नाजिर हुसेनसँग पात्र संवाद : पुरेत्याइँ गरियो, भ्यागुती भइयो



पात्र संवाद :

अभिनेता नाजिर हुसेनले रंगमञ्च हुँदै नेपाली फिल्मको यात्रा तय गरेका हुन् । उनले विविध खालका चरित्र निर्वाह गरेका छन् । आफ्ना प्रिय क्यारेक्टरबारे उनले अनिल यादवसँग कुराकानी गरेका छन्ः

दण्डपाणि चालिसे
मण्डला थिएटरको भवन निर्माण भएपछि मञ्चन भएको पहिलो नाटक हो, ‘सुनकेसरी’ । र, यही नाटकको पात्र हो– दण्डपाणि चालिसे । म त्यतिबेला २० वर्षको थिएँ । तर, ४० वर्षको पुरोहितको भूमिका निर्वाह गर्नुपरेको थियो । नाटकका निर्देशक राजन खतिवडा मलाई ‘पाका पुजारीहरूको हाउभाउ र काम गराइमा ध्यान देऊ’ भन्नुहुन्थ्यो । पुजारीहरू पात्रो पल्टाउँदा हात कसरी हल्लाउँछन्, औँला कसरी चलाउँछन्, सबै ख्याल गरेँ । पशुपतिनाथ मन्दिर पुगेर त्यहाँ बस्ने पुजारीका गतिविधि नियालेँ । मैले मेहनत गरेको चरित्रमध्ये पर्छ, दण्डपाणि चालिसे ।

भ्यागुती
तीन वर्षअघि सजन थापाको निर्देशनमा मञ्चन भएको नाटक ‘जम्पिङ फ्रग’को क्यारेक्टर हो यो । यो भूमिका निर्वाह गर्न पाउँदा म अत्यन्तै खुशी भएको थिएँ । आफ्नो पात्रमा नारी स्वभाव झल्काउनका लागि म घरमा मेरो दिदी (मामाको छोरी) को पछिपछि हिँड्थेँ । उहाँकै रिदम समात्न खोज्थेँ । मञ्चमा भ्यागुताको मास्क लगाएर पुगेपछि म आफूलाई साँच्चिकै भ्यागुती महसुस गर्थें । यो नाटकमा संवादको प्रयोग थिएन । म्युजिकअनुसार बडी ल्याङ्वेज चलाउनुपथ्र्यो । त्यसैले काम गर्न चुनौती थियो ।

विजय यादव
राजन खतिवडाले निर्देशन गर्नुभएको नाटक ‘माथा पञ्चर’को क्यारेक्टर हो यो ।  नाटकमा मेरो आफ्नै ठाउँ बाराको कथा थियो । नाटकका पात्र सबै वास्तविक थिएँ । मैले निर्वाह गरेको विजयको क्यारेक्टर मेरो आफ्नै साथीको थियो । उसलाई मैले सुनाउँदा ऊ उत्साहित थियो । तैपनि, उसले नाटक हेर्न पाएन । सोर्सफोर्सका कारण एउटा प्रतिभाशाली मान्छेले जागिर नपाउँदा उसले भोग्ने परिणाम वरिपरि नाटक घुमेको थियो । समाजको यथार्थ चरित्र भएकाले पनि मलाई यो प्रिय लाग्छ ।

April 2017
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

रामेश्वर यादव
फिल्म ‘होस्टेल रिटन्र्स’को यो क्यारेक्टरबाटै म ठूलो मासमा ‘नोटिस्ड’ भएँ । मेरो फिल्म करिअरकै टर्निङ प्वाइन्ट बन्यो यो क्यारेक्टर । मलाई मैथिली भाषा बोल्न आउँदैनथ्यो । त्यसैले यो मधेशी चरित्र निर्वाह गर्नका लागि मैले मसँगै थिएटरमा काम गर्ने साथीको सहयोग लिएको थिएँ । उसले नेपालीलाई मैथिलीमा अनुवाद गरिदिन्थ्यो । अनि, म त्यसलाई घोकेर अभ्यास गर्थें । यो क्यारेक्टरबाट मलाई धेरै नै तारिफ मिल्यो । अहिले पनि धेरैले मलाई नाजिरभन्दा पनि रामेश्वर यादव भनेर चिन्छन् । मेरा डायलग ‘अकेले छ भनेर हेपेको’ भन्दै जिस्काउँछन् ।

राज्जा
रिलिजको तयारीमा रहेको फिल्म ‘राज्जारानी’को क्यारेक्टर हो यो । यो फिल्ममा मैले राज्जाको भूमिका गरेको छु । ऊ आफूलाई राजाको पनि राजा सम्झिन्छ । आफ्नो पावर एकदमै ठूलो भएको ठान्छ । जे गर्दा पनि फिल्मी शैलीमा गर्न खोज्छ । खासमा मलाई यो क्यारेक्टरको स्वभाव रमाइलो लागेको हो ।

सम्राट
फिल्म ‘गाँठो’मा मैले निर्वाह गरेको क्यारेक्टर हो, सम्राट । मैले एकपल्ट एउटा नाटकमा पेन्टरको सानो भूमिका निर्वाह गरेको थिएँ । त्यतिबेलैदेखि मलाई पेन्टरको भूमिकामा फिल्म खेल्ने मन थियो । त्यो सपना ‘गाँठो’बाट पूरा भयो । फिल्म चल्नु नचल्नु अर्कै कुरा हो । तर, मलाई असाध्यै सन्तुष्टि मिलेको क्यारेक्टर हो यो । बाइपोलार डिसअर्डर भन्ने रोगबाट ग्रसित एउटा पेन्टरको रोल गरेको छु यसमा । यो क्यारेक्टरका लागि मैले एक महिना एकजना पेन्टरसँग समय बिताएको थिएँ । जो यो क्यारेक्टरसँग मिल्दोजुल्दो हुनुहुन्थ्यो । यो फिल्मका लागि म यतिसम्म क्यारेक्टरमा डुबिसकेको थिएँ कि फिल्म रिलिज भइसक्दा म आफैँलाई अलिकति असामाजिक भएको महसुस भइरहेको थियो । पहिलेजस्तो हाँस्ने रमाइलो गर्ने नाजिर भइरहेको थिइनँ । त्यसैले आफ्नो समस्या लिएर तीनपल्ट मनोचिकित्सककोमा पुगेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्