स्व. श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनुर’ पाइरेसी गर्नेलाई कारवाही गरिने !



रंग खबर, काठमाण्डौं, पौष ०९– एक साता अघि पाइरेसी भएको स्वर्गिय श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ लाई युट्युब बाट हटाइएको छ । निर्माण कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’ लाई मंगलबार उक्त साइटबाट हटाइएको हो ।

अनलाइन पाइरेसी भएर हटाइएपछि निर्माण कम्पनीले बुधबारै प्रेसमिट गरी उक्त अनाधिकृत कार्यप्रति दुःख व्यक्त गर्दै पाइरेसी गर्नेको खोजी कार्य भैरहेको जानकारी दिएको छ । निर्माता मध्येका एक चन्द्र प्रसाद श्रेष्ठले ‘कोहिनूर’ पाइरेसीप्रति दुःख व्यक्त गर्दै भने– ‘स्व.श्रीकृष्णको फिल्मलाई सबैले हेरुन् भन्ने हाम्रो चाहना हो । जतिले हेर्नुभयो उहाँहरुलाई धन्यावाद । तर आफुसँग भएको फिल्मलाई पुनः अपलोड नगर्न अनुरोध गर्दछु ।’ उनले थपे– ‘विश्वमा रहनु भएका सबै नेपालीमाझ उच्च गुणस्तरमा स्व.श्रीकृष्णजीको फिल्मलाई हामी लिएर आउनेछौं ।’
kohinoor press meet

निर्माता श्रेष्ठले पाइरेसी गर्नेलाई कानुन बमोजिम कारबाहिको माग गरिने समेत बताए । उनले भने–‘पाइरेसी गर्ने को हो ? पत्ता लगाउने प्रक्रिया भैरहेको छ । वास्तविक ठेगाना उल्लेख नगरिएकाले पाइरेसीकर्ताको खोजीमा केही गाह्रो भैरहेको छ । तर, पत्ता लागेपछि हामी कानुन बमोजिम नै साइबर क्राइम अन्र्तगत् कारबाहिको माग गर्छौ ।’

यता ‘कोहिनूर’ निर्देशक आकाश अधिकारीले भने कुनै पनि फिल्मको पाइरेसी हुनु सिङ्गो नेपाली फिल्म क्षेत्रको लागि घाटा रहेको बताए । निर्देशक अधिकारीले भने, ‘कुनै पनि फिल्मको पाइरेसी हुनु भनेको सिङ्गो नेपाली फिल्मलाई घाटा हुनु हो । अनाधिकृत रुपमा हुने पाइरेसीलाई रोक्न आवश्यक छ ।’ निर्देशक अधिकारीले पनि ‘कोहिनूर’ पाइरेसी गर्नेलाई कानुन बमोजिम कारबाहिको माग गरिने बताए । स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म भएका कारण ‘कोहिनूर’ को विश्वभर रहेका नेपाली माझ चासो छ । यो फिल्मको विश्वका करिब एक दर्जन मुलुकमा पहिलो चरणको प्रदर्शन पश्चात् दोश्रो चरणको प्रदर्शनको क्रममा छ ।

स्व.श्रीकृष्ण र पत्नी अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको ‘कोहिनूर’ ले नेपालमा अत्याधिक दर्शकको मन जित्न सफल भएको थियो भने व्यापार पनि ऐतिहासिक गरेको थियो । नेपालमा ऐतिहासिक सफलतासँगै ‘कोहिनूर’ को माग विश्व बजारमा व्यापाक छ ।

प्रतिक्रिया दिनुहोस्