ठुला फिल्मको चेपुवामा ‘लप्पन छप्पन २’ र ‘ए मेरो हजुर ४’



रंगखबर, काठमाडौँ – कोरोनाको दोस्रो लहर मत्थर हुँदै गर्दा झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ र मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ले रिलिज डेट घोषणा गरेका थिए ।

‘लप्पन छप्पन २’ले महाशिवरात्री लक्षित गर्यो । भने, ‘ए मेरो हजुर ४’ले नेपाली नयाँ वर्ष । अहिलेसम्म यी दुई डेटमा अन्य कुनै नेपाली फिल्मले रिलिज घोषणा गरेका छैनन् ।

तर, यी दुई फिल्म बलिउडका ठुला फिल्मको चेपुवामा पर्ने भएका छन् । अर्को अर्थमा भन्नु पर्दा बलिउड फिल्मसँगको भिडन्त ।

‘लप्पन छप्पन २’ले महाशिवरात्रीको विदा खाने गरि फागुन १३ लाई रिलिजको लागि छनोट गरेको थियो । अब यो मितिमा फिल्मले बलिउडको ‘जोयस भाई जोरदार’सँग भिड्नु पर्नेछ ।

‘जोयस भाई जोरदार’मा अहिलेका बलिउड हटकेक रणवीर सिंहको शिर्ष भूमिका छ । भने, मल्टीस्टारर ‘लप्पन छप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ ।

 ‘लप्पन छप्पन २’ रिलिजको ११ दिन अगाडी आमिर खानको ‘लाल सिंह चड्डा’ पनि रिलिज हुँदैछ । भने, एक साता पछाडी अक्षय कुमार स्टारर ‘बच्चन पाण्डे’ हल छिर्नेछ ।

उता नयाँ वर्षमा दर्शक तान्ने लक्ष्य सहित चैत २५ मा रिलिज घोषणा गरेको ‘ए मेरो हजुर ४’लाई बक्सअफिसमा सहज हुने छैन । किनकि नयाँ वर्षको दिन मै दक्षिण एसिया कै बहुप्रतिक्षित फिल्म ‘केजिएफ – च्याप्टर २’ रिलिज हुनेछ ।

यसअघि ‘केजिएफ’ले नेपाली बक्सअफिसमा बम्परको व्यापार गर्दै ५१ दिने सफल प्रदर्शन गरेको थियो । त्यसैले यसको सिक्वेल नेपाली दर्शक माँझ पनि निक्कै प्रतिक्षित छ ।

यस्तै ‘ए मेरो हजुर ४’ रिलिजको एक साता अगाडी आर माधवन स्टारर ‘रकेट्री’ रिलिज हुँदैछ । 

नेपालको सफल सिरिज मध्येको एक ‘ए मेरो हजुर’को चौथों भागमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका छ ।

अब हेर्न बाँकी छ, अन्तिम समयसम्म ‘ए मेरो हजुर ४’ र ‘लप्पन छप्पन २’ले रिलिज मिति परिवर्तन गर्ने छन्, वा भिडन्तको लागि तयार हुने छन् ?

प्रतिक्रिया दिनुहोस्