कर्पोरेट शोमा कृषि प्रतिनिधि र पत्रकारले के भने ‘गोपी’लाई ?



रंगखबर, काठमाडौँ – नेपाल कृषिप्रधान देश हो । तर, देशका अधिकाँस युवाहरु रोजगारको लागि दिनहुँ बैदेशिक यात्रामा लम्किरहेका छन् । सरकारले कृषिलाई मध्येनजर गर्दै बिभिन्न योजनाहरु ल्याइरहे पनि कृषि पेशाले जनतालाई अझै खुसियाली जीविकोपार्जनमा भूमिका खेल्न सकिरहेको छैन ।

कृषिकै अभिन्न पाटो गाइ पालन पनि हो । यसतर्फ अहिले केहि युवा जमात आकर्षित भैरहेका छन् । तर, नतिजामा प्राय: असफल छन् । यहि विषयलाई कोट्ट्याएर समिक्षक तथा निर्देशक दीपेन्द्र लामाले ‘गोपी’ निर्देशन गरेका छन् । फिल्म माघ १८ देखि अलनेपाल रिलिज हुँदैछ ।

रिलिजको पुर्बसन्ध्यामा फिल्मको एक स्पेसल शो र कर्पोरेट शो सम्पन्न भैसकेका छन् । बुधबार क्यापिटल म्यागजिनले आयोजना गरेको कर्पोरेट शोमा कृषिमन्त्री चक्रपाणि खनाल बलदेव लगायत कृषि क्षेत्रसँग सम्वन्धित संस्थाका थुप्रै कर्मचारीले फिल्म हेरे ।

विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त स्टारर फिल्म हेरिसके पछि कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तित्वबाट उत्कृष्ट प्रतिक्रिया आएको थियो । कृषिको क्षेत्रमा ‘गोपी’ले महत्वपूर्ण भूमिका खेल्ने र यस्तो खालको फिल्म कृषिप्रधान देशका नागरिकहरुले हेर्ने पर्ने अधिकाँसले बताएका थिए ।

पत्रकारहरुबाट पनि कृषिको गाइ पालन जस्तो सुस्म विषयलाई लिएर निर्देशकले राम्रो फिल्म बनाएको प्रतिक्रिया आएको थियो । केहि सुस्त गतिमा बगेपनि उठाइएको विषयबस्तुको मर्म नमरेको र पटकथा र संवादले दर्शकलाई बाँधिराख्छन । अभिनेता बिपिन कार्कीले गाइ पालकको भूमिकामा जिवन्त अभिनय पस्केका छन् ।

त्यस्तै बर्षा राउत र सुरक्षा पन्तले भूमिकामा न्याय गरेका छन् । फिल्मले बैदेशिक रोजगारलाई वेवास्ता गरि नेपालमै केहि गर्ने अठोट बोकेको युवकको कथा भन्छ । त्यसमा पात्रले गाइ पालनलाई छनोट गरेका छन् ।

निर्देशकको कथा र सामिप्यराज तिमिल्सिनाको पटकथामा भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

कृषिमन्त्रीको प्रतिबद्दता

कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले फिल्म ‘गोपी’ असाध्यै प्रेरणादायी कथामा बनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । सोमा उपस्थिती जनाउँदै उनले ‘गोपी’लाई केही न केही सहयोग गर्ने आश्वासन दिएका थिए ।

‘मलाई थाहा भएसम्म राज्यसँग यस्ता फिल्मलाई के गर्ने भन्ने स्पष्ट नीति छैन । त्यसैले अहिले नै म के गर्ने भनेर यहाँ आश्वासन दिन सक्दिन । तर, फिल्मको कथा प्रेरणादायी छ । सरकार गोपीप्रति सकारात्मक छ,’ खनालले भने ।


आफू पनि कुनै समय कलाकार रहेको स्मरण गर्दै मन्त्री खनालले फिल्मले किसानका समस्यालाई दुरुस्त प्रस्तुत गरेको बताए । उनले भने, ‘कति समस्यासँग त म पनि परिचित थिएँ तर धेरै समस्या यो फिल्म हेरेपछि पनि थाहा पाएँ । बजार व्यवस्थापन, ऋण प्रवाहीकरण आदिमा सरकारले ध्यान दिनुपर्ने रहेछ जस्तो लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्