अनिल यादव, काठमाण्डौं, फागुन २५– ‘अहिले त मेरो आमाबुबा हुनुहुन्न । तर म पनि मिडल क्लासकै मान्छे थिए । मेरो आमाबुबाले दिएको शिक्षा र त्यसपछि मैले गरेको संघर्ष र मिहेनतका कारण नै म आज यहाँ सम्म आइपुगेको छु’, राजधानीको हायात होटलमा आयोजित एक कार्यक्रममा बलिउड बादशाह शाहरुख खान हिन्दीमा भन्दै थिए– ‘त्यसैले तपाईहरु पनि आफ्नो सन्तानलाई पढाउन र सिकाउन कहिल्यै पछाडी नपर्नुस् । ’ ठेकेदारहरुसंग साक्षात्कर कार्यक्रममा उनले यसो भनिरहँदा सुन्ने सबै गम्भिर देखिन्थे ।
शाहरुखले सो कार्यक्रममा आफ्ना चर्चित फिल्महरु डन, देवदास, चेन्नई एक्सप्रेस, जबतक है जान, ह्याप्पी न्यू इयरको डायलगहरु सुनाएर सहभागीलाई मनोरंजन दिलाएका थिए । ब्राण्ड एम्बेसडरसमेत रहेको शाहरुखलाई न्यारोलेक पेन्ट्सले नेपाल ल्याएको हो । दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा आफ्नै चार्टड प्लेनबाट अवतरण गरेको शाहरुखले पत्रकार, न्यारोलेक पेन्ट्सका ठेकेदार र इन्जिनियरसंग हायात होटलमै बेग्लाबेग्लै रुपमा साक्षात्कार गरेका थिए ।
तर सांगीतिक माहोलबिचको विशेष कार्यक्रम भने दरबारमार्गको याक एण्ड यती होटलमा भएको थियो । जहाँ पेन्ट्सका डिलर र विजेताहरुको उपस्थिती थियो । सो कार्यक्रममा शाहरुखका अघि नेपाली नायिका प्रियंका कार्कीले शाहरुखकै पाँच ब्लकबस्टर फिल्मको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
यता लगभग डेढ घण्टाको लामो पर्खाइपछि शुरु भएको पत्रकार साक्षात्करमा भने शाहरुख छोटो समयमात्र स्टेजमा देखिए । यद्यपी शाहरुखसंगै आएका चर्चित होस्ट ए.के रहमानले कार्यक्रमलाई बोर भने हुन दिएका थिएनन् । नेपाली मोडल तथा नायिका अकेशा विष्टले पनि कार्यक्रम संचालनमा सघाएकी थिइन् ।
पत्रकारका सामु छोटो समय देखिएका शाहरुखले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू-क्यान’ उद्घाटन गरेका थिए । पेजको उद्घाटन गर्दै खानले नेरोल्याकका पेन्ट क्यानहरुलाई सुन्दर गमलाका रूपमा परिवर्तन गर्न उत्कृष्ट पाँच गमलालाई पुरस्कृत गरिने पनि बताए।
त्यसपछि शाहरुखलाई पत्रकारहरुले दुईवटा प्रश्नमात्र सोध्न पाएका थिए । । छोटो तालिका रहेको भन्दै उनले पत्रकारहरुसंग स्टेज मुनि ओर्लिएर तस्विर खिचाएका थिए ।
पत्रकारहरुको तर्फबाट सोधिएको दुई प्रश्नमध्ये एक यस्तो थियो– ‘तपाईले चाहेको तर अहिलेसम्म पुरा नभएको त्यस्तो केही छ ? ’ जसमा शाहरुखले आफुलाई सबैले ‘किङ खान’ भनिने त्यो हुनुको औचित्य दर्शाए । उनले भने– ‘किङ त्यो हुन्छ जसले सधै आफ्नो भन्दा अरुको लागि सेवा गर्छ त्यसैले म सधै अरुको सेवामा समर्पित हुन रुचाउँछु चाहे त्यो अभिनयकै माध्यमबाट किन नहोस् ।’
शाहरुखले आफ्नो हिजो आउने तालिका रहेपनि प्राविधिक कारणले आउन नसकेकोमा माफी समेत मागे । उनले नेपालमा आफ्नो अत्याधिक समर्थकहरु रहेकोमा निकै उत्साहित रहेको समेत सुनाए ।
१५–१६ वर्षअघि नेपाल आएको स्मरण गर्दै शाहरुखले पुन : नेपाल आउने प्रतिवद्धता समेत पत्रकारसामु गरे । उनले भने– ‘तेश्रोपटक सपरिवारसहित नेपाल आउने छु ।’
शाहरुखलाई हेर्न समर्थकको भिड
शाहरुख नेपाल आउने भनिएपछि उनका समर्थकहरुको दिउँसो २ बजेबाट एयरपोर्टमा भिड लागेको थियो । त्यो भिडलाई शाहरुखले पनि ‘इग्नोर’ भने गरेनन् । सधै आफ्नो फ्यानलाई आफ्नो भगवान ठान्ने शाहरुखले शुरुमा नेपाली शैलीमा नमस्ते गरेपछि ति समर्थकहरुलाई ‘फ्लाईङ किस’ दिएका थिए । हायात र याक एण्ड यती आसपास पनि शाहरुखका समर्थकहरुको सडक नै भरी भिड लागेको थियो जसलाई सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो ।
यस्तै शाहरुख खानले नेपाल र नेपालको सुन्दरतामाथि प्रशंसा गर्दै ट्वीट समेत गरेका छन् । उनले गरेको ट्वीट यस्तो छ :-