२०७६: विदेशी फिल्म र कोरोनाको त्रासमा खुम्चिएको बक्सअफिस



रंगखबर, काठमाडौँ – कोरोना त्रासका माझ आजबाट हामी नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौँ । त्यसो भए नेपाली बक्सअफिसका लागि २०७६ कस्तो रह्यो त ? एकपटक फर्केर हेरौँ ।

जम्मा ५५ फिल्म रिलिज भएको यसवर्ष संख्यात्मक र रचनात्मक फिल्मको खडेरी देखियो । बक्सअफिसमा आशा गरिएका फिल्मले पनि घुडा टेके । ‘कालो वर्ष’बाट सुरु भएको बक्सअफिसमा फिल्म ‘धुलो’ अन्तिम रिलिज भयो ।

बक्सअफिसमा पहिलो लगानी उठाउन सफल फिल्म ‘दाल भात तरकारी’ बन्यो । महजोडीले बनाएको फिल्मको प्रतिक्रिया भने झुर रह्यो । त्यसैले इनिसियल व्यापार राम्रो भएपनि फिल्म बक्सअफिसमा लामो समय टिक्न सकेन ।

बैशाखमै अर्को फिल्म ‘पसिना’ पनि फ्लप सावित भयो । यो महिनामा हलिउड फिल्म ‘एभेन्जर्स: इन्ड गेम’ र बलिउडको ‘कलंक’ रिलिजले चर्चा पाए । एभेन्जर्सले नेपाली बक्सअफिसबाट मनग्य आम्दानी गर्दा नेपाली फिल्म रिलिजको लागि हच्किए ।

जेठ महिनामा रिलिज भएका ७ फिल्म मध्ये ‘जात्रै जात्रा’ मात्र सफल बन्यो । बक्सअफिसको यो पहिलो सुपरहिट फिल्म थियो । सँगै रिलिज भएको ‘वीर विक्रम २’ भने फ्लप बन्यो ।

‘कप्स’, ‘कुम्भ करण’, ‘काउसो’, ‘रेस’ र ‘प्रेम दिवस’ जस्ता फिल्म हलमा ज्यादा टिक्न सकेनन् । बलिउडको ‘भारत’ले राम्रो व्यापार गर्यो ।

असारमा रिलिज तीन ओटै फिल्म ‘आप्पा’, ‘किर्तिपुर’ र ‘सानो मन’ फ्लप भए । यो महिना बक्सअफिसमा विदेशी फिल्मको दवदवा रह्यो । बलिउडका ‘कबिर सिंह’, ‘सुपर ३०’ जस्ता फिल्मले राम्रो व्यापार गर्दा हलिउडका ‘स्पाइडरम्यान: फार फ्रम होम’ र ‘एनाबेल कम्स होम’ले नेपाली दर्शक तान्न सफल भए ।

साउन संख्यात्मक रुपमा बलियो देखिएपनि व्यापारिक हिसाबले पूर्णत असफल देखियो । यो महिना रिलिज भएका १० का १० फिल्म फ्लप भए । आशा गरिएका ‘घर’ र ‘हजार जुनीसम्म’लेसमेत दयनीय व्यापार गरे ।

‘बदला’, ‘एकलव्य’, ‘सुपर गोर्खे’, ‘न यता न उता’, ‘रातो गलबन्दी’, ‘साइनो’, ‘रे’, ‘काँचुली’ जस्ता फिल्म हलमा रिलिज भएर उत्रिए ।

यो महिनामा पनि हलिउडका ‘द लायन किङ’ र ‘फास्ट एण्ड फ्युरियस’, बलिउडका ‘मिसन मंगल’, ‘बाट्ला हाउस’कै दवदवा रह्यो ।

भदौमा रिलिज पाँचै फिल्म फ्लप भए । आशा गरिएका ‘मारुनी’ र ‘जाइरा’ले घुडा टेक्दा ‘पासवर्ड’, ‘सोच’ र ‘हिरो नम्बर १’ साता नकाट्दै बक्सअफिसबाट उत्रिए ।

भदौमा पनि बलिउड फिल्म ‘साहो’ र ‘छिचोरे’ले बक्सअफिस तताए ।

आजभोली असोज महिना बक्सअफिसको लागि शुभ मानिन्छ । केहि वर्ष यता दशैँमा रिलिज हुने फिल्मको व्यापार राम्रो देखिन थालेपछि निर्माताको रोचक भिडन्त देखिन्छ ।

त्यसैले असोजमा आशा गरिएका ‘कबड्डी कबड्डी कबड्डी’, ‘रातो टिका निधारमा’, ‘छ माया छपक्कै’सहित पाँच फिल्म रिलिज भए । ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ सुपरहिट सावित हुँदा ‘रातो टिका निधारमा’ फ्लप बन्यो ।

‘काले दाइ’ र ‘शिवम’ रिलिज भएर उत्रिए ।

असोजमै बलिउडको ‘वार’ र हलिउडको ‘जोकर’ले पनि बक्सअफिसमा मनग्य आम्दानी गरे । विदेशी फिल्मको दवदवाका वावजुत ‘कबड्डी ३’ र ‘छ माया छपक्कै’को सफलताले नयाँ किरण थपिदियो ।

‘कबड्डी ३’ले व्यापारिक सफलता हाँसिल गर्दा समिक्षात्मक रुपमा भने कमजोर मानियो । ‘छ माया छपक्कै’ समिक्षात्मक रुपमा पनि बलियो देखियो ।

