सुदर्शनको जित, फेरि पनि हारे निरक



रंगखबर, काठमाडौँ – ९ वर्ष अगाडीको भदौ २६ मा निर्देशकद्वय सुदर्शन थापा र निरक पौडेलले बक्स अफिसमा युद्द लड्नु पर्यो । दुवै पहिलो निर्देशन लिएर हलमा उत्रिएका थिए ।

सुदर्शनको टिममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, जीवन लुइँटेलजस्ता नयाँ कलाकार थिए । भने निरक तर्फ ऋतु भट्टराई, निरज, बराल, उषा रजकसँगै तृप्ति नाडकर, निर शाहलगायत थिए । तर, निरकको मुख्य हतियार ‘कुसुमे रुमाल’को बृहत ब्राण्ड थियो । ‘कुसुमे रुमाल’को सिक्वेल अगाडी ‘मेरो एउटा साथि छ’लाई निक्कै गाह्रो पर्ने अनुमान गरिएको थियो । दुवै फिल्म लभस्टोरी भए पनि ‘कुसुमे रुमाल’ सुरुवाती दिनमा हावी देखिन्थ्यो ।

जब भदौ २६ मा ‘कुसुमे रुमाल २’ र ‘मेरो एउटा साथि छ’ रिलिज भए । नतिजाले अर्कै रुप लियो । गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित ‘कुसुमे रुमाल २’ले ब्राण्डलाई माटोमै मिसाईदियो । जहाँ ‘कुसुमे रुमाल’ जस्तो लभस्टोरी फिल्मको ब्राण्डलाई सुदर्शनले पाखा लगाए, त्यहिँबाट सुदर्शन लभस्टोरी निर्देशकको रुपमा उदय भए । ‘मेरो एउटा साथि छ’ हिट बनेपछि सुदर्शनले लभस्टोरी फिल्ममै आफुलाई ढाले । फलस्वरूप उनि अहिले यो विधामा सर्वाधिक लोकप्रिय मानिन्छन ।

सुदर्शन/निरक दोस्रो युद्द

निरक र सुदर्शनको दोस्रो युद्द अहिले चलिरहेको छ । तर, यसपटक पनि बाजी सुदर्शनले नै मारेका छन् । बक्स अफिसमा पहिलो साताको कमाईले सुदर्शनको ‘रामकहानी’ अगाडी छ । भने, निरकको ‘रोज’ निक्कै पछाडी । पहिलो युद्दमा नराम्रो पराजय बेहोरेका निरकले यसपटक त्यो भन्दा बढी लज्जास्पद हार बेहोर्नुपर्यो । उनको फिल्म बक्स अफिसमा मात्र चिप्लिएन, समिक्षात्मक रुपमा पनि ध्वस्त बन्यो । समिक्षकको नजरमा ‘रामकहानी’ अगाडी छ ।

यसपटकको युद्द घोषणा निरकले गरेका थिए । सुदर्शनले तोकेको भदौ २२ को डेटमा ‘रोज’ आउनुले यो पुष्टि गर्छ । निरकले यसपटक प्रदीप खड्काको स्टारडम र फिल्मको कथासँग जोडिएको विवादलाई मुख्य मेरुदण्ड बनाएर सुदर्शनलाई हराउन तयार भए ।

सुदर्शन पहिलेनै पावरफुल टिम र लोकप्रिय जानराका साथ मैदानमा उत्रदै थिए । प्रतिक्षित फिल्मको लिस्टमा रहेको ‘रोज’ आउँदा ‘रामकहानी’ पछाडी हटेन । निरक यसपटक ‘रामकहानी’लाई हराएर नयाँ कहानी लेख्न चाहन्थ्ये । तर, आफ्नै हतियार भुत्ते भैदिदा निरकले पुन: पराजय बेहोर्न पुगे ।

प्रतिक्रिया दिनुहोस्