म अमेरिकामा कहिल्यै पनि खुशी भइनँ : सरोज खनाल



रंग खबर, काठमाण्डौं । अभिनेता सरोज खनालले अमेरिका बसाइ जिवनको एक ‘एक्सिडेन्ट’ भएको अभिव्यक्ति दिएका छन् । केही साता पहिला अमेरिका देखि एक महिना बस्ने गरी नेपाल फर्किएका अभिनेता खनालले शुक्रवार साप्ताहिकसँगको कुराकानीमा अमेरिका बसाई र अन्य अनुभव साटेका छन् ।

शुक्रबार साप्ताहिकका लागि डिबी खड्का र अम्मर जिसीसँगको कुराकानीमा अभिनेता सरोज खनालले भनेका छन्, ‘अमेरिका बस्ने चाहना कहिल्यै थिएन मेरो । अमेरिका एक किसिमको ‘एक्सिडेन्ट’ हो मेरो जीवनको । म घुम्न गएको मान्छे ग्रिन कार्ड पाइन्छ भनेर भनिदिए । पाइन्छ भने लिइराखौं भनेर लिइयो । आफ्ना लागि भन्दा पनि छोराछोरीको भविष्यका लागि उतै बस्ने सोच बनाइयो । त्यतिबेला छोराछोरीको भविष्यका लागि आफ्नो भविष्यलाई तिलाञ्जली दिएँ ।’ तर, अमेरिका बसाइको हरेक समय आफ्नो देशलाई सम्झिएको उनले बताएका छन् ।
Saroj KHanal‘म अमेरिकामा कहिल्यै पनि खुशी भइनँ । कहिले पनि विश्वको शक्तिशाली, विकसित देशमा छु भनेर खुशी हुन सकिँन । त्यहाँ त मलाई नेपाली सर्कल बाहेक कसैले पनि चिन्दैन । जुन सम्मान, माया यहाँ पाउँथे, त्यहाँ त्यसको कल्पनासम्म गर्न सकिन्नथ्यो । ’ शुक्रवारसंग उनले भने ।

अमेरिकामा आफुहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा लिएर हेपिने गरेको समेत उनले बताएका छन् । उनले भनेका छन्– ‘ए बाबा, मेरो देशमा म यस्तो थिएँ, भनेर हरेकले खिन्न महसुस गर्छ त्यहाँ । नेपालमा डाक्टर थिएँ, वकिल थिएँ, कलाकार थिएँ, सचिव थिएँ वा मन्त्र नै थिएँ भन्ने भए पनि त्यहाँका लागि शून्य हो । यसकारण मैले ‘यूएसए’ को आफ्नै परिभाषा बनाएको थिए्, ‘यू स्टार्ट अगेन ।’

अमेरिका बस्दा सबै भन्दा धेरै चित्त दुखेको क्षण बारे अभिनेता सरोज खनालले भनेका छन्, ‘फास्टफुड स्टोर भित्र काम गर्दै थिएँ । एक जनाले गाडी भित्रै खानेकुरा अर्डर गर्यो । त्यहीं खायो । मलाई केही कुरा माग्यो, जुन ‘सिस्टम’ ले बाहिर दिन मिल्दैन्थ्यो । ‘मैंले नदिएपछि उसले ‘यू बास्टर्ड पाकिस्तानी’ भन्यो । मलाई एकदम रिस उठ्यो । त्यो ड्राइभ थ्रुबाट हाम्फालेर त्यसकै गाडीमा गएर झम्टन पुगें म । त्यो कुरा मैंले गर्न हुन्थेन । ‘लिगल केस’ चलेको भए धेरै ‘इस्यू’ हुन्थ्यो ।’

अमेरिकाको एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्दा मालिकले सरोज खनाल नेपालको हिरो भएको थाहा पाएछन् । काम गर्दै गर्दा, ‘तलाईं यसरी काम गर्दा नेपालमा हिरोइनहरुसँग नाच्दै घुमेको जस्तो लाग्यो होला हगि ?’ भन्दा एउटा कुनामा गएर आफु धेरै नै रोएको अभिनेता खनालले खुलाएका छन् । अभिनेता खनाल काठमाण्डूमा बनिरहेको घरको काम सकिएपछि उक्त घर जिम्मा लिन नेपाल आएका हुन् । एक वर्ष भित्र नेपाल नै बस्न गरी फर्कन उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्