कार्तिकमा रिलिज सबै ७ फिल्म फ्लप भए । ‘पोइ पर्यो काले’, ‘घामड शेरे’ले आशामा निराशा भरिदिए । ‘लक्ष्मी रानी’, ‘बादशाह जुट’, ‘जीवन काँडा की फुल’, ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ बक्सअफिसमा आए गएको पत्तै भएन ।

यो महिनामा बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘बाला’ले नेपाली बक्सअफिसबाट राम्रो व्यापार गरे ।

मंसीरमा रिलिज ‘च च हुई’, ‘सरौतो’, ‘लभ यु हमेशा’, ‘मखमली मखमली’, ‘माछा माछा’, माया पिरिम’ र ‘प्रेम संसार’ले बक्सअफिसमा साता लामो यात्रा पनि तय गर्न सकेनन् । यो महिनादेखि पुन: नेपाली फिल्मको व्यापारमा भारी गिरावट देखियो ।

यो महिना रिलिज आधा दर्जन विदेशी फिल्मको व्यापार ठिक-ठाक रह्यो ।

पुषमा कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । यस्तो समय विरलै आउने गर्छ । पुषमा बलिउड फिल्मको दवदवा उच्च बिन्दुमा पुग्यो । ‘गुड न्युज’, ‘दबंग ३’, ‘मर्दानी २’, ‘छपाक’ र ‘तान्हाजी: द अनसुङ्ग वारियर’ले नेपाली फिल्मको सातो उडाइदिए ।

माघमा ‘सेल्फी किङ’, ‘साङ्लो’, ‘दि कर्मा’ र ‘१२ सत्ताइस’ रिलिज भए । ‘सेल्फी किङ’ र ‘साङ्लो’को राम्रो व्यापार गर्ने अनुमानले फेल खायो । ‘साङ्लो’ले सिंगलमा सुरुवाती व्यापार राम्रो गरेपनि निरन्तरता दिन सकेन । फलस्वरूप दुवै फिल्म फ्लप भए ।

‘दि कर्मा’ र ‘१२ सत्ताइस’ले फिल्मको संख्या मात्र बढाए ।

यो बीचमा बलिउडका ‘पंगा’, ‘स्ट्रिट डान्सर’, ‘मलंग’, ‘जवानी जानेमान’ले ठिकैको व्यापार गरे |

असोजदेखि ओरालो लागेको बक्सअफिस फागुनमा औसत रह्यो । ‘आमा’ व्यवसायिक र समिक्षात्मक रुपमा सफल हुँदा ‘सेन्टी भाइरस’ लगानी रिकभरको नजिक पुगेर हलबाट उत्रियो । गौतम बुद्ध अन्तरराष्ट्रिय किकेट मैदान निर्माणका निमित्त धुर्मुस-सुन्तलीले बनाएको ‘सेन्टी भाइरस’ले राम्रो व्यापार गर्ने अनुमान थियो ।

‘सेन्टी भाइरस’ फ्लप फिल्मको सुचीमा सुचिकृत हुँदा फागुनमै रिलिज भएका ‘लभ डायरिज’ र ‘धुलो’ पनि छिट्टै हलबाट उत्रिए ।

यस समयमा बलिउडका ‘लभ आजकल’, ‘शुभ मगल ज्यादा सावधान’, ‘थप्पड’ र ‘बाघी ३’ जस्ता फिल्मले नेपाली फिल्मलाई राम्रै टक्कर दिए ।

फागुन तेस्रो सातादेखि देशमा कोरोनाको त्रास बढेसँगै प्रदर्शनरत ‘आमा’ र ‘धुलो’ले बक्सअफिस छोड्नु पर्यो । जोखिम बढ्दै गएपछि ‘म यस्तो गीत गाउँछु २’ र ‘नीरफुल’को रिलिज स्थगित गरियो ।

सरकारले लकडाउन घोषणा गरेपछि चैतमा रिलिज हुने भनिएका ‘लक्का जवान’, ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’को रिलिज स्वत: स्थगित भयो ।

कोरोना र विदेशी फिल्मको डर

नेपालमा कोरोना आउनु भन्दा अगाडीदेखि नै विदेशी फिल्म एक प्रकारको भाइरस जस्तै थियो । यसपटक त विदेशी फिल्मसँग जुध्ने आँट कुनै पनि निर्माताले गरेनन् ।

त्यसैले वर्षका ५२ हप्ता मध्ये १७ हप्ता कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । जसमा ६ हप्ता कोरोनाले प्रभावित थिए । वर्षभरि ठुला विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म पछाडी धकेलिनु र घरेलु फिल्मसँगै जुध्नु परम्परा जस्तै भैसक्यो ।

यो वर्षको नेपाली बक्सअफिस बिथोलिनुमा विदेशी फिल्म र कोरना भाइरसको डर मुख्य तत्व बने ।

समिक्षात्मक रेटिङ बढेन

यस वर्ष कलात्मक फिल्मको खडेरी पनि देखियो । अघिल्ला वर्षमा जस्तै ४ माथिको रेटिङ पाउने एक पनि फिल्म बनेनन् । ‘जात्रै जात्रा’, ‘आमा’, र ‘छ माया छपक्कै’लाई समिक्षकले औसत भन्दा माथिको रेटिङ दिए । यी फिल्मको रेटिङ ३ देखि ३.५ को बीचमा रह्यो ।

आशा गरौँ कोरोना अन्त्यपछि नेपाली फिल्म राम्रो लयमा फर्किनेछ । र, संख्यात्मक भन्दा कलात्मक फिल्मको निर्माण बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्