‘तथास्तु’ को प्रचारप्रसारमा रेखा थापाको सक्रियता यसरी बढ्दै



रंग खबर, काठमाण्डौं । रेखा फिल्मस्का बाहेक बाहिरी ब्यानरका फिल्मको प्रचार प्रसारमा कमै चासो दिने अभिनेत्री रेखा थापाले आगामी पौष २५ देखि प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु’ को प्रचार प्रसारमा भने कम्मर कँसेर लागि परेकी छिन् । जगदिश्वेर थापाको लेखन र सविर श्रेष्ठको निर्देशन रहेको ‘तथास्तु’ को मुख्य पात्र नै उनी हुन् ।

rekha_thapa_nepali_tara

प्रचार प्रसारको क्रममा रेखा थापा ‘तथास्तु’ लिएर यसै साता तीन वटा च्यानलबाट प्रशारण हुने गायन प्रतियोगात्मक कार्यक्रम नेपाली तारामा सहभागी भएकी छन् । अतिथि निर्णायकको भूमिकामा सहभागी भएकी रेखाले ‘तथास्तु’ बारे बोलेकी थिइन् । रेखाका लागि एक प्रतिस्पर्धीले ‘तथास्तु’ को हिट गीत ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ गीत समेत गाइदिएका थिए । छायाँकन भैसकेको रेखा सहभागी भएको नेपाली ताराको अंक नेपाल टेलिभिजनमा यही शनिबार साँझ ८ः५० बजे प्रशारण हुनेछ भने इमेज टेलिभिजनमा सोमबार साँझ ८ बजे र नेपाल वानमा बुधबार साँझ ९ बजे प्रशारण हुनेछ ।

नेपाली तारामा तेश्रो स्थान हाँसिल गर्ने प्रतियोगीलाई आफ्नो फिल्म ‘रामप्यारी’ मा गायनको अवसर दिने समेत रेखाले वचन दिइन् । हिम्मतवाली रेखाले कार्यक्रममा भनिन्, ‘पहिलो र दोश्रोलाई त जहाँ त्यही अवसर मिल्छ । प्रतियोगीतामा तेश्रो हुनेलाई अवसर पाउन गाह्रो हुन्छ । त्यसैले नेपाली तारामा तेश्रो हुनेलाई रेखा फिल्मस्ले गायनको अवसर दिनेछ ।’

यो फिल्ममा रेखाको एक्सन अवतारलाई देख्न सकिन्छ । फिल्म ‘तथास्ुत’ मा रेखासँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको पनि अभिनय छ । बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत छ ।

रेखाको स्टारडम, प्रचारप्रसार, गीतसंगीत, ट्रेलर र कथावस्तुका कारण ‘तथास्तु’ अहिले दर्शकमाझ प्रतिक्षित बनेको छ । यसले कत्तिको दर्शकको मन जित्ने छ, त्यसका लागि त रिलिज मिती पर्खनैपर्छ । कि कसो ?

प्रतिक्रिया दिनुहोस्