बलात्कारको शिकार बनेका दुई पूजाप्रति रेखा थापाको चासो । भेट्न पुगिन रक्षा नेपालमा



रंग खबर, काठमाण्डौं । सामूहिक बलात्कारमा परेकी पूजा बोहोरा र आफ्नै बुवा तथा हजुरबुवाबाट बलात्कारको शिकार भएकी पूजा कार्कीलाई भेट्न अभिनेत्री रेखा थापा बिहिबार मध्यान्ह रक्षा नेपालको कार्यलय सोह्रखुट्टे पुगिन् । उनले त्यँहा रक्षा नेपालको संरक्षणमा रहेका दुई पूजालाई भेटेर उनीहरुको अवस्था बारे बुझेकी हुन् ।

Rekha Thapa meets pooja's

आफु अभिनित फिल्म ‘तथास्तु’ प्रदर्शनको एक दिन अगाडी रक्षा नेपाल पुगेकी रेखाले त्यहाँ जानुको कारण बारे भनिन्, ‘सञ्चार माध्यममा दुई पूजा बहिनीहरुको बारेमा धेरै पढेको र सुनेको थिएँ । उहाँहरुको अवस्था कस्तो छ भनेर बुझ्न मन लागेर आएको हुँ ।’ ‘तथास्तु’ रिलिजकै एक दिन अगाडी किन त ? भन्ने जिज्ञासामा रेखाले प्रस्ट्याइन्, ‘फिल्म र उहाँहरुको घटना लगभग उस्तै छ । पूजा कार्की आफ्नै बुवा र हजुरबुवाबाट बलात्कारमा पर्नु भयो । ‘तथास्तु’ मा म आफ्नै श्रीमानबाट बलात्कृत हुन्छु । फिल्मले उहाँहरुको घटनालाई सम्बोधन गरेको छ त्यसैले भेटौं भनेर यहाँ आएको हुँ ।’ रेखा फिल्मस्ले निर्माण गर्ने आगामी फिल्म ‘रामप्यारी’ मा समेत दुई पूजाको अभिनय रहनेछ । हालसम्म सार्वजनिक नभएका दुई पूजा रेखाकै फिल्मबाट सार्वजनिक हुनेछन् । रेखाको यो योजनामा दुई पूजा खुसी छन् भने रक्षा नेपाल प्रमुख मेनुका थापा समेत सहमत भैसकेकी छन् ।

निर्देशक सबिर श्रेष्ठले ‘तथास्तु’ निर्माण पुर्व नै रक्षा नेपाल आउन नपाएकोमा पछुताए । सबिरले भने, ‘फिल्म बनाउनु भन्दा पहिल्यै आएको भए मैंले अझ राम्रो कथा पाउने रहेछु । तरपनि हामीले उहाँहरुको घटनालाई सम्बोधन गर्ने प्रयास गरेका छौं ।’ जगदिश्वर थापाले लेखेको फिल्म ‘तथास्तु’ ले नारी हिंसा र प्रतिकारको विषयमा बोल्छ । फिल्ममा रेखासँगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको मुख्य भूमिका छ ।

rekha thapa fans

३२ जना बालबालिका तथा किशोरीहरुलाई संरक्षाण दिदैं आएकी रक्षा नेपाल प्रमुख मेनुका थापाले आफ्ना छोरीछोरीहरुको सपना रेखा थापा जस्तै हिम्मतवाली बन्ने रहेको सुनाइन् । उनले भनिन्, ‘यहाँ बस्ने सबैजना रेखा बैनीका फ्यानहरु हुन् । उनीहरु पनि भविष्यमा रेखा बैनी जस्तै हिम्मतवाली बन्न चाहान्छन् ।’ वि.स.२०६८ साल चैतमा एस.एल.सी परिक्षा दिन जाँदा सामूहिक बलात्कारको शिकार भएकी पूजा बोहोराले कुनै पनि बलात्कारीलाई कानुनले छोड्न नहुने बताइन् । रेखा थापा अभिनित फिल्म ‘दुर्गा’ आफ्नो लागि प्रेरक भएको समेत पूजाले सुनाइन् । न्यायधिश बन्ने लक्ष्य राखेकी पूजा हाल कक्षा ११ मा अध्ययनरत छन् ।

rekha meets 2

निर्माता रामहरी धिताल, निर्देशक सबिर श्रेष्ठ र रेखा थापा फाउन्डेशनको तर्फबाट रेखा थापाले संयुक्त रुपमा रु.१५ हजारको चेक रक्षा नेपाललाई हस्तान्तरण समेत गरे । उनीहरुले आउँदो आइतबार रक्षा नेपालका बालबालिकालाई फिल्म ‘तथास्तु’ देखाउने वचन समेत दिएका छन् । ‘तथास्तु’ भोली शुक्रबार पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

rekha meets 2

प्रतिक्रिया दिनुहोस्