यापारमा असर गर्ने निर्माता वाग्लेको भनाइ छ । ‘फिल्मको प्रमोसनमा कलाकार हिँड्दा त्यसले पब्लिसिटीमा २५ प्रतिशत सघाउ पुग्छ,’ उनी भन्छन्, ‘कलाकारले नै आफ्नो प्रोडक्टमा ध्यान दिएनन् भने त्यसलाई दर्शकले कसरी विश्वास गर्लान् ?’

कुन फिल्मको प्रमोसनमा को देखिएनन् ?
निशा अधिकारी– मिसन पैसा–२
हेमा श्रेष्ठ– हँसिया
सुमिना घिमिरे– रङ बैजनी, भीमदत्त, माला
जीवन लुइँटेल– भुलभुलैया, सिस, ठूली, स्टुपिड मन
राजेश हमाल– मुखौटा
सौगात मल्ल– उत्सव, श्री ५ अम्बरे, षडङ्ग
प्रकृति श्रेष्ठ– उत्सव
दिलिप रायमाझी– विधवा
सुशील क्षेत्री– आगो–२, जोश
हर्षिका श्रेष्ठ– मिसन पैसा–२
रेखा थापा–दमदार

साभार : शुक्रवार साप्ताहिक

प्रतिक्रिया दिनुहोस्