रिडीमा पुगेर रेखाले भनिन्– ‘कसैले हेप्छ, जिस्काउँछ भने प्रतिकार गर्ने हिम्मत राख्नुस्’



रंग खबर, गुल्मी । गुल्मीको रिडी बजारमा आयोजित माघे संघ्रान्ती मेलाको गत सोमबार समापन हुँदै थियो । सो समापन समारोहमा नेपालकी चर्चित अभिनेत्री रेखा थापा आउने भनिएपछि त्यँहा आसपासका युवा, अधवैंशे र बालबालिका सबै उत्साहित देखिन्थे । कार्यक्रम शुरु भएदेखि नै सहभागी हजारौं दर्शकहरुले ‘रेखा थापा, रेखा थापा’ भन्दै चिच्याइरहेका थिए । विशेष गरी महिलाको क्रेज देखेर रेखा आफै पनि दंग देखिन्थिइन् ।

rekha_thapa1

नारीसँग सम्बन्धित विषयवस्तुमा फिल्म निर्माण गर्ने गरेकी रेखालाई रिडीको क्रेज देखेर थाहा भएछ कि आफ्नो अभियानप्रति महिलाहरु खुशी छन् । ‘पर्दाको माध्यमबाट नारी शसक्तिकरणका लागि मैले चलाएको अभियानमा रिडीका महिलाहरुको अत्याधिक समर्थन पाए’, मेलाबाट फर्किसकेपछि उनले रंगखबरसंग भनिन् । ‘काली’, ‘हिम्मतवाली’ र तयारी हुँदै गरेको ‘रामप्यारी’ नारी सशक्तिकरणको मुद्धालाई उठाइएका रेखाका पछिल्ला फिल्महरु हुन् ।

शिर्ष भूमिका रहेको फिल्म ‘तथास्तु’ प्रदर्शन हुँदै गर्दा रेखा सोमबार रिडी माघे संघ्रान्ती मेलाको समापन कार्यक्रममा  विशिष्ट अतिथि बनेर पुगेकी थिइन् । रुरु फ्रेन्डस् क्लबको आयोजना रहेको उक्त सनातन मेलामा रेखालाई हेर्न झन्डै पाँच हजार दर्शकले टिकट काटेको थिए । सहभागीमध्ये मेलामा महिला दर्शकको संख्या उल्लेख्य थियो । रेखाले पनि महिला दर्शकलाई मध्यनजर गर्दै रुरुको माघी मेलामा आफ्नो भनाई राखेकी थिइन् । हिम्मतवाली रेखाले महिला तथा युवतीलाई हिम्मत वढाएर अघि बढ्न सुझाइन् थिइन् भने जल्दोबल्दो आमाको नामबाट नागरिकता पाउने विषयमाथि पनि उनले केही समय खर्चिइन् । आमाको नामबाट नागरिकता पाउनु पर्ने विषय क कसलाई थाहा छ ? भनेर रेखाले प्रश्न गर्दा अधिकाशं महिला सहभागीले ‘थाहा छ’ भन्दै हात उठाएका थिए ।

त्यस्तै ‘कुनै केटाले जिस्काएको छ, कसैले हेप्छ ?’ भन्ने प्रश्न गर्दै रेखाले जवाफमा युवतीलाई लक्षित गर्दै भनेकी थिइन् ‘कसैले हेप्छ, जिस्काउँछ भने चुप लागेर नबस्नुस्, प्रतिकार गर्ने हिम्मत राख्नुस् ।’ रेखाले हरेक नारीको सम्मान गर्न पुरुष सहभागीलाई आग्रह गर्दा जवाफमा उनीहरुले ‘तथास्तु’ भनेका थिए ।

rekha_thapa3

पहिलो पटक रुरुको माघीमा मेलामा सहभागी भएकी रेखाले फिल्मी, लोक र राष्ट्रिय गानाका केही टुक्का पनि गुन्गुनाएकी थिइन् भने ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गालामा’ अतिथि एवं दर्शकसँगै कम्मर पनि मर्काएकी थिइन् । आउने फूलपातीमा प्रदर्शन गर्ने गरी छायाँकन थालिने रेखा फिल्मस्को फिल्म ‘रामप्यारी’ को विषवस्तु बारे पनि रेखाले रिडीका दर्शकसँग भलाकुसारी गरिन् । आयोजकले रेखालाई शालिग्राम उपहार र सम्मान पत्र समेत दिएको थियो ।

rekha mela 2

त्यस्तै मेला समापन गर्न पुगेकी रेखा  गुल्मीको रिडी बजारमा महिला फ्यानबाट समेत घेरिएकी थिइन् । पर्दामा देखिएकी हिरोइनसँग फोटो खिच्न महिलासँगै युवा, अधवैंशे र बालबालिका तँछाडमँछाड गर्दै झ्याम्मिएका थिए । तर, रेखासँग फोटो खिच्ने सबैको चाहना पुरा हुन सकेन । रेखा थापा हाम्रो मान्छे हो र फोटो खिच्न पाउनु पर्ने भन्दै महिलाहरुले ढिपी गरेपछि प्रहरीको पनि केही लागेन । प्रहरीको सुरक्षामा कार्यक्रम स्थल पुगेकी रेखा प्रहरीको सुरक्षामै त्यहाँबाट फर्किएकी थिइन् ।

rekha mela

पर्यटन मन्त्री राधा ज्ञावलीद्धारा उद्घाटन गरिएको रिडी माघे संघ्रान्ती मेलामा झन्डै पाँच लाख दर्शकको सहभागीता रहेको फ्रेन्ड्सक क्लबका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरे र अभिनेत्री रेखा थापाले मेलाको संयुक्त रुपमा समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